विद्युतीय सवारी साधन (इभी) आयात गर्दा करछली !

समाचार सारांश
Auto Generated by AI
  • एमएडब्लू ग्रुपले विद्युतीय सवारी साधन आयात गर्दा मोटर पावर घटाएर देखाई अर्बौँ रुपैयाँ राजस्व छली गरेको पाइएको छ।
  • महालेखा परीक्षकको प्रतिवेदनले गाडीको वास्तविक क्षमता लुकाएर करिब ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढी राजस्व छली भएको ठहर गरेको छ।
  • भन्सार र यातायात विभागले प्राविधिक जाँच नगरी गाडी पास गरेकाले उक्त रकम छानबिन गरी तत्काल असुल गर्न निर्देशन दिइएको छ।

विद्युतीय सवारी साधन (इभी) आयात गर्दा कागजातमा गाडीको वास्तविक क्षमता (मोटर पावर) लुकाएर अर्बौँ रुपैयाँ राजस्व छली गरेको फेला परेको छ । एमएडब्ल्यू ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले दीपल र नामी ब्रान्डका इभी गाडी आयात गर्दा किलोवाट घटाएर भन्सार छली गरेको पाइएको हो ।

महालेखा परीक्षकको प्रतिवेदन अनुसार उनले नेपाल ल्याउने गाडीलाई कम क्षमताको देखाएर रसुवा र तातोपानी भन्सार कार्यालयबाट २ अर्ब ५० करोड ८३ लाख १६ हजार रुपैयाँ राजस्व छली गरेका हुन् । नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष समेत रहेका अग्रवालको कम्पनी एमएडब्लुले दीपल र नामी ब्रान्डका गाडीमा यस्तो तथ्य फेला परेपछि यसबारे छानबिन गरी असुल गर्न महालेखाले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

विद्युतीय सवारीसाधन भन्सार महसुल ऐन अनुसार पैठारी भएका विद्युतीय सवारीसाधनको पिक मोटर पावर ५० देखि १०० किलोवाटसम्म भएमा भन्सार उपशीर्षक ८७०३.८०.५१ (अनएसेम्बल), ८७०३.८०.५९ (अन्य)बाट जाँचपास गरी २० प्रतिशत भन्सार महसुल, १५ प्रतिशत अन्तःशुल्क लाग्छ । मूल्य अभिवृद्धि कर तथा मोटर क्षमता १०० देखि २०० किलोवाट भएमा भन्सार उपशीर्षक ८७०३.८०.६९ बाट जाँचपास गरी ३० प्रतिशत भन्सार महसुल, २० प्रतिशत अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लगाउनुपर्ने व्यवस्था छ ।

आयातकर्ताले विद्युतीय सवारीसाधन नेपाल ल्याउँदा पेस गरेको बीजकमा पिक पावरको आधारमा भन्सार जाँचपास हुने गरेकोमा जडित मोटरको क्षमताको प्राविधिक जाँच नगरेको पाइएको हो । यसबारे यातायात व्यवस्था विभागबाट मोटर क्षमता जाँच नगरी ती सवारीसाधन सडकमा चल्न सक्ने सक्षमताको प्रमाणपत्र मात्र दिने गरेको देखिन्छ । पिक मोटर पावरको क्षमता घोषणा गरेपनि प्राविधिक परीक्षण नभएको साथै उत्पादक देशको मापदण्डबमोजिम विद्युतीय सवारीसाधनका उत्पादक वा अन्य आधिकारिक स्वतन्व जाँचकीबाट मोटर क्षमतालाई पुष्टि गर्ने परीक्षण रिपोर्ट संलग्न छैन । ती सवारीसाधनको उत्पादक कम्पनीको वेबपेजमा रहेका क्याटलग तथा अन्य देशमा गरेको निर्यातको विवरणको आधारमा पैठारी भएका विभिन्न मोडलका सवारीसाधनहरू १०० किलोवाटदेखि २०० किलोवाटसम्म क्षमताको समेत रहेको देखिन्छ । सो बमोजिम भन्सार उपशीर्षकबाट जाँचपास गर्नुपर्नेमा रसुवा र तातोपानी भन्सार कार्यालयबाट पैठारी भएका सवारीसाधनहरूको घोषणाबमोजिम क्षमता ९९.९ र १०० किलोवाट उल्लेख गरी भन्सार उपशीर्षक अनएसेम्बल र भन्सार उपशीर्षक अन्य अन्तर्गत जाँचपास भएको छ ।

आधिकारिक उत्पादकले प्रकाशन गरेको सवारीसाधनको प्राविधिक स्पेसिफिकेसन तथा मोटर क्षमता जाँच, डाइनामोमिटर टेष्ट तथा ती सवारीसाधन उत्पादक देशका निर्धारित मापदण्डसमेतको परीक्षणबाट मोटर क्षमताको प्राविधिक परीक्षणसमेत गरी रसुवा भन्सार कार्यालयबाट १ अर्ब २७ करोड २७ लाख ९१ हजार रुपैयाँ र तातोपानी भन्सार कार्यालयबाट १ अर्ब २३ करोड ५५ लाख २५ हजार रुपैयाँसहित २ अर्ब ५० करोड ८३ लाख १६ हजार छुट महसुल तथा करका सम्बन्धमा छानबिन गरी असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदन अनुसार तातोपानी तथा रसुवा भन्सार कार्यालयबाट आयातकर्ताले चीनबाट पैठारी गरेको जिकर एक्स मोडलको सवारीसाधन पिक मोटर पावर २०० किलोवाट उल्लेख गरी भन्सार उपशीर्षकबाट जाँचपास गरेको छ । उक्त सवारीसाधन उत्पादकको वेबपेजमा रहेका क्याटलग लगायतमा चीन वा अन्य देशहरूमा निकासी गरेका मालवस्तुको विवरण परीक्षण गर्दा उक्त मोडलको सवारीसाधनको ब्याट्री क्षमता ६६ किलोवाट, अधिकतम टर्क ५१२ एनएम, रियर ह्विल ड्राइभ र पिक मोटर क्षमताको हकमा २७२ पिएस-प्फर्डस्टर्क (अश्व शक्ति) अर्थात् २००.०६ किलोवाट हुने देखिन्छ ।

भन्सार उपशीर्षक ८७०३.८०.७९ (२०० देखि ३०० किलोवाट सम्म) मा ६० प्रतिशत भन्सार महसुल, ३५ प्रतिशत अन्तःशुल्क लगाउनुपर्नेमा न्यून दरबन्दी लगाई जाँचपास गर्दा छुट भएको तातोपानी भन्सार कार्यालयको १९ करोड ६७ लाख ३० हजार रुपैयाँ तथा विभिन्न पैठारीकर्ताले पैठारी गरेका डिल र ज्याक्व जे ६, एभटर ११ र एक्स पिङ्ग मोडलका सवारीसाधनको आधिकारिक कम्पनीको वेबपेजमा उपलब्ध क्याटलगको विवरणमा डिपल ई०७ पिक मोटर पावर २५२ किलोवाट र ज्याकब जे६ को पिक मोटर पावर २०५ किलोवाट र अन्यको २०० भन्दा बढी किलोवाट भएकोमा २०० भन्दा कम क्षमताको मोटर देखाइ भन्सार उपशीर्षक ८७०३.८०.६९ (पिक मोटर पावर १०० देखि २०० किलोवाट) बाट जाँचपास गर्दा छुट भएको तातोपानीको ९ करोड २१ लाख २५ हजार र रसुवा भन्सार कार्यालयको ८१ करोड २० लाख ८८ हजारसमेत ९० करोड ४२ लाख १३ हजारसहित कुल जम्मा १ अर्ब १० करोड ९ लाख ४३ हजार यकिन गरी असुल गर्न निर्देशन दिइएको छ ।

त्यस्तै, तातोपानी भन्सार कार्यालयबाट विभिन्न पैठारीकर्ताले चीनबाट नामी बक्स गाडी पैठारी गरेकोमा पिक मोटर पावर ५० किलोवाट उल्लेख गरी जाँचपास गरेको छ । उक्त गाडीको वास्तविक पिक मोटर पावर सम्बन्धमा यातायात व्यवस्था विभागले समेत परीक्षण गरेको छैन । ती गाडीको उत्पादक कम्पनीको नेपाली संस्करणडोफेङ्ग नेपालको वेबपेजमा उपलब्ध ब्रोसरमा उक्त सवारीसाधनको अन्य सबै विशेषता समान रहेको र पिक मोटर क्षमता ७० किलोवाट रहेको देखिन्छ। साथै पैठारीकर्ताले समेत अन्य विभिन्न कारोबारमा सोही मोडलको सवारीको पिक मोटर क्षमता ५० देखि १०० सम्म रहेको भनी उपशीर्षक ८७०३.८०.५९ बाट समेत जाँचपास गरेको देखिन्छ ।

उक्त सवारीसाधनलाई भन्सार उपशीर्षक ८७०३.८०.५९ (विद्युतीय मोटरको पिकअप पावर ५० किलोवाट भन्दा बढी तर १०० किलोवाट ननाघेको कार, जीप, भ्यान) बाट जाँचपास गरी भन्सार महशुल २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशतअनुसार हुने महसुल १७ करोड ४१ लाख २९ हजार रुपैयाँका सम्बन्धमा छानबिन गरी असुल गर्न भनिएको छ ।

तातोपानी भन्सार कार्यालयबाट विभिन्न पैठारीकर्ताले चीनबाट पैठारी गरेको एक्स३०एलईभी प्यासेन्जर भ्यान को पिक मोटर पावर ५० किलोवाट देखाई भन्सार उपशीर्षक ८७०३.८०.२९ बाट जाँचपास गरेको छ । उक्त सवारीसाधनको उत्पादक वा अन्य स्वतन्त्र जाँचकीबाट मोटर क्षमतालाई पुष्टि गर्ने टेष्ट रिपोर्ट संलग्न छैन । उत्पादक कम्पनीसमेतको वेबपेजमा रहेका क्याटलग लगायतमा चीन वा अन्य देशहरूमा निकासी गरेका मालवस्तुको विवरण परीक्षण गर्दा उक्त मोडलको सवारीसाधनको ब्याट्री क्षमता ४१.८६ तथा ३२.१४ किलोवाट र भ्यानको कुल पिक मोटर पावर ६० किलोवाट रहेको देखिन्छ । साथै नाडा अटो शोको अनलाइन ब्रोसर र वेबपेजमा समेत उक्त भ्यानको पिक मोटर पावर ६० किलोवाट रहेको उल्लेख भएको आधारमा भन्सार उपशीर्षक ८७०३.८०.५९ (विद्युतीय मोटरको पिकअप पावर ५० किलोवाट भन्दा बढी तर १०० किलोवाट ननाघेको कार, जीप, भ्यान) अन्तर्गत जाँचपास गरी भन्सार महसुल २० प्रतिशत र अन्तः शुल्क १५ प्रतिशत लगाई छुट भएको ९ करोड ८० लाख ५१ हजार छानबिन गरी असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

नेपालमा सबैभन्दा धेरै डिजेल आयात

१० महिनामा झण्डै १७ खर्बको आयात, साढे दुई खर्बको निर्यात

मन्त्री लम्साल भन्छन्- मूल्यवृद्धिले निर्माण क्षेत्रलाई ठूलो संकटमा पार्‍यो

बैंक कर्मचारीलाई अतिरिक्त समयमा काममा खटाउँदा थप पारिश्रमिक दिनुपर्ने

एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान

छुटाउनुभयो कि ?