
- यती एअरलाइन्सले आफ्नो स्थापनाको २८ वर्ष पूरा गरेको छ।
- पछिल्लो एक वर्षमा कम्पनीले करिब ९ लाख यात्रुलाई सेवा दिएको छ।
- सुरक्षा र प्रविधिलाई प्राथमिकता दिँदै थप भरपर्दो सेवा दिने प्रतिबद्धता छ।
काठमाडौं । नेपालको निजी हवाई सेवा प्रदायक कम्पनी यती एअरलाइन्सले आफ्नो व्यावसायिक उडानको २८ वर्ष पूरा गरेको छ। सन् १९९८ मा स्थापना भई उडान सुरु गरेको कम्पनीले पछिल्लो एक वर्षको अवधिमा मात्रै करिब ९ लाख यात्रुलाई सेवा प्रदान गरेको जनाएको छ।
विमानस्थल पूर्वाधारको सीमितता, उच्च सञ्चालन लागत, प्रतिकूल मौसम तथा सडक यातायातसँगको तीव्र प्रतिस्पर्धाजस्ता आन्तरिक उड्डयन क्षेत्रका विविध चुनौतीबीच पनि एकै वर्षमा ९ लाख यात्रुलाई सेवा दिन सक्नुलाई कम्पनीले आफ्नो बलियो व्यावसायिक उपस्थिति र यात्रुको निरन्तर विश्वासको उपजका रूपमा लिएको छ।
कम्पनीका अनुसार सफलतालाई केवल यात्रु संख्यामा मात्र नहेरी सेवाको विश्वसनीयता, सञ्चालन दक्षता, उडान अनुभव र दीर्घकालीन ग्राहक सम्बन्धसँग जोडेर हेरिएको छ। पछिल्लो समय यात्रुको बदलिँदो चाहना र आवश्यकतालाई ध्यानमा राख्दै टिकट बुकिङ प्रणाली, विमानस्थल सेवा, सूचना प्रवाह, समय व्यवस्थापन र डिजिटल ग्राहक सम्पर्क प्रणालीलाई थप प्रभावकारी बनाइएको यतीले उल्लेख गरेको छ।
यती एअरलाइन्सले उड्डयन सुरक्षालाई व्यवसायको पहिलो प्राथमिकतामा राख्दै आएको दाबी गरेको छ। यसका लागि नियमित प्राविधिक निगरानी, चालक दल तथा प्राविधिक जनशक्तिको निरन्तर क्षमता विकास र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुरक्षा व्यवस्थापन प्रणाली लागू गरिएको कम्पनीको भनाइ छ।
नेपालको भौगोलिक जटिलताका कारण हवाई सेवा आवागमनको मात्र नभई पर्यटन, स्वास्थ्य, शिक्षा र व्यापारको मुख्य आधार भएकाले प्रमुख सहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सञ्जालमार्फत जोडेर अर्थतन्त्रमा टेवा पुर्याइरहेको कम्पनीले जनाएको छ।
२८औँ वार्षिकोत्सवलाई विगतको समीक्षा र आगामी दिशा तय गर्ने अवसरका रूपमा लिँदै कम्पनीले आगामी दिनमा आधुनिक प्रविधिको प्रयोग, सेवाको गुणस्तर अभिवृद्धि तथा थप सुरक्षित, भरपर्दो र यात्रुमैत्री हवाई सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

