अधिकांश पूर्वअर्थमन्त्रीहरु पत्तासाफ, ढुकुटीमा मनमर्जी गरेकाे ठहर

प्रतिनिधिसभाको निर्वाचनमा अधिकांश पूर्वअर्थमन्त्रीहरु पत्तासाफ भएका छन् । ठुला नेताहरू समेत हारेकाे यसपटकको निर्वाचनमा राज्यको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीहरूले पनि लज्जास्पद हार बेहोर्नुपरेको हो ।

नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्वअर्थमन्त्रीहरु चुनावी मैदानका उत्रिएकोमा एकजना बाहेक सबैले हारे ।

पूर्वअर्थमन्त्रीहरुमध्ये नेपाली कम्युनिष्ट पार्टीका वर्षमान पुनमात्रै विजयी भए ।

एमालेका उपाध्यक्ष तथा पाँचपटक अर्थमन्त्री भएका नेता विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट फराकिलो मतान्तरले पराजित भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेलसँग हारेका हुन । खरेलले ५६ हजार ५ सय ५० मत ल्याउँदा पौडेलले १२ हजार ८ सय ६१ मत मात्र पाएको निर्वाचन आयोगले जनाएको छ । पौडेल २०७२ देखि हालसम्म ५ पटक अर्थमन्त्री बनिसकेका छन् ।

गत भदौ २२ र २३ गतेको अन्दालन हुनु भन्दा अघि पनि अर्थमन्त्री नै थिए । यसभन्दा अघि २०७९ को निर्वाचनमा पौडेलले रूपन्देहीको सोही निर्वाचन क्षेत्रबाट पटकपटक निर्वाचन जितेका थिए ।

पराजित भएपछि उनले विगतमा आफ्नातर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भिर समीक्षा गर्ने बताएका छन् । ‘जनअपेक्षा अनुसार आफैँलाई रुपान्तरण गर्न र नेकपा (एमाले)को नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरुप पुनर्गठन गर्न अग्रसरता लिने र अविचलित भएर जनता र राष्ट्रको सेवामा समर्पित भैरहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

पूर्वअर्थमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट हार बेहोरेका छन् । चुनावको केही समयअघि मात्रै आफ्नो पुरानो पार्टी नेकपा एकीकृत माओवादी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका उनी पुरानै पार्टीका उम्मेदवारसँग पराजित हुन पुगेका हुन् ।

१४ हजार ३ सय ४६ मत ल्याएका उनले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । उनका प्रतिस्पर्धा नेपाली कम्युनिष्ट पार्टीका गोपाल शर्माले २१ हजार ६ सय ९ मत ल्याई विजयी भए । दोस्रो स्थापनमा नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६ सय ६१ मत सहित दोस्रो स्थान हासिल गरेका थिए ।

उनी रुकुम जिल्लाबाट २०६४ साल यताका निर्वाचनमा निरन्तर विजयी हुँदै आएका थिए । २०७८ मा कांग्रेस पुर्व सभापति शेरबहादुर देउवा नेतृत्च सरकारमा शर्मा अर्थमन्त्री बनेका थिए । उनले बजेट निर्माण गर्ने क्रममा व्यवसायीका प्रतिनिधिलाई राखेको आरोप लगेपछि राजीनामा दिएका थिए । संसदीय छानविन समितिले उनलाई निर्दोष ठहर गरेपछि उनी पुन अर्थमन्त्री भएका थिए । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहालसँगको असन्तुष्टिपछि शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए ।

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी– ४ बाट पराजित हुन लागेका छन् । उनलाई कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका दिपककुमार शाहले हराउँदै छन् । निर्वाचन आयोगका अनुसार कार्कीले १३ हजार ३ सय ७८ मत पाउँदा शाहले ३५ हजार ३ सय ९८ मत पाइसकेका छन् । कार्की २०७४ जेठमा शेरबहादुर देउवा प्रधानमन्त्री भएको सरकारका अर्थमन्त्री थिए ।

त्यस्तै, कांग्रेसकै वरिष्ठ नेता डा. प्रकाशशरण महत नुवाकोट निर्वाचन क्षेत्र एकबाट प्रतिस्पर्धामा छन् । सो निर्वाचन क्षेत्रको अन्तिम नतिजा आएको छैन र उनी राष्ट्रिय स्वतन्त्र पार्टीका विक्रम तिमिल्सिनाभन्दा पछि परेका छन् । महतले हालसम्ममा १५ हजार एक सय ११ मत पाएका छन् भने रास्वपाका तिमिल्सिनाले १८ हजार एक सय ४४ मत सहित अग्रस्थानमा छन् । महत तिमिल्सिना भन्दा ३ हजार भन्दा धेरै मतले पछाडि छन् ।

यसपटक निर्वाचनमा भाग लिएका पूर्व अर्थमन्त्रीहरुमध्ये वर्षमान पुन मात्रै विजयी भएका छन् । उनी रोल्पाबाट २७ हजार ४ सय ६० मत प्रप्त गर्दै विजय भएका हुन् । उनले नेपाली कांग्रेसका सुदनकुमार वलीलाई ठुलो मतान्तरले हराएका हुन । वलीले १२ हजार ८ मत प्राप्त गरेका छन् । पुन हालसम्म २ पटक अर्थमन्त्री भैसकेका छन् ।

पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणा पनि निर्वाचनमा पराजित भएका छन् । ललितपुर क्षेत्र नम्बर १ बाट चुनाव उठेका उनी रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनसँग पराजित भएका हुन् । महर्जनले २३ हजार ३ सय ७३ मत ल्याउँदा जबराले १३ हजार ५ सय २० मत मात्रै प्राप्त गर्न सफल भएका थिए ।

जबरा शेरबहादुर देउवा प्रधानमन्त्री तथा ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री भएका बखत २०७४ सालमा अर्थराज्यमन्त्री भएका थिए । पूर्वअर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई, महेश आचार्य, डा. रामशरण महत, डा. प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा र कृष्णबहादुर महरा चुनाव उठेका थिएनन् ।

-सपना ढकाल/लगानीपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?