ग्लोबल आईएमईको दीर्घकालीन यात्रा

काठमाडौं । ग्लोबल आईएमई बैंक यस्तो बैंक हो, जसले अर्थतन्त्रमा देखिएको सुस्तताका बाबजुद पनि निरन्तर लाभांश वितरण गरिरहेको छ ।

पछिल्ला केही वर्षयता अधिकांश बैंकको लाभांश क्षमता कमजोर भएको छ । कतिपयको लाभांश वितरण गर्ने क्षमता पनि छैन । तर, ग्लोबल आइएमईले निरन्तर लाभांश वितरण गर्दै आएको क्रमलाई निरन्तरता दिँदै यसपाली पनि १० प्रतिशत लाभांश दिन लागेको छ ।

२० औं वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीको खातामा प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश पठाइनेछ ।

नेपालको वित्तीय क्षेत्रमा अग्रणी संस्था ग्लोबल आइएमई बैंकले आफ्नो व्यावसायिक यात्रा सुरू गरेको दुई दशक भइसकेको छ । विगत दुई दशकको अवधिमा बैंकले आफूलाई केवल नाफामुखी संस्थाको रूपमा मात्र नभई नेपाली अर्थतन्त्रको बलियो खम्बा र वित्तीय रूपान्तरणको संवाहकका रूपमा स्थापित गरेको छ ।

तीव्र बजार विस्तार, रणनीतिक मर्जर तथा प्राप्ति, ठूलो शाखा सञ्जाल, डिजिटल प्रविधिमा समयसापेक्ष लगानी र उत्तरदायी बैंकिङ अभ्यासका कारण बैंकले छोटो अवधिमै वित्तीय आकार र जनविश्वास दुवै दृष्टिले ठूलो सफलता प्राप्त गरेको छ ।

नाफा र वित्तीय आकारमा नयाँ उचाइ

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार बैंकको समग्र वित्तीय सूचकहरू बैंकले बैंकिङ उद्योगमा शीर्षमध्ये एक बनेको छ । बैंकले ६ अर्ब ३ करोड ६० लाख खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतको वृद्धि हो । चुनौतीपूर्ण आर्थिक परिस्थिति र कर्जा असुलीमा देखिएका सामान्य अवरोधका बाबजुद बैंकले नाफामा दोहोरो अंकको वृद्धि कायम राख्नुले यसको कुशल व्यवस्थापन र जोखिम नियन्त्रण क्षमतालाई देखाएको छ ।

बैंक पुँजीगत आधार, निक्षेप संकलन तथा कर्जा परिचालनमा पनि बलियो अवस्थामा रहेको देखिन्छ । आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप २१.८० प्रतिशतले वृद्धि भई ७ खर्ब ४४ करोडसहित बैंकिङ क्षेत्रकै अग्रस्थानमा छ । त्यस्तै, कर्जा लगानी ८.२२ प्रतिशतले विस्तार भई ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख पुगेको छ । जसले बैंकलाई नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बलियो पुँजीगत आधार भएको संस्थाका रूपमा स्थापित गरेको छ । अन्य बैंकहरू प्राथमिक पुँजीकोषको दबाबका कारण पुँजी बढाउन अन्य विकल्पहरूको खोजीमा लाग्दा ग्लोबल आइएमई बैंकलाई भने पुँजीकोषको कुनै दबाब देखिँदैन ।

बैंकले आधुनिक बैंकिङ सेवालाई देशका कुनाकाप्चासम्म पुर्‍याउने उद्देश्यसहित आफ्नो भौतिक तथा डिजिटल सञ्जाललाई देशभर विस्तार गरेको छ । हाल देशभर बैंकका ३४१ शाखा कार्यालय, ३६६ एटीएम बुथ, १४१ शाखारहित बैंकिङ केन्द्र, ६९ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन् । यसका अतिरिक्त प्रवासमा रहेका नेपालीहरूलाई औपचारिक माध्यमबाट विप्रेषण पठाउन तथा सहजीकरण गर्न विदेशमा ३ वटा प्रतिनिधि कार्यालयसमेत सञ्चालनमा रहेका छन् ।

देशभरका विभिन्न सेवा माध्यममार्फत १ हजारभन्दा बढी सेवा केन्द्रबाट बैंकले दैनिक लाखौँ ग्राहकलाई सहज, सरल र भरपर्दो सेवा प्रदान गर्दै आएको छ । दुर्गम भेगका नागरिकलाई शाखारहित बैंकिङमार्फत वित्तीय प्रणालीमा जोड्नेदेखि सरकारी राजस्व संकलनमा सघाउ पुर्‍याउनेसम्मका कार्यमा बैंकको भूमिका उल्लेखनीय रहँदै आएको छ ।

हरित वित्त र दिगो बैंकिङ, भावी यात्राको मूल मार्गचित्र

परम्परागत बैंकिङ कारोबारमा मात्र सीमित नरही ग्लोबल आइएमई बैंकले पछिल्ला वर्षहरूमा दिगो बैंकिङ र हरित वित्तपोषण (ग्रिन फाइनान्सिङ)लाई आफ्नो दीर्घकालीन व्यावसायिक रणनीतिको केन्द्रबिन्दु बनाएको छ । जलवायु परिवर्तनले विश्वभर निम्त्याएको संकट र त्यसले अर्थतन्त्रमा पारेको जोखिमलाई दृष्टिगत गर्दै बैंकले आफ्नो समग्र कर्जा प्रवाहलाई वातावरणमैत्री बनाउने नीति अंगीकार गरेको हो ।

यस नीतिलाई नीतिगत र संस्थागत रूपमै व्यवस्थित गर्न बैंकले उच्चस्तरीय ‘दिगो बैंकिङ समिति’ गठन गरी कार्यान्वयनमा ल्याइसकेको छ । बैंकले संस्थागत तहबाटै वातावरणीय, सामाजिक तथा सुशासन सम्बन्धी मापदण्डलाई व्यवसायसँग आबद्ध गर्ने औपचारिक प्रतिबद्धतासहित बैंकले ‘सस्टेनेबिलिटी स्टेटमेन्ट’ समेत जारी गरेको छ । बैंकले हरित वित्तलाई परोपकारी कामको रूपमा मात्र नहेरी दीर्घकालीन व्यावसायिक अवसर र कर्जा जोखिम व्यवस्थापनको उपायका रूपमा ग्रहण गरेको छ ।

लक्षित वर्ग अनुसार नवीन वित्तीय प्रोडक्ट

बैंकले हरित अर्थतन्त्र निर्माणका लागि लक्षित वर्ग अनुसार विभिन्न नवीन वित्तीय प्रोडक्टहरू बजारमा ल्याएको छ ।

सहरीकरणको तीव्र वृद्धिसँगै आवास क्षेत्रमा ऊर्जा, पानी र वातावरणीय चाप बढ्दै गएको अवस्थालाई सम्बोधन गर्न बैंकले ‘ग्लोबल ग्रिन होम लोन’ सञ्चालनमा ल्याएको छ । यो कर्जा घर खरिद वा निर्माणका लागि मात्रै नभएर घरलाई वातावरणीय दृष्टिले आत्मनिर्भर र पर्यावरणमैत्री बनाउने अवधारणामा आधारित छ । यस कर्जाअन्तर्गत प्राकृतिक प्रकाश र हावाको उचित सञ्चार हुने वास्तुकला, स्थानीय तथा वातावरणमैत्री निर्माण सामग्रीको प्रयोग, आकाशे पानी संकलन तथा जमिन रिचार्ज प्रणाली (रेनवाटर हार्भेस्टिङ), घरमै निस्कने फोहोर पानीको प्रशोधन तथा पुनःप्रयोग संरचना, र घरको छतमा सौर्य ऊर्जा प्रणाली (रूफटप सोलार) जडान गर्ने आवास परियोजनाहरूलाई प्राथमिकतामा राख्दै वित्तीय सुविधा दिने बैंकले जनाएको छ ।

बैंकले यस कर्जामा लामो भुक्तानी अवधि, प्रतिस्पर्धी ब्याजदर र कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गर्दै घरधनीहरूलाई हरित जीवनशैली अपनाउन उत्प्रेरित गरेको छ । यस्तो घर निर्माण गर्दा सुरुवाती लागत केही बढी देखिए पनि दीर्घकालमा बिजुली र पानीको महसुलमा भारी बचत हुने र घरको वातावरणीय मूल्य वृद्धि हुने भएकाले उपभोक्ताका लागि यो दोहोरो फाइदाजनक साबित हुने दाबी बैंकको छ । यसले सहरी क्षेत्रको वातावरणीय सन्तुलन कायम राख्न र कार्बन-तटस्थ समाज निर्माण गर्न दूरगामी योगदान पुर्‍याएको बैंकले जनाएको छ ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रलाई जलवायु परिवर्तनका असरबाट जोगाउन र उत्पादन बढाउन बैंकले ‘क्लाइमेट-स्मार्ट एग्रिकल्चर लोन’ प्रवाह गरिरहेको छ । यसअन्तर्गत थोपा सिँचाइ, सौर्य सिँचाइ तथा जैविक कृषि प्रणालीमा आधारित परियोजनाहरूलाई वित्तीय स्रोत सुनिश्चित गरिएको छ । त्यसैगरी, साना तथा मझौला उद्योगहरूलाई प्रदूषणमुक्त प्रविधि अवलम्बन गर्न र स्रोतसाधनको उच्चतम सदुपयोग गर्ने हरित व्यवसायमा रूपान्तरण गर्न ‘ग्रिन एसएमई लोन’ जस्ता योजनाहरू ल्याएको छ ।

नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय गतिशीलता (ई-मोबिलिटी) लाई प्रोत्साहन गर्दै ग्लोबल आइएमई बैंकले अघि सारेको ‘ग्रिन ड्राइभ’ कर्जा योजना अत्यन्त प्रभावकारी भएको बैंकको दाबी छ । पेट्रोलियम इन्धनबाट चल्ने सवारीसाधनका कारण सहरी क्षेत्रमा वायु प्रदूषण बढ्नुका साथै आयातित इन्धनमा अर्बौँ रुपैयाँ बाहिरिइरहेको सन्दर्भमा यो कर्जा योजनाले विद्युतीय सवारी खरिदलाई सर्वसुलभ बनाएको छ । यस योजनाअन्तर्गत व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ब्याट्रीबाट सञ्चालन हुने चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे विद्युतीय सवारीसाधन खरिद गर्न सहज कर्जा उपलब्ध गराइन्छ । नेपाल राष्ट्र बैंकको नीतिअनुसार इन्धनबाट चल्ने सवारीमा ५० प्रतिशतसम्म मात्र कर्जा पाउने व्यवस्था रहेकामा विद्युतीय सवारीका हकमा ८० प्रतिशतसम्मको उच्च कर्जा-धितो अनुपात (एलटीभी रेसियो) प्रदान हुन्छ ।

‘ग्रिन ड्राइभ’ योजनामा बैंकले परम्परागत अटो लोनको तुलनामा आकर्षक र सहुलियतपूर्ण ब्याजदर प्रिमियम, सेवा शुल्कमा विशेष छुट, द्रुत कर्जा प्रक्रिया र बढी भुक्तानी अवधिको सुविधा दिएको छ । सार्वजनिक तथा व्यावसायिक यातायातलाई विद्युतीकरण गर्न र आवश्यक चार्जिङ पूर्वाधार विस्तारमा समेत यस कर्जाले वित्तीय ढाडस प्रदान गरी मुलुकको समग्र कार्बन उत्सर्जन घटाउन प्रत्यक्ष भूमिका निर्वाह गरेको दाबी बैंकको छ ।

नेपालको अर्थतन्त्रको आधारस्तम्भ मानिने साना तथा मझौला उद्यमहरूलाई वातावरणीय दृष्टिले दिगो र ऊर्जा-दक्ष बनाउने उद्देश्यले बैंकले ‘ग्लोबल ग्रिन एसएमई लोन’ कार्यान्वयनमा ल्याएको छ । परम्परागत उद्योगधन्दाहरूले स्रोतसाधनको अत्यधिक दोहन र प्रदूषण निम्त्याउने जोखिमलाई कम गर्न यस कर्जामार्फत उद्यमहरूलाई हरित प्रविधि अपनाउन प्रेरित गरिने बैंकले जनाएको छ । यसअन्तर्गत उद्योग तथा व्यवसायहरूलाई फोहोरमैला व्यवस्थापन, औद्योगिक फोहोर पानी प्रशोधन तथा पुनःप्रयोग (एफ्लुएन्ट ट्रिटमेन्ट), ऊर्जा बचत गर्ने आधुनिक यन्त्र-उपकरणको खरिद, तथा परम्परागत ऊर्जाको सट्टा जैविक, सौर्य वा जलविद्युत् प्रणाली जडान गर्न आवश्यक चालु पुँजी तथा आवधिक कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।

यस कर्जाको प्रमुख विशेषता उद्यमीहरूका लागि सहज धितो व्यवस्थापन, तुलनात्मक रूपमा कम ब्याजदर, प्राविधिक मूल्यांकनमा बैंकको सहजीकरण र न्यूनतम प्रशासनिक शुल्क रहेको छ । अर्गानिक कृषि फार्म, दिगो पर्यटन तथा पर्या-पर्यटन पूर्वाधार, रिसाइक्लिङ उद्योग र प्लास्टिकको विकल्प उत्पादन गर्ने नवीन उद्यमहरूलाई यस कर्जाले प्राथमिकतामा राखेको जनाएको छ । यस वित्तीय सुविधाले साना उद्योगहरूको सञ्चालन लागत घटाउन, वातावरणीय मापदण्डहरूको सहज परिपालना गर्न र विश्व बजारमा ‘इको-फ्रेन्डली’ ब्रान्डका रूपमा स्थापित हुन सहयोग पुर्‍याएको छ । यसले गर्दा आर्थिक रूपमा नाफामूलक र वातावरणीय रूपमा सन्तुलित उद्यमशीलताको नयाँ आधार तयार भएको छ ।

विश्वव्यापी मापदण्ड, कार्बन मापन र उत्तरदायित्व

ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बैंकिङ साखलाई उच्च बनाउने विभिन्न सहकार्य समेत गरेको छ । बैंक ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’ मा औपचारिक रूपमा आबद्ध भएको छ । यस साझेदारीमार्फत बैंकले आफ्ना वित्तीय लगानी र परियोजनाहरूबाट उत्सर्जन हुने कार्बन फुटप्रिन्ट वैज्ञानिक विधिबाट मापन तथा व्यवस्थापन गर्ने काम थालेको छ । आफ्ना वित्तीय लगानीले वातावरणमा पारेको प्रभावबारे पारदर्शिता कायम गर्न बैंकले नियमित रूपमा ‘कार्बन डिस्क्लोजर रिपोर्ट’ समेत सार्वजनिक गर्ने नयाँ अभ्यास सुरु गरेको छ ।

बैंकले वित्तीय पहुँचबाट बाहिर रहेका विपन्न तथा सीमान्तकृत वर्गलाई औपचारिक वित्तीय प्रणालीमा समाहित गर्ने वित्तीय समावेशीकरणको अभियानलाई दिगो विकास लक्ष्यसँग जोडेर अघि बढाएको छ । यसले सामाजिक असमानता न्यूनीकरण गर्न र गरिबी निवारणमा ठोस योगदान पुर्‍याइरहेको दाबी बैंकको छ ।

‘ग्रिन बन्ड’ र ‘सस्टेनेबिलिटी बन्ड’ मार्फत स्रोत परिचालन गर्ने

आगामी दिनमा बैंकले अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरबाट पुँजी जुटाउन नवीन वित्तीय उपकरणहरू प्रयोगमा ल्याउने योजना बनाएको छ । दिगो र वातावरणमैत्री ठूला पूर्वाधार परियोजनाहरूमा वित्तीय स्रोतको अभाव हुन नदिन बैंकले ‘ब्लेन्डेड फाइनान्स’ (मिश्रित वित्त) को अवधारणालाई प्राथमिकता दिने बताएको छ ।

यसका साथै निकट भविष्यमै बैंकले ‘ग्रिन बन्ड’, ‘सस्टेनेबिलिटी बन्ड’ तथा अन्तर्राष्ट्रिय ‘क्लाइमेट फन्ड’ (जलवायु कोष) हरूबाट स्रोत परिचालन गरी नेपालमा नवीकरणीय ऊर्जा, विद्युतीय यातायात, दिगो वन व्यवस्थापन र फोहोरमैला व्यवस्थापनका क्षेत्रमा लगानी बढाउने योजना बनाएको जनाएको छ ।

स्थापनाको दुई दशकमा ग्लोबल आइएमई बैंक एकातिर आफ्ना लगानीकर्तालाई आकर्षक प्रतिफल दिन सफल देखिएको छ भने अर्कोतिर नाफा, सञ्जाल विस्तार, प्रविधिमैत्री सेवा र वातावरणीय जिम्मेवारीलाई सन्तुलित रूपमा अगाडि बढाउँदै नेपाली वित्तीय बजारमा दिगो बैंकिङको स्पष्ट दिशानिर्देश गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने योजना अन्तिम चरणमा

२० वटा वाणिज्य बैंकहरूले १७ अर्ब रुपैयाँ नाफा कमाए

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने

६ महिनामा ऊर्जा, जलस्रोत क्षेत्रमा सरकारले केके काम गर्याे ?

सिद्धार्थ बैंकको २५औं वार्षिक साधारण सभा : २० प्रतिशत लाभांश पारित

छुटाउनुभयो कि ?