दशकमै ६ अर्ब डलर भित्र्याउने आईक्यानको यस्ताे छ याेजना !

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था आईक्यानले एकाउन्टेन्सी सेवा निर्यातको पहल सुरु गरेको छ । संस्थाले औपचारिक रुपमा परियोजना नै बनाई लेखा तथा वित्तीय सेवा निर्यातको पहल सुरु गरेको हो ।

नेपाली लेखापरीक्षण सेवालाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी विदेशी मुद्रा भित्र्याउने योजना संस्थाको छ । संस्थाले यस्तो सेवा निर्यात मार्फत रोजगारी र आयआर्जन बढाउने लक्ष्य राखेको आईक्यानका अध्यक्ष सीए निल सारूले बताए ।

‘ग्लोबल एकाउन्टिङ इनिसियटिभ इन नेपाल’ परियोजना मार्फत सेवा दिन चाहनेले आफूलाई दर्ता गरेर कामको प्रक्रिया अघि बढाउन सक्छन् । त्यसका लागि आवश्यक प्लेटपर्म पनि आईक्यानले निर्माण गरेको छ ।

पछिल्लो समयमा बढेको सूचना प्रविधि क्षेत्रको सेवा जस्तै लेखा र वित्त क्षेत्रबाट पनि सेवा निर्यात गर्न खोजिएको सारूले बताए । अहिलेको अवस्थामा पनि लेखा सेवा निर्यात भए पनि त्यसलाई औपचारिक र आकार विस्तार गर्नका लागि परियोजना मार्फत काम गर्न खोजेको उनले बताए ।

नेपाललाई लेखा तथा वित्तीय सेवा खरिदको विश्वसनीय गन्तव्यको रूपमा विकास गर्न खोजिएको उनको भनाइ छ । ‘पहिलो चरणमा देशको सकारात्मक माहोलको आवश्यकता औंल्याइएको छ, तथ्याङक सुरक्षा सम्बन्धी आवश्यक ऐन नियमहरुको व्यवस्था गरेर विश्वस्त बनाउनु पर्नेछ’ उनले भने ।

सो परियोजना मार्फत आगामी पाँच वर्षमा ५० हजारभन्दा बढी तथा आगामी दश वर्षमा एक लाख ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने संस्थाको दाबी छ । हाल औपचारिक नभए पनि आ–आफ्नो पहुँच र प्रयासबाट लेखा सेवा निर्यात हुँदा वार्षिक ३ करोड डलर बराबर विदेशी मुद्रा नेपाल भित्रिएको संस्थाको अनुमान छ ।

उक्त परियोजना कार्यान्वयन प्रभावकारी भएको खण्डमा आगामी १० वर्षमा यस्तो रकम ६ अर्ब डलर पुर्‍याउन सकिने सारूको दाबी छ । परियोजना सफल बनाउन आवश्यक कानुनी व्यवस्था, नियामक तथा संस्थागत संरचना विकास, सुरक्षित डिजिटल पूर्वाधार निर्माण, विश्वस्तरका मापदण्डमा जनशक्ति प्रशिक्षण र गुणस्तरीय सेवालाई प्राथमिकता दिइने उनले बताए । उनका अनुसार उक्त परियोजना मार्फत आउटसोर्सिङ हब, डिजिटल प्लेटफर्म र इनक्युबेसन सेन्टर स्थापना गरी नवप्रवर्तन र उद्यमशिलतालाई प्रोत्साहन गरिनेछ ।

विश्व बजारमा भारत, बंगलादेश, भियतनाम र फिलिपिन्सजस्ता मुलुकले देखाएको प्रभावकारी उपस्थिति हेर्दा नेपालले पनि प्रतिस्पर्धा गर्न सक्ने सारुको भनाइ छ । नेपालमै बसेर सहज रुपमा विश्वका विभिन्न देशका कम्पनीलाई लेखा, वित्त, परामर्शको सेवा दिने सहज वातावरण तयार गर्न खोजिएको भन्दै सारूले भने, ‘लेखा लगायतका सेवा निर्यात गरेर रेमिट्यान्सको विकल्प खोज्नुपर्छ । विदेसिएका दक्ष जनशक्तिलाई रोक्ने प्रयास पनि हो ।’

संस्थाले २०८१/२०८५ का लागि तयार गरेको पाँच वर्षे रणनीति कार्यान्वयनमा रहेको उनले बताए । परियोजनामार्फत बेलायत, अस्ट्रेलिया, अमेरिका, युरोपेली संघलगायत सम्भावित बजार लक्षित डिजिटल प्रचारप्रसार गर्ने, उच्च गुणस्तरका प्रचार सामग्री उत्पादन गर्ने र विदेशमा रहेका नेपाली समुदायसँग सहकार्य मार्फत अवसर विस्तार गर्ने संस्थाको योजना छ ।

साथै, विश्वस्तरमा प्रयोग हुने लेखा सफ्टवेयर र आउट सोर्सिङ सम्बन्धी विशेष प्रमाणपत्र कार्यक्रम सञ्चालन, राष्ट्रिय प्रतिभा दर्ता प्रणाली निर्माण तथा आउटसोर्सिङका पाठ्यक्रम विकासलाई अघि सारिएको उनले बताए ।

कर छुट, मूल्य अभिवृद्धि करसम्बन्धी स्पष्टता, वैदेशिक विनिमय प्रक्रिया सरलीकरण, डेटा संरक्षण कानुन सुदृढीकरण, नेपाली कम्पनीलाई विदेशमा शाखा सञ्चालनको सुविधा र वैदेशिक लगानी शीघ्र स्वीकृत गर्नेलगायत नीतिगत सुधारले परियोजना सफल हुने सारूको बुझाइ छ । साथै नेपाली लेखापरीक्षकले पनि आइटी कम्पनीले जस्तै विदेशमा शाखा खोलेर सेवा प्रदान गर्न सक्ने वाातावरणको विकास हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?