जेन–जी आन्दोलनले देखाएको बाटो

–वीरेन्द्रराज पाण्डे

जेन–जीहरूले जायज मागहरू राखेर प्रदर्शन गरेका हुन् । तर, प्रदर्शनको क्रममा भएको हिंसात्मक कार्यले दोस्रो दिन अवस्था भयावह बन्यो । सुशासन, भ्रष्टाचाररहित समाजजस्ता जेन–जीका माग निजी क्षेत्रले पनि उठाउँदै आएको विषय हो ।
तर, दोस्रो दिन प्रदर्शनकारीले हिंसात्मक कार्यको आक्रोशमा निजी क्षेत्रमाथि जुन आक्रमण, भवन तोडफोड, लुटपाट, आगजनी गरियो, त्यो सर्वथा उचित थिएन । निजी क्षेत्रमाथि भएको यो आक्रमणले थप लगानी कसरी गर्ने ?, लगानीको सुरक्षा कसरी खोज्ने भन्ने ठूलो प्रश्न खडा गरिदिएको छ ।

विगत दुई–तीन वर्षपछि बल्ल विस्तारै देशको अर्थतन्त्रले गति लिन थालेको आभास भइरहेका बेला एकाएक जेन–जी आन्दोलने कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा करिब चार÷पाँच प्रतिशतको हाराहारीमा असर आउने अनुमान गरिएको छ । सबैको आफ्नो सम्पत्ति माथिको अधिकार र व्यवसाय गर्न पाउने अधिकारमाथि हमला भएको छ । निजी क्षेत्रका सम्पत्ति पनि राष्ट्रका सम्पत्ति हुन् भन्ने परिवेशमा धक्का लागेको छ ।
हरेक आन्दोलन प्रदर्शनी गर्दा बारम्बार निजी क्षेत्रमाथि आक्रमण हुन्छ भने सुरक्षा चुनौती छ भन्ने अर्थ जान्छ । लगानीकर्ताको सुरक्षामा देखिएको चुनौती निरूपण गर्नुपर्ने आवश्यकता छ । जेन–जी आन्दोलनको क्रममा व्यक्तिगत तथा व्यावसायिक सम्पत्ति तोडफोड गर्ने र आपराधिक क्रियाकलाप गर्नेलाई सजाय हुनुपर्छ । आजको दिनमा निजी क्षेत्रले पनि आपराधिक र तोडफोड तथा आगजनी गर्नेहरूलाई कारबाही गरी कानुनी शासन (ल एन्ड अर्डर) र सुरक्षाको सुनिश्चितता (ग्यारेन्टी) सरकारले गरिदिनुपर्छ । सँगै भविष्यमा यस्ता घटना नदोहोरिनको लागि आवश्यक नीति नियम ल्याउनुपर्छ ।

विदेशी लगानीकर्तालाई संसारभर लगानी गर्न खुला छ । लगानीका लागि उनीहरू नेपालमा आउनुपर्छ भन्ने छैन । उनीहरू आउँदाखेरि लगानीको सुरक्षा र ग्यारेन्टी दिने नीति सरकारले नीति बनाउनुपर्छ । लगानी समुदायलाई आश्वस्त पार्ने हिसाबले ऐन, नियम, कानुनहरू ल्याउनुपर्छ । सरकारी तवरबाट ठूला परियोजनाहरू अघि सारेर लगानी बढाउने, अर्थतन्त्रलाई चलायमान गराउने खालका गतिविधि गर्नु आवश्यक छ ।

अहिले बैंकमा पैसा सञ्चिति (रिजर्भ) छ । ब्याजदरको स्थायित्व कायम गर्न राष्ट्र बैंकले ‘लिक्विडिटी पुल’ गरिरहेको छ । विप्रेषण आप्रवाहमा सुधार भएका कारण अहिले विदेशी मुद्राको सञ्चिति प्रशस्त छ । बृहत् अर्थतन्त्रको आधारमा हेर्ने हो भने अहिले अवस्था एकदमै अनुकूल अवस्था (फेभरेबल कन्डिसन)मा छ । ब्याजदर एकदमै कम भए पनि व्यावसाियक मनोबल नभएका कारण माग घटेर गएको छ । बजारमा ऋणको माग भइरहेको अवस्था छैन । सरकारले नयाँ परियोजनामा हात हाल्दा अवश्य पनि निजी क्षेत्रले आफ्नो क्रियाकलापलाई ढुक्कसँग अगाडि बढाउनेछन् र यसले कर्जाको माग बढाउनेछ । वर्तमान सरकारले सतहमा देखिएका तमाम समस्याहरूलाई मनन गरेर अगाडि बढ्न सके भोलिका दिनमा देशको सुनौलो भविष्य तयार गर्नका लागि मजबुत जग बन्न सक्छ ।

अहिले सरकार निर्वाचनको तयारीमा जुटेको छ । यो सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नुपर्छ । नयाँ बन्ने निर्वाचित सरकारले जनतामा रहेको असन्तुष्टि सम्बोधन गर्न र आर्थिक विकासमा देखिएका अवरोधलाई हटाउन कदम चाल्नुपर्छ । अहिले देखिएको असन्तुष्टिको मुख्य कारण आर्थिक समृद्धि नहुनु हो । अब सरकारले हरेक प्रणालीलाई ‘डिजिटलाइज’ गर्नुपर्छ । नियम, ऐन, कानुनहरू कहाँ–कहाँ परिवर्तन गर्नुपर्छ छिटो छरितो काम गर्नुपर्छ । नयाँ अवसरहरूको ढोका खोल्ने काम क्षेत्र निजी क्षेत्रले गर्ने भएकाले सरकारले लगानी सुरक्षा प्रवद्र्धनमा ध्यान पु¥याउन आवश्यक छ । अर्थतन्त्र चलायमान भयो, व्यवसाय बढ्यो भने रोजगारी पनि बढ्छ र व्यक्तिको ‘लिभिङ स्ट्यान्डर्ड’ पनि माथि उकासिन्छ ।

लगानी भएपछि प्रतिफलसहित फिर्ता (रिटर्न) आउने आश हरेक क्षेत्रलाई हुन्छ । अवसर देखिएको ठाउँमा मात्रै लगानीकर्ताले लगानी गर्न रुचाउँछन् । त्यसका लागि सरकारले सहयोग गर्ने किसिमको प्रणाली विकास गरिदिनुपर्छ । जेन–जीले छिटो परिवर्तन तथा अवसर खाजेका हुन् । त्यसका लागि जेन–जीले उठाएका माग छिटो सम्बोधन गर्ने वातावरण सरकारले बनाउनुपर्छ र मुलुक समृद्धिको बाटोमा अघि बढाउनुपर्छ ।
(पाण्डे नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?