
- असोज १ देखि ४ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पोमा घरजग्गा खरिदमा २५ प्रतिशतसम्म छुट र ५ हजार १ रुपैयाँमै बैना गर्न सकिने व्यवस्था गरिएको छ।
- मध्यमवर्गीय उपभोक्तालाई लक्षित गरी नुवाकोट र रसुवा मोड क्षेत्रमा १ करोड ४० लाख रुपैयाँसम्ममा दुईतले घर उपलब्ध गराउने अवधारणासहित विभिन्न सुलभ मूल्यका आवास योजनाहरू प्रस्तुत गरिँदै छन्।
- एक्स्पोमा घरजग्गाका साथै निर्माण सामग्री, प्रविधि, बैंकिङ सेवा र निःशुल्क परामर्शका साथै स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ।
घरको सपना देखिरहेका मध्यम वर्गीय उपभोक्ताका लागि काठमाडौंमा हुन लागेको सिजी प्रोपर्टी नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण एक्स्पोले सुलभ मूल्यदेखि भारी छूटसम्मका विकल्प अघि सारेको छ।
एक्स्पोमा ७७ लाख ५० हजार रुपैयाँमै घर, जग्गा खरिदमा २५ प्रतिशतसम्म छुट र पाँच हजार एक रुपैयाँमै टोकन बैना गर्न सकिने अफर सार्वजनिक गरिएको छ। काठमाडौं नजिकै तीन बेडरुमसहितको दुईतले घर करिब एक करोड ४० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने अवधारणासमेत एक्स्पोमा प्रस्तुत गरिँदै छ।
असोज १ देखि ४ गतेसम्म भृकुटीमण्डपमा हुने एक्स्पोमा सहभागी डेभलपरले घर तथा जग्गा खरिदलाई सहज बनाउन विभिन्न सुविधा अघि सारेका हुन्। नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीका संयोजक रोशन भोयद्योका अनुसार ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार छानी–छानी घर तथा जग्गा खरिद गर्न सक्नेछन्।
घर निर्माण गर्न चाहनेले निर्माणको जिम्मेवारीसमेत कम्पनीलाई दिन सक्ने व्यवस्था गरिएको छ। यसका अतिरिक्त घरजग्गा क्षेत्रमा साझेदारीमा लगानी गर्ने अवसरसमेत उपलब्ध गराउने उनको भनाइ छ।
जग्गा खरिदमा २५ प्रतिशतसम्म छूटसँगै पाँच हजार एक रुपैयाँमा टोकन बैना गर्दा पनि जग्गा चित्त नबुझेमा टोकन बैना फिर्ता हुने व्यवस्था पनि गरिएको छ।
एक्स्पोमा उपभोक्तालाई लक्षित गर्दै विभिन्न मूल्य र सुविधाका आवास तथा जग्गा खरिदका विकल्प सार्वजनिक गरिने जनाएको छ। ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी नेपालमा सुरक्षित, सुव्यवस्थित एवम् वैज्ञानिक बस्ती विकास गरी दिगो शहरीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ गर्न लागिएको हो।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजना एवं नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरसमेतको सहकार्यमा एक्स्पो आयोजना हुँदै छ। यसको व्यवस्थापन ‘सिया इभेन्ट एसोसिएट्स प्रालिले गरिरहेको छ।
नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरले एक्स्पोका अवसरमा सुलभ मूल्यको आवासीय घर निर्माणको अवधारणा सार्वजनिक गरिने बताए। उनका अनुसार काठमाडौंमा घर बनाउने सपना बोकेका मध्यम तथा श्रमजीवी वर्गलाई लक्षित गर्दै काठमाडौं नजिकका नुवाकोट र रसुवा मोड क्षेत्रमा एक करोड ४० लाख रुपैयाँसम्मको बजेटमा तीन बेडरुमसहितको दुईतले घर उपलब्ध गराउने अवधारणा अघि सारिएको बताए।
कुँवरका अनुसार धेरै घर निर्माण गरेर कम नाफामा बिक्री गर्ने अर्थात् ठूलो परिमाणमा उत्पादनमार्फत लागत घटाउने अवधारणामा यस्ता आवासीय घर विकास गर्ने योजना बनाइएको हो। ग्रान्डी डेभलपर्सलगायतका कम्पनीमार्फत यस्ता आवासीय घर एक्स्पोमा प्रस्तुत गरिने उनले जानकारी दिए।
प्रदर्शनीका सल्लाहकारसमेत रहेका वरिष्ठ कानुनी सल्लाहकार गोकुल प्रसाद बुर्लाकोटीका अनुसार अहिले घरजग्गा बजारमा उच्च मूल्यका कारण मध्यम वर्गका उपभोक्ताले आफ्नै घरको सपना पूरा गर्न कठिनाइ भोगिरहेका छन्। त्यसैले ठूलो परिमाणमा घर निर्माण गरी तुलनात्मक रूपमा सुलभ मूल्यमा बिक्री गर्ने अवधारणा अघि सारिएको छ।
‘एक्स्पोमा घर तथा जग्गा खरिद गर्न चाहने उपभोक्ताले बिक्रीकर्तासँग प्रत्यक्ष संवाद गरेर परियोजनाको स्थान, मूल्य, निर्माणको अवस्था, भुक्तानी प्रक्रिया र अन्य सर्तबारे जानकारी लिन सक्नेछन्,’ उनले भने।
घरजग्गा खरिद–बिक्री र निर्माणसम्बन्धी निःशुल्क परामर्शसमेत उपलब्ध हुने जनाइएको छ। बैंक तथा वित्तीय संस्थाको सहभागिताका कारण सम्भावित घर खरिदकर्ताले आवासीय कर्जा, लगानी र वित्तीय व्यवस्थापनसम्बन्धी जानकारीसमेत एउटै स्थानबाट लिन सक्नेछन्।
यसपटकको एक्स्पोमा घर र जग्गासँगै निर्माण सामग्री तथा प्रविधिका उत्पादन पनि प्रदर्शन गरिनेछन्। सिमेन्ट, स्टिल, पेन्ट, काठ, सिसा, सेनिटरी सामग्री, विद्युतीय उपकरण, फर्निचर, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापन प्रविधिसम्मका सामग्री तथा सेवा प्रदर्शनीमा रहनेछन्।
एक्स्पो अवधिमा स्वास्थ्यसम्बन्धी सामाजिक कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ। आयोजकका अनुसार ओम अस्पताल र ग्रान्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ।
यसपटकको प्रदर्शनीमा डिजिटल स्ट्यान्डी, इलेक्ट्रोनिक कियोस्क, डिजिटल डिस्प्ले र भर्चुअल रियालिटी प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ। कागजी सामग्रीको प्रयोग घटाउँदै एक्स्पोलाई ‘पेपरलेस एक्स्पो’ बनाउने लक्ष्यसमेत राखिएको छ।
नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजना एवं नेपाल चेम्बर अफ कमर्सको सहकार्यमा आयोजना हुन लागिरहेको मेलाको टाइटल स्पोन्सर ‘सिजी प्रोपर्टिज÷सिजी होल्डिंग्स’, पावर्ड बाइ स्पोन्सर ‘एशियन पेन्टस्’, इन्स्योरेन्स पार्टनर ‘प्रभु इन्स्योरेन्स’ र सहयोगी निकायहरूमा स्मार्ट पानी, केबी तथा यूएचएस होल्डिंगसे रहेका छन्।

