प्रभु बैंक लिमिटेडका रेमिट्यान्स शाखा प्रमुख शाक्य प्रहरी नियन्त्रणमा

प्रभु बैंक लिमिटेडका रेमिट्यान्स शाखा प्रमुख सुगेन उर्फ सुजिन शाक्यलाई प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत पाटनबाट पक्राउ पुर्जी अनुमति लिएपछि बैंकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसुरमा संलग्न रहेको आरोपमा उनलाई ललितपुर महानगरपालिका–११, ईखाँछेबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।

शाक्यले प्रभु म्यानेजमेन्टलाई नियम विपरीत सुपर एजेन्ट बनाइ रेमिट्यान्स कारोबार गर्न एडभान्स रकम उपलब्ध गराएको र सो कम्पनीसँग कारोबार स्थगित भएपछि पनि नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत उक्त रकम लामो समयसम्म प्रयोग गर्न दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

यस कार्यमार्फत प्रभु बैंकलाई करिब ८ करोड ९३ लाख १९ हजार बराबरको हानी भएको सीआईबीले जनाएको छ। सोही अपराधलाई लुकाउन छिपाउनको लागि कर्जा प्रवाह गरी कर्जा दुरुपयोग गरेको सीआईबीले बताएको छ।

यस घटनामा यसअघि सीआईबीले प्रभु बैंकका सीईओ अशोक शेरचनसहित चार जनालाई पक्राउ गरी अनुसन्धान गरी रहेको छ। साथै, रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंकलाई हानी पुर्‍याइ आफ्नो स्वार्थ समूह अन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा हुने गरी रेमिट बापतको प्रिफन्डिङ दिन सक्ने कानूनी व्यवस्थाको दुरुपयोग गरी प्रिफन्डिङ नाममा नियम विपरीत अर्बौं रकम दिएको सीआईबीले जनाएको हो।

यसमार्फत बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी हानी पुगेको सीआईबीको दाबी छ। ‘प्री–फन्डिङ’को कानुनी प्रावधानको दुरुप्रयोग गरी प्रभु मनि ट्रान्सफरलाई फाइदा हुने गरी नियम विपरीत रकम उपलब्ध गराइएको तथा सो बापत बैंकले लिनुपर्ने ब्याज समेत नलिइएको आरोप लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?