सरकारको ऋण २७ खर्ब २९ अर्ब पुग्यो

सरकारले चालु वर्षकाे चार महिनामा एक खर्ब ३८ अर्ब ७५ करोड ४५ लाख रूपियाँ ऋण लिएको छ । यही अवधिमा एक खर्ब २७ अर्ब ६१ करोड रूपियाँ साँवा भुक्तानी पनि गरेको छ । यस बीचमा विदेशी विनिमय दरमा आएको बृद्धिले ४४ अर्ब २२ करोड रूपियाँ दायित्व थपिएको छ । त्यसरी सरकारले तिर्नुपर्ने कुल ऋण २७ खर्ब २९ अर्ब ४१ करोड रूपियाँ पुगेको हो ।

त्यसमा आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब ९६ करोड रूपियाँ र बाह्य ऋण १४ खर्ब ५३ अर्ब ४५ करोड रूपियाँ रहेको छ । यो ब्याज बाहेकको साँवा ऋण मात्रै हो ।

समीक्षा अवधिमा सरकारले एक खर्ब ३८ अर्ब ७५ करोड ४५ लाख रूपियाँ ऋण लिएको छ, जुन लक्ष्यको २३।२९ प्रतिशत हो । सरकारले यो बर्ष पाँच खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रूपियाँ ऋण उठाउने लक्ष्य लिएको छ । त्यो अनुसार अब चार खर्ब ५६ अर्ब ९० लाख रूपियाँ ऋण उठाउन बाँकी छ ।

समीक्षा अवधिमा सरकारले आन्तरिक तर्फ एक खर्ब २० अर्ब ऋण उठाएको छ, जुन लक्ष्यको ३३।१५ प्रतिशत हो । आन्तरिक तर्फ सरकारले यो बर्ष तीन खर्ब ६२ अर्ब ऋण उठाउने लक्ष्य लिएको थियो । त्यसतर्फ अब दुई खर्ब ४२ अर्ब ऋण उठाउन बाँकी देखिन्छ ।

बाह्य ऋण परिचालनमा भने सरकार कमजोर देखिएको छ । यो बर्ष दुई खर्ब ३३ अर्ब ६६ करोड रूपियाँ बाह्य ऋण उठाउने लक्ष्य छ । त्यसमा हालसम्म १८ अर्ब ७५ करोड ४५ लाख रूपियाँ मात्रै बाह्य ऋण प्राप्ति भएको छ, जुन वार्षिक लक्ष्यको तुलनामा ८।०३ प्रतिशत मात्रै हो । यस अन्तरगत दुई खर्ब १४ अर्ब ९० करोड रूपियाँ बाह्य ऋण प्राप्ति गर्न बाँकी देखिन्छ ।

सामान्य बाह्य ऋण सस्तो हुन्छ । साथै, ऋण भुक्तानी तालिका पनि लामो हुन्छ । त्यसले सरकारलाई बजेट व्यवस्थापनमा सहज हुन्छ । तर, त्यस्तो ऋण परिचालनमा सबै सरकार कमजोर देखिएका छन् । विगतका संसद् निर्वाचित सरकार र अहिलेको अन्तरिम सरकार दुवै विदेशी ऋण परिचालनमा कमजोर देखिन्छन् ।

समीक्षा अवधिमा सरकारले ब्याज सहित एक खर्ब ५० अर्ब ८८ करोड रूपियाँ ऋण भुक्तानी गरेको छ । त्यसमा सावा तर्फ एक खर्ब २७ अर्ब ६१ करोड रूपियाँ भुक्तानी गरिएको छ । ब्याजतर्फ २३ अर्ब २७ करोड ६९ लाख रूपियाँ भुक्तानी भएको छ ।

तथ्यांक अनुसार आन्तरिक ऋण भुक्तानी एक खर्ब ३१ अर्ब ६५ करोड रूपियाँ छ । त्यसमा साँवातर्फ एक खर्ब १२ अर्ब २६ करोड र ब्याजतर्फ १९ अर्ब ३९ करोड रूपियाँ भुक्तानी गरिएको छ ।

यस्तै, बाह्य तर्फ १९ अर्ब २३ करोड रूपियाँ ऋण भुक्तानी गरिएको छ । त्यसमा साँवा तर्फ १५ अर्ब ३५ करोड र ब्याजतर्फ तीन अर्ब ८८ करोड रूपियाँ भुक्तानी गरिएको छ ।

यो तथ्यांकले आन्तरिक ऋण छोटो समयमै धेरै तिर्नु परेको छ । साथै, ब्याज खर्च पनि धेरै भएको देखाउँछ । बाह्य ऋण भुक्तानीमा भने सरकारलाई चाप परेको देखिन्न ।

सरकारले यो बर्ष ब्याज सहित चार खर्ब ११ अर्ब एक करोड ऋण तिर्ने लक्ष्य लिएको छ । त्यसमा साँवा तर्फ तीन खर्ब दुई अर्ब ४७ करोड रूपियाँ र एक खर्ब आठ अर्ब ५३ करोड रूपियाँ खर्च गर्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?