चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उद्योग क्षेत्रमा एक खर्ब चार अर्ब २७ करोड रुपैयाँ लगानीको प्रस्ताव आएको छ। उद्योग विभागमा दर्ता भएका एक सय ९५ वटा उद्योगका लागि लगानीको प्रस्ताव गरेका हुन्। विभागको त्रैमासिक प्रतिवेदनअनुसार साउनदेखि असोज मसान्तसम्ममा ठुला १४, मझौला २२ र साना एक सय ५९ वटा उद्योग दर्ता भएका हुन् ।
यी उद्योगले १० हजार दुई सय २० जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । विभागका अनुसार पहिलो त्रैमासमा दर्ता भएका सबैभन्दा धेरै उद्योग सूचना प्रविधिमा आधारित छन् । सूचना प्रविधि क्षेत्रका ८६ उद्योग दर्ता भएका छन्, जसले एक अर्ब ५८ करोड ७९ लाख लगानी गर्ने र नौ सय ५० जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् ।
त्यस्तै, पर्यटन क्षेत्रका ४० र सेवा क्षेत्रका २३ उद्योग दर्ता भएका छन् । पर्यटन क्षेत्रका उद्योगले पाँच अर्ब ६३ करोड ८५ लाख लगानी गर्ने र एक हजार ६ सय १८ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । दर्ता भएका सेवा क्षेत्रका उद्योगले तीन अर्ब २५ करोड ४४ लाख लगानी गर्ने र चार हजार एक सय ३२ जनालाई रोजगारीको प्रस्ताव गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै लगानी प्रस्ताव ऊर्जा क्षेत्रमा आएको छ । विभागका अनुसार ऊर्जा क्षेत्रका दर्ता भएका तीन उद्योगले ७१ अर्ब ३३ करोड ३५ लाख लगानी गर्ने र एक सय ७३ जनालाई रोजगारी दिने प्रस्ताव गरेका हुन् । त्यस्तै, पूर्वाधार क्षेत्रमा दर्ता भएका दुई उद्योगले २० अर्ब सात करोड १० लाख लगानी गर्ने र दुई हजार तीन सय ८० जनालाई रोजगार दिने प्रस्ताव गरेका छन् ।
विभागका अनुसार यस अवधिमा उत्पादनमूलक क्षेत्रका ३७ वटा, कृषि तथा वन क्षेत्रका तीनवटा र खनिज क्षेत्रको एउटा उद्योग दर्ता भएका छन् । उत्पादनमूलक क्षेत्रका उद्योगले एक अर्ब आठ करोड रुपैयाँ लगानी गर्ने र दुई सय सातजनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् ।
त्यस्तै, कृषि तथा वन क्षेत्रका उद्योगले एक अर्ब १२ करोड लगानी तथा सात सय ६ जनालाई रोजगारी र खनिज क्षेत्रका उद्योगले १६ करोड ४१ लाख लगानी र ५४ जनालाई रोजगारी दिने प्रस्ताव गरेका हुन् ।

