उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा विदेशी लगानीका नौ अर्ब रुपैयाँ प्रतिवद्धता सहित ९० वटा उद्योग विभागमा दर्ता भएका छन् ।
जसमा सामान्य तवरबाट आउने र स्वचालित मार्ग (एआर)बाट आएका लगानी प्रतिवद्धता समेत गरी उक्त लगानी प्रतिवद्धता र उद्योग दर्ता भएको विभागका विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शंकर सिंह धामीले जानकारी दिए । उनका अनुसार प्रतिवद्धता आएका उद्योग मध्ये ५७ वटा साना र दुई वटा ठूला रहेका छन् । विभागका अनुसार दर्ता भएका उद्योगहरु मध्ये पर्यटनमूलक ४० वटा, सेवामूलक १२ वटा, उत्पादनमूलक तीन वटा ,कृषिमूलक दुई वटा र सूचनाप्रविधिमूलक दुई वटा उद्योग रहेका छन् ।
त्यस्तै विभागका स्वचालित मार्ग बाट करिब ६० करोड रुपैयाँ लगानी प्रतिवद्धता सहित विभागमा ३१ वटा उद्योग दर्ता भएका छन् । विभागका अनुसार चालु आर्थिक वर्ष साउन महिनामा ५९ करोड ७५ लाख ६० हजार रुपैयाँ लगानी प्रतिवद्धता सहित ३१ वटा उद्योग दर्ता भएका छन् । जसमा सबैभन्दा धेरै सूचना प्रविधिमुलुक र पर्यटनमुलुक उद्योग रहेको छ । साउन महिनामा सूचना प्रविधिजन्यमा २० करोड २५ लाख ५० हजार रुपैयाँ, सेवामूलकमा १६ करोड रुपैयाँ, पर्यटनमूलकमा १४ करोड रुपैयाँ, उत्पादनमूलकमा सात करोड ५० लाख रुपैयाँ र पूर्वाधारमूलक उद्योगमा दुई करोड १० हजार रुपैयाँ लगानी प्रतिवद्धता जनाउदै उद्योग दर्ता गरेका छन् ।
जसमा सूचना प्रविधिजन्य २२ वटा, सेवामूलक दुई वटा, पर्यटनमूलक चार वटा, उत्पादनमूलक दुई वटा र पूर्वाधारमुलुक एउटा उद्योग स्थापनाका लागि उक्त लगानी प्रतिवद्धता जनाएका हुन् । विदेशी लगानीकर्तालाई सहज हुने उद्देश्यले सञ्चालन गरिएको स्वचालित मार्ग कार्यान्वयमा ल्याए सँगै लगानी प्रतिवद्धता निरन्तर आएको निर्देशक धामी बताउछन् ।
त्यस्तै, तेस्रो ‘लगानी सम्मेलन २०२४’ मार्फत् कार्यान्वयमान ल्याइएको स्वचालित मार्गमार्फत् विदेशी लगानीकर्ताले नेपालमा लगानी भित्राउन सक्ने व्यवस्था गरिएको छ । स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा कुल पुँजी ५० करोड रुपैयाँसम्म भएको उद्योग तथा व्यवसाय आउन सक्ने व्यवस्था गरिएको छ । विदेशी लगानीकर्ताले शत प्रतिशत वा नेपाली लगानीकर्तासँग संयुक्त लगानी सम्झौतामार्फत् लगानी गर्न सक्ने, लगानी स्वीकृतिको जानकारी लगानीकर्ता, नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बद्ध निकायहरूलाई प्रणाली मार्फत् नै स्वचालित रुपमा हुने, लगानीकर्ताले छुट्टै विदेशी लगानी स्वीकृती लिईरहनु नपर्ने व्यवस्था यस प्रणालीका आकर्षण मानिएको छ । उक्त प्रणालीमार्फत् विदेशी लगानीकर्ताले लगानी प्रतिवद्धता मात्र जनाउन सक्नेछन् । लगानीको लागि पहिलो चरणको काम भने स्वचालित मार्गबाट हुनेछ । जसले गर्दा लगानी प्रतिवद्धता मात्र गर्नका लागि नेपाल आइरहने प्रवृत्तिबाट लगानीकर्ता मुक्त हुनेछन् । विदेशी अर्थात् लगानीकर्ताले लगानी नेपालको ऐन, नियमा रही लगानी प्रतिवद्धता प्रणालीमार्फत् जनाउछन् त्यसलाई विभागले स्वीकृत गर्दछ । लगानी रकम स्वीकृत पश्चयान भने उनीहरु नेपाल आउने वा नेपालमा रहेका प्रतिनिधिमार्फत् उद्योग दर्ता, परियोजा प्रस्ताव, कम्पनी दर्ता , साझोदारीता, उत्पादन विवरण, जग्गा प्राप्ति, भिसा प्राप्ति लगायतका प्रक्रियाहरु अघि बढाउन सक्नेछन् ।
सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ४२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट आउने विदेशी लगानीलाई सात वटा औद्योगिक तथा व्यावसायिक क्षेत्रका ६० प्रकारका उद्योग तथा व्यवसायमा लगानी गर्न सक्ने व्यवस्था गरेको हो । साथै, स्वचालित मार्गबाट हुने विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा समेत तोकिएको छ । स्वचालित मार्गबाट आउने विदेशी लगानी स्वीकृतिको माथिल्लो सीमा कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय तोकिएको छ ।
सरकारले विदेशी लगानी आकर्षित गर्नका लागि स्वचालित मार्गका लागि नयाँ नीति लिएको विभागका अधिकारीहरूले बताएका छन् । यसअघि स्वचालित मार्गबाट १० करोड रुपैयाँसम्म लगानी स्वीकृति गर्ने व्यवस्था थियो । सो समयमा स्वचालित मार्गबाट १० करोड रुपैयाँ लगानी स्वीकृति दिने र सात दिनभित्र प्रारम्भिक स्वीकृति प्रदान गर्ने, लगानी स्वीकृति र उद्योग सञ्चालनसम्बन्धी बाँकी प्रक्रिया छ महिनाभित्र पूरा गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो ।

