वायुसेवा सञ्चालकसँगको छलफलमा प्रधानमन्त्री ओलीले के भने ?

प्रधानमन्त्री केपी शर्मा ओलीसँग वायुसेवा सञ्चालकले भेट गरी हवाई क्षेत्रका समस्याबारे छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा प्रधानमन्त्री ओलीसँग हवाई क्षेत्रको सुधारका साथै यस क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे विमान सञ्चालकसँग परामर्श गरेका हुन् ।

प्रधानमन्त्री ओलीसँग मुलुकको समग्र हवाई क्षेत्रका समसामयिक विषयमा कुराकानी भएको वायुसेवा सञ्चालन सङ्घका अध्यक्ष मनोज कार्कीले जानकारी दिए । ‘हवाई क्षेत्रका समसामयिक गतिविधिबारे प्रधानमन्त्रीले जानकारी लिनुभयो । सञ्चालकका तर्फबाट विद्यमान समस्या र समाधानका उपायबारे सकारात्मक छलफल भएको छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिमा ध्यान दिन वायुसेवा सञ्चालकलाई निर्देशन दिएका छन् । उनले यस क्षेत्रमा देखिएका समस्याको समाधानका उपाय सुझाउन सञ्चालकलाई आग्रह गरे । साथै उनले हवाई टिकटमा ‘डलर फेयर’बारे चासो जनाउँदै यसलाई कसरी हटाउन सकिन्छ भनेर जिज्ञाशा राखेका थिए । यस्तै युरोपेली सङ्घको कालो सूचीबाट नेपाललाई हटाउनका लागि पहल गर्न पनि प्रधानमन्त्रीले सञ्चालकलाई आग्रह गरे

प्रधानमन्त्री ओलीले हवाई सुरक्षा अभिवृद्धिका लागि सरकारले पहल गरिरहेको तथा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढेको जानकारी दिए । उनले हवाई क्षेत्रको नीति र संरचनागत सुधारका लागि सरकारले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीसँगको छलफलमा मुख्यसचिव लीलादेवी गड्तौला तथा वायुसेवा सञ्चालकका तर्फबाट सङ्घका अध्यक्ष कार्की, उपाध्यक्ष प्रतापजङ्ग पाण्डे, बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत, यती ग्रुपका अध्यक्ष लाक्पा सोनाम शेर्पा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?