कानुन बनाउने थलाेमा युवा सांसदहरूकाे बर्चश्व

संसदमा बुढ्याैली सांसदहरूकाे बर्चश्व हुने प्रवृतिलाइ यसपटक ताेडिएकाे छ ।

हालैकाे चुनावबाट ठुलाे संख्यामा ४० वर्षमुनिका युवा विजयी भएका छन्। जसमध्ये ४ जना जेनजी उमेर समूहका छन्।

२०७९ को निर्वाचनमा प्रत्यक्षतर्फबाट जम्मा १० जना मात्र युवा चुनिएका थिए। पछिल्लो चुनावको तुलनामा यस पटक युवा सांसदको संख्या सात गुणाले वृद्धि भएको हो।

देशका धेरैजसो मतदाता पुरानै अनुहार दोहोरिरहने तर देशको स्थिति नसुध्रिने अवस्थाबाट दिक्क थिए। त्यसैमाथि भदौ २३ गते जेनजीमाथि भएको दमन उनीहरूले बिर्सिएका थिएनन्। मतदाताले यस पटक वैकल्पिक शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पाए। जसले देशभर रास्वपा र बालेनको लहर नै ल्यायो।

रास्वपाले सबैभन्दा बढी युवा उम्मेदवारलाई खडा गरेको थियो। सो पार्टीबाट मात्र ६२ जना युवा विजयी भएका छन्। नेपाली कांग्रेसबाट ५ जना युवा निर्वाचित भएका छन्। त्यस्तै नेकपा एमालेबाट २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १ जना र श्रम संस्कृति पार्टीबाट १ जना युवा उम्मेदवारले चुनाव जितेका छन्। तर, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट भने एक जना पनि युवा निर्वाचित भएका छैनन्।

त्यसो त हुनेवाला प्रधानमन्त्री बालेन शाह पनि ३६ वर्षीय युवा नै हुन्। रास्वपाले शाहलाई चुनावअगाडि नै पार्टीबाट प्रधानमन्त्रीको रूपमा अगाडि सारेको थियो। उनी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लगातार चुनाव जित्दै आएको क्षेत्र झापा–५ मा भिड्न पुगेका थिए। ६८ हजार ३४८ मत ल्याएका बालेनले ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्।

विगतका निर्वाचनमा अनुभवी नेता र पार्टीका सिद्धान्त हेर्ने मतदाताले यस पटक पढेलेखेका र युवा उम्मेदवार खोजेर मतदान गरेको देखिन्छ। जसका कारण पुराना दलका हेभिवेट नेताहरूले चुनाव हारेका छन्।

सामाजिक अभियन्ता तथा एक समयमा चलचित्र समेत खेलेकी आशिका तामाङ पनि एमाले र कांग्रेसका स्थापित नेतालाई ठूलो मतान्तरले हराउँदै निर्वाचित भइन्। ३७ वर्षकी तामाङ विगत लामो समयदेखि अभिव्यक्ति तथा क्रियाकलापको कारण चर्चाको विषय बन्दै आएकी छिन्। तर जेनजी आन्दोलनमा घाइते जेनजीलाई गरेको मद्दतपछि भने उनले व्यापक सम्मान कमाएकी छिन्।

रास्वपाका प्रशान्त उप्रेती यस पटक सबैभन्दा कान्छो सांसद बन्दै छन्। २५ वर्षका उप्रेती मकवानपुर–२ मनहरी गाउँपालिकाका स्थायी बासिन्दा हुन्। उनले ३० हजार ५० मत ल्याएर मकवानपुर–२ मा एमालेका नेता महेश बर्तौलालाई प्रशान्तले हराए।

उप्रेतीले बालेन शाह मेयर हुँदा उनको सचिवालयमा काम गरेका थिए। पछि, अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको स्वकीय सचिव भएर पनि काम गरेका थिए।

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले पनि फराकिलो अन्तरले चुनाव जितेका छन्। गुरुङ जेनजी आन्दोलनमा सुशासनको लागि आवाज उठाउँदै सडकमा उत्रिएका थिए। ‘हामी नेपाल’ नामक संस्थाका संयोजक समेत रहेका उनले आन्दोलनमा स्वयंसेवक पनि परिचालन गरेका थिए। जेनजी आन्दोलनपछि सेनासँग भेटेर कुरा गर्नुका साथै अन्तरिम सरकार निर्माणको लागि प्रधानमन्त्री चयनमा पनि मुख्य भूमिका खेलेका थिए।

२९ हजार ८९६ मत ल्याएका सुदनले नेपाली कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतान्तरले पराजित गरे।

नेपाली कांग्रेसका ३५ वर्षका निश्कल राई इलाम–१ बाट निर्वाचित भएका हुन्। राईले १४ हजार ५४३ मत ल्याएछ। उनले श्रम संस्कृति पार्टीका विनोद नेम्बाङलाई ९०७ मतान्तरले पराजित गरेका हुन्।

जेनजी आन्दोलनमा प्रत्यक्ष रूपमा संलग्न भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका अधिवक्ता मनिष खनाल पनि सांसद हुने भएका छन्। खनाल ४१ हजार ३४७ मत ल्याएर निर्वाचित भए।

एमालेका सुहाङ नेम्बाङ इलाम–२ बाट निर्वाचित भएका छन्। देशभर रास्वपाको लहर चलिरहँदा सुहाङले २२ हजार ४२६ मत ल्याए। कांग्रेसका भेषराज आचार्य उनीसँग ७ हजार ७७६ मतान्तरले पराजित भए।

नेकपा एमालेबाट प्रत्यक्षतर्फ २ जना मात्र युवा सांसद हुने भएका छन्।

यस पटक राप्रपाले प्रत्यक्षतर्फ एक सिट मात्र जितेको छ। राप्रपाका ३४ वर्षीय ज्ञानबहादुर शाही जुम्ला–१ बाट निर्वाचित भएका हुन्। उनले १४ हजार ८१६ मत ल्याएका छन्। शाहीले नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीलाई ३ हजार ११७ मतान्तरले पराजित गरेका हुन्।

श्रम संस्कृति पार्टीबाट खोटाङ–१ का आरेन राई निर्वाचित भएका छन्। राईले १६ हजार ६१२ मत ल्याएका हुन्। उनले एमालेका देवविक्रम राईलाई ३ हजार ८९८ मतान्तरले पराजित गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?