रुपन्देही जिल्लाको सियारीे ५ मा विगत ७ वर्षयता सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडको स्तरोन्नति हुने भएको छ।
२०७५ सालमा सञ्चालन भएको यो रिसोर्ट विगत ३ वर्षदेखि निरन्तर मुनाफामा छ। सोही क्रममा अब सेवा अपग्रेडको तयारी भएको हो।
यसअनुसार लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा ब्रान्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको हो। जुन म्यारियट इन्टरनेशनलको काठमाडौं उपत्यकाबाहिरको पहिलो र एकमात्र उपस्थिति हुनेछ।
यसको लागि रिसोर्ट र काठमाडौंको म्यारियट होटलले होटल व्यवस्थापन सम्झौता गरिसकेका छन्। रिसोर्टका अध्यक्ष दिपक पाण्डेय, प्रबन्धसञ्चालक रोशन कुमार न्यौपानेलगायतका रिसोर्टका सञ्चालकहरु एवम् उच्चपदस्थ पदाधिकारीज्यहरु र म्यारियट इन्टरनेशनलको तर्फबाट एसिया प्यासिफिक हेर्ने प्रमुख सञ्चालन अधिकृत नीरज गोविल र दक्षिण एसियामा विकास हेर्ने वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट, दक्षिण एसियामा विकास नै हेर्ने उपाध्यक्ष जुही रोयलगायतका उच्चपदस्थ पदाधिकारीहरुको संलग्नतामा ग्लोबल हस्पिटालिटी लाइसेन्सिंग एसएआरएल (म्यारियट इन्टरनेशनल)सँग होटल म्यानेजमेन्ट एग्रिमेन्ट (एचएमए) सम्पन्न गरेको छ।
लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले यसै आर्थिक वर्षको अन्तसम्ममा पाँच तारे रिसोर्टको सञ्चालन अनुमति लिने लक्ष्य लिएको जनाएको छ।
नेपालको पर्यटन उद्योगमा नयाँ सुविधाहरुसहित नेपालको पहिलो र एकमात्र वाटर रिसोर्टको रुपमा सञ्चालन हुने यस रिसोर्टमा अत्याधुनिक, भविष्यकामी एवम् उच्च प्रविधियुक्त वाटर फाउन्टेन, वाटर शोहरु, म्युजिकल फाउन्टेन, थ्रिडी वाटर स्क्रिन, मोटर बोटिंग, मिनि क्रुज, वाटर रेस्टुराँ, वाटर स्पालगायतका दर्जनौं वाटर एक्टिभिटिजको अद्भुत सुविधाहरु उपलब्ध हुनेछ।
साथै, हाल विश्वभर नै चुनौतीको रुपमा रहेको जलवायु परिवर्तन, तापक्रम वृद्धि, पर्यावरणीय असन्तुलनलगायतका विषयहरु समेतलाई हृदयंगम गर्दै यस रिसोर्टलाई नेपालको पहिलो र एकमात्र हरित प्रमाणीकरण (गोल्ड)सहितको वेलनेस रिट्रिट एन्ड इको रिसोर्टको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ। जसअन्र्तगत हरित प्रमाणीकरण (गोल्ड) को लागि पूरा गर्नुपर्ने मापदण्डहरुजस्तै वातावरण संरक्षण, ऊर्जा बचत, दिगो विकास र कम प्रदूषणहरुलगायतका प्रावधानहरुको पूर्ण परिपालना गर्ने लक्ष्य लिइएको छ।
त्यस्तैगरी प्राकृतिक एवम् दिगो मानव स्वास्थ्य एवम् न्याचुरोथेरापीलाई पनि प्रवद्र्धन गर्दै अर्गानिक प्रमाणीकरणसहितको नेपालको पहिलो र एकमात्र अर्गानिक फाइभस्टार वेलनेस लक्जरी रिसोर्टको रुपमा यस रिसोर्टलाई विकास गर्ने लक्ष्य समेत लिइएको छ।

