नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको तथ्यांकमा आधारित देशको वर्तमान तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
जसअनुसार चालू खाता १११ अर्ब रूपैयाँभन्दा बढीले बचतमा रहेको छ । राष्ट्र बैंकका अनुसार चालू खाता १११ अर्ब ८७ करोड रूपैयाँले बचतमा रहेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५९ अर्ब ६५ करोड रूपैयाँले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालू खाता यस अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब रूपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटी मात्र) ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड रूपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटी मात्र) ३ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।

