
- सीजी फुड्सले एक वर्षमा ११ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको छ।
- वाईवाई चाउचाउले कम्पनीको कुल कारोबारमा ७५ प्रतिशत योगदान दिएको छ।
- कम कारोबार र नाफा भए पनि कम्पनीको वित्तीय अवस्था र ऋण तिर्ने क्षमता निकै बलियो छ।
वाईवाई चाउचाउ उत्पादन तथा विक्री गर्ने सीजी फुड्स नेपालले एक वर्षमा ११ अर्ब ३५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।
अर्बपति व्यवसायी विनोद चौधरीको चौधरी ग्रुप अन्तर्गतको यो कम्पनीले वाईवाई चाउचाउसहित रियो र क्विक्स ब्रान्डमा खाद्य सामाग्री उत्पादन तथा वितरण गर्छ । यही कम्पनीले एकैवर्षमा करिब १२ अर्ब रुपैयाँको सामाग्री विक्री गरेको हो ।
१२ अर्बको व्यापारमध्ये तीनचौथाई (करिब ७५ प्रतिशत) वाईवाईको मात्र छ । कम्पनीले क्रेडिट रेटिङ एजेन्सी इक्रालाई उपलब्ध गराएको जानकारीअनुसार सीजी फुड्सले सन् २०२३ मा १२ अर्ब ५१ करोड, २०२४ मा ११ अर्ब ६७ करोड र २०२५ मा ११ अर्ब २५ करोडको व्यापार गरेको छ ।
सीजी फुड्सको देशभर अन्य ३ सब्सिडियरी कम्पनी पनि छन् । सबैको व्यापार हिसाब गर्दा पछिल्लो वर्ष कुल व्यापार २.७२ प्रतिशतले घटेको देखिन्छ ।
गत आर्थिक वर्षको कुल ११ अर्ब ३५ करोड रुपैयाँको व्यापारमध्ये सञ्चालन नाफा ६.६ प्रतिशत छ ।
कम्पनीको प्रमुख कच्चा पदार्थहरुको मूल्य अन्तर्राष्ट्रिय वस्तु बजारमा निर्भर, माग र आपूर्तिको अवस्था, भूराजनीतिक घट्नाक्रम तथा विदेशी विनिमय दरमा हुने उतारचढावले अस्थिर हुने गर्छ । जसले गर्दा कम्पनीको नाफा पनि अस्थिर रहँदै आएको छ ।
कम्पनीको कारोबार र नाफा मार्जिनमा कमी आए पनि कम्पनीको वित्तीय अवस्था निकै सकारात्मक देखिन्छ । गत आवमा सीजी फुड्सको ऋणभार न्यून छ । गत आवमा कम्पनीको समग्र गियरिङ अनुपात ०.२ गुणा रहेको छ । अर्थात् पुँजीको तुलनामा ऋण २० प्रतिशतमात्र हो ।
कम्पनीको ब्याज भुक्तानी क्षमतामा उच्च देखिन्छ । गत आवमा ब्याज भुक्तानी क्षमता अर्थात् इन्टरेस्ट कभरेज रेसियो १५.१ गुणा रहेको छ । अर्थात् उसको सञ्चालन नाफा वार्षिक ब्याजको १५ गुणा बढी छ । यस्तै कम्पनीको कर्जा सेवा भुक्तानी क्षमता (डेट सर्भिस कभरेज रेसियो) ११.८ गुणा छ ।

