सारथि केबलको आम्दानी २६ प्रतिशत बढ्यो, मार्जिनमा पनि सुधार

काठमाडौँ । तार तथा केबल उत्पादन गर्दै आएको सारथि केबल इन्डस्ट्रिज लिमिटेडको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८२/८३ मा २६ प्रतिशतले बढेको छ। कम्पनीले उक्त अवधिमा ६८ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको सञ्चालन आम्दानी ५४ करोड २० लाख रुपैयाँ थियो।

कारोबार विस्तारसँगै कम्पनीको खुद नाफाको मार्जिनमा पनि सुधार आएको छ। अघिल्लो आर्थिक वर्षमा २.४४ प्रतिशत रहेको खुद नाफाको मार्जिन गत आर्थिक वर्षमा बढेर ४.९० प्रतिशत पुगेको छ। वित्तीय खर्च घट्नुले नाफाको मार्जिन सुधारमा योगदान गरेको कम्पनीको वित्तीय विवरणसम्बन्धी विश्लेषणमा उल्लेख छ।

यद्यपि, कम्पनीको सञ्चालन नाफा सूचक (इबीआईटीडीए) मार्जिन भने घटेको छ। आर्थिक वर्ष २०८१/८२ मा १७.५१ प्रतिशत रहेको उक्त मार्जिन गत आर्थिक वर्षमा १४.६४ प्रतिशतमा झरेको हो। कच्चा पदार्थको लागत बढ्दा सञ्चालन नाफामा दबाब परेको देखिन्छ। उपलब्ध विवरणअनुसार गत आर्थिक वर्षमा कच्चा पदार्थको औसत लागत अघिल्लो वर्षको तुलनामा करिब ६० प्रतिशतले बढेको थियो।

वित्तीय खर्च घट्नु र सञ्चालन नाफाको मार्जिन खुम्चिनुका बीच कम्पनीको खुद नाफाको मार्जिन भने बढेको छ। त्यस्तै, कम्पनीको नगद सञ्चिति सिर्जना क्षमता पनि अघिल्लो आर्थिक वर्षको २ करोड ६० लाख रुपैयाँबाट बढेर ५ करोड ६० लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वित्तीय संरचनामा समेत सुधार देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा २.४६ गुणा रहेको ऋण तथा पुँजी अनुपात गत आर्थिक वर्षमा घटेर ०.९२ गुणामा झरेको छ। कम्पनीमा थपिएको इक्विटी पुँजी र सञ्चित नाफामा भएको वृद्धिले ऋणको तुलनामा आफ्नै पुँजीको हिस्सा बढाउन सहयोग गरेको हो। यसले कम्पनीको ऋणमा निर्भरता घटाउन र वित्तीय दायित्व व्यवस्थापन गर्ने क्षमतामा सुधार ल्याएको देखिन्छ।

उत्पादन क्षमताको उपयोग २७ प्रतिशत मात्रै

कारोबार र नाफाको मार्जिन बढे पनि कम्पनीले आफ्नो जडित उत्पादन क्षमताको ठूलो हिस्सा उपयोग गर्न सकेको छैन। आर्थिक वर्ष २०८१/८२ मा कुल उत्पादन क्षमताको २३ प्रतिशत उपयोग गरेको कम्पनीले गत आर्थिक वर्षमा त्यसलाई बढाएर २७ प्रतिशत पुर्‍याएको छ।

कम्पनीको वार्षिक जडित उत्पादन क्षमता २ हजार ७०९ मेट्रिक टन छ। यसमध्ये आल्मुनियममा आधारित उत्पादनको क्षमता १ हजार ५४८ मेट्रिक टन र तामामा आधारित उत्पादनको क्षमता १ हजार १६१ मेट्रिक टन छ।

उत्पादन क्षमताको तुलनामा उपयोग न्यून रहनुले कम्पनीसँग विद्यमान पूर्वाधारबाटै उत्पादन बढाउन सक्ने सम्भावना रहेको देखाउँछ। तर, त्यसका लागि बजारको माग, बिक्री सञ्जाल र सञ्चालन दक्षता बढाउनु आवश्यक हुनेछ। कच्चा पदार्थको उपलब्धता तथा लागत व्यवस्थापनले पनि उत्पादन विस्तारको सम्भावनालाई प्रभावित गर्न सक्नेछ।

सारथि केबलका लागि कार्यशील पुँजी व्यवस्थापन अर्को चुनौती देखिएको छ। कच्चा पदार्थको ठूलो हिस्सा आयातमार्फत जुटाउनुपर्ने भएकाले कम्पनीले उत्पादनका लागि पर्याप्त मौज्दात राख्नुपर्ने हुन्छ। यसले कारोबारमा रकम लामो समयसम्म बाँधिने अवस्था सिर्जना गर्न सक्नेछ।

कम्पनीको औसत मौज्दात अवधि आर्थिक वर्ष २०८१/८२ मा ५७ दिन रहेकामा गत आर्थिक वर्षमा बढेर १२५ दिन पुगेको छ। ग्राहकबाट रकम उठाउन लाग्ने औसत अवधि भने २०४ दिनबाट घटेर १६९ दिनमा आएको छ। त्यस्तै, आपूर्तिकर्तालाई भुक्तानी गर्न लाग्ने अवधि ६८ दिनबाट बढेर ९७ दिन पुगेको छ।

यी सूचकका आधारमा कम्पनीको सञ्चालन चक्र अघिल्लो आर्थिक वर्षको १९४ दिनबाट बढेर गत आर्थिक वर्षमा १९७ दिन पुगेको छ। यसको अर्थ कच्चा पदार्थ खरिददेखि उत्पादन र बिक्रीपछि रकम प्राप्त गर्ने प्रक्रियामा कम्पनीको पुँजी तुलनात्मक रूपमा लामो समयसम्म परिचालन भइरहन्छ।

ग्राहकबाट रकम उठाउन लाग्ने अवधि घट्नु सकारात्मक भए पनि मौज्दात अवधि बढेकाले कार्यशील पुँजीमा दबाब पर्न सक्छ। कारोबार विस्तारसँगै यस्तो आवश्यकता थप बढ्न सक्ने भएकाले मौज्दात व्यवस्थापन, बिक्रीबाट रकम असुली र आपूर्तिकर्तासँगको भुक्तानी सन्तुलन कम्पनीका लागि महत्त्वपूर्ण हुने देखिन्छ।

तामा र आल्मुनियमको अन्तर्राष्ट्रिय बजार मूल्यमा हुने उतारचढावले पनि कम्पनीको लागत र नाफालाई प्रत्यक्ष प्रभाव पार्छ। कच्चा पदार्थको मूल्य बढ्दा त्यसअनुसार बिक्री मूल्य समायोजन गर्न नसकेमा नाफाको मार्जिन थप खुम्चिन सक्छ। गत आर्थिक वर्षमा सञ्चालन नाफा मार्जिन घट्नुमा लागतको दबाबसमेत देखिएको छ।

सारथि केबल इन्डस्ट्रिज लिमिटेड यसअघि भुसाल केबल एन्ड वायर इन्डस्ट्रिज प्रालिका नामबाट सञ्चालनमा थियो। सन् २००५ डिसेम्बर ५ मा स्थापना भएको कम्पनी सन् २०२५ जुलाई ९ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो। कम्पनीको उत्पादन कारखाना रुपन्देही जिल्लामा छ।

भुसाल समूहअन्तर्गतको यस कम्पनीका अध्यक्ष अंकित भुसाल हुन्। सन् २०२६ जुलाई मध्यसम्मको विवरणअनुसार कम्पनीमा उनको करिब ४६ प्रतिशत सेयर स्वामित्व छ।

कम्पनीले घरायसी तथा व्यावसायिक प्रयोजनका तामामा आधारित तार, पावर केबल, आल्मुनियममा आधारित तार, विद्युत् प्रसारण तथा वितरणमा प्रयोग हुने कन्डक्टर र एरियल बन्डल्ड केबल उत्पादन गर्दै आएको छ। दूरसञ्चार केबल तथा आर्मर्ड र अनआर्मर्ड प्रकारका पावर केबल पनि कम्पनीका उत्पादन गरिरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?