पर्यटक आगमन : एक लाख २० हजार ५१६ जना पर्यटक भित्रिए

सन् २०२६ को मार्चमा एक लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डद्वारा सार्वजनिक तथ्याङ्कअनुसार मार्चमा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो ।

तथ्याङ्कअनुसार मार्च २०२६ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । यो कुल आगमनको करिब ३५ दशमलव चार प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा बढी २५ हजार ७२८ पर्यटक आएका छन् ।

श्रीलङ्काबाट १० हजार ७५९, बङ्गलादेशबाट चार हजार ६७६ तथा सार्क अन्य मुलुकबाट पनि पर्यटकले नेपाल भ्रमण गरेका पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले जानकारी दिए । भारतबाट आउने पर्यटकको उच्च सङ्ख्याले धार्मिक, सांस्कृतिक तथा छोटो अवधिको भ्रमण प्रवृत्ति अझै बलियो रहेको देखाएको उनको भनाइ छ ।

अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २२०, म्यानमारबाट छ हजार २० र थाइल्याण्डबाट तीन हजार ८९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट पनि पर्यटकको उल्लेख्य आगमन भएको छ । समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, यो कुल आगमनको करिब २७ दशमलव सात प्रतिशत हो ।

युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि नभए पनि स्थिर देखिएको छ । पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ । एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकका रूपमा उनीहरूको योगदान महत्त्वपूर्ण मानिन्छ ।

सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने कोभिड–१९ सुरु हुनुअघि भने सोही महिनामा एक लाख २७ हजार ३५१ आगमन भएको देखिन्छ । सन् २०२६ को फेब्रुअरीमा एक लाख पाँच हजार ४४१ पर्यटक भित्रिएका बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?