गोदावरीमा अन्तर्राष्ट्रिय स्तरको विलासी आतिथ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ ‘बेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्ट’ सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल कुमार सिन्हाले एक समारोहका बीच यस रिसोर्टको उद्घाटन गरेका हुन् ।
गोदावरी फरेस्ट होटल लिमिटेडद्वारा प्रवद्र्धित यस परियोजनामा अध्यक्ष विजय मल्लसहित राजेन्द्र भण्डारी, डा कुसेन्द्र बहादुर महत, कल्याण जोशी, मदनलाल जोशी, युवराज श्रेष्ठ, रारा केसी, दलविर भण्डारी, प्रचण्डलाल प्रधान र श्याम सिलवालको सामूहिक लगानी रहेको छ । यो रिसोर्टमा १ अर्ब ९५ करोड रुपैयाँको लागतमा निर्माण भएको हो ।
अमेरिकास्थित विश्वप्रसिद्ध होटल चेन ‘बेस्ट वेस्टर्न इन्टरनेशनल’ सँगको व्यवस्थापन सम्झौता अन्तर्गत सञ्चालन हुने यस रिसोर्टले काठमाडौं उपत्यकाको आतिथ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने एक ऐतिहासिक कडीको रुपमा हेरिएको छ । घना वन क्षेत्रको काखमा अवस्थित हुनुका साथै काठमाडौं उपत्यकाको मनमोहक दृश्य अवलोकन गर्न सकिने यस रिसोर्टमा ८३ वटा अत्यन्तै आकर्षक र विलासी कोठाहरु रहेका छन् । आधुनिक आर्किटेक्चर र स्थानीय सांस्कृतिक पहिचानको अनुपम मिश्रण पाइने यस रिसोर्टमा डिलक्स सुइट, निजी टेरेस भएका कोठाहरू र प्रकृतिसँग नजिक महसुस गराउने ’फरेस्ट भ्यू’ कोठाहरू उपलब्ध छन् ।
पाहुनाको पूर्ण सन्तुष्टिका लागि रिसोर्टले उच्चस्तरीय सुविधाहरूलाई प्राथमिकतामा राखेको छ । यहाँको सिग्नेचर रुफटप रेष्टुरेन्टले स्वाद र दृश्यको अनौठो अनुभव प्रदान गर्नेछ भने इन्फिनिटी पूल, विश्वस्तरीय स्पा र अत्याधुनिक फिटनेस सेन्टरले आगन्तुकलाई पुनर्ताजगी दिनेछन् । व्यावसायिक प्रयोजनका लागि यहाँ अत्याधुनिक प्रविधियुक्त तीनवटा ठूला सम्मेलन हलहरू समेत निर्माण गरिएको छ । राष्ट्रिय वनस्पति उद्यान र पदयात्राका लागि प्रख्यात फुलचोकी डाँडाको सामीप्यले गर्दा यो रिसोर्ट प्रकृति प्रेमी र शान्त वातावरण खोज्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि पहिलो रोजाइ बन्ने देखिन्छ ।

