
- नाट्टाको ५९औँ वार्षिक साधारणसभा र २५औँ निर्वाचनमा अध्यक्ष पदका लागि जिस्वाँ तुलाधर श्रेष्ठ, युबिका भण्डारी र भरतजंग पाण्डेका तीन प्यानल प्रतिस्पर्धामा छन्।
- तीनै समूहले पर्यटन प्रवर्द्धन, व्यवसायीका समस्या समाधान, नीतिगत समन्वय र संस्थालाई प्रविधिमैत्री बनाउने साझा एजेन्डा अघि सारेका छन्।
- उम्मेदवारहरूले आफ्नो कार्यशैली र रणनीतिका आधारमा सुशासन, सदस्य सहभागिता तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिँदै आगामी दुई वर्षका लागि नेतृत्व दाबी गरेका छन्।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्व चयनका लागि तीन प्यानल चुनावी मैदानमा उत्रिएसँगै पर्यटन व्यवसायको प्रतिनिधिमूलक संस्थामा प्रतिस्पर्धा रोचक बनेको छ।
आगामी शुक्रबार हुने नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमिति निर्वाचनमा जिस्वाँ तुलाधर श्रेष्ठ, युबिका भण्डारी र भरतजंग पाण्डेको नेतृत्वमा छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा छन्। सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुन लागेको हो।
तीनै प्यानलले पर्यटनलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने, व्यवसायीका समस्या समाधानमा पहल गर्ने र बदलिँदो प्रविधिअनुसार नाट्टालाई रूपान्तरण गर्ने विषयलाई प्राथमिकतामा राखेका छन्। तर, संस्थाको नेतृत्वमा पुग्ने रणनीति र प्राथमिकतामा भने केही भिन्नता देखिन्छ।
वर्तमान वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठले ‘सबल नेतृत्व, सुरक्षित व्यवसाय र समृद्ध पर्यटन’ नारासहित आफ्नो प्यानल अघि सारेकी छन्। उनको समूहले नाट्टालाई समावेशी, पारदर्शी, प्रविधिमैत्री र व्यवसायमुखी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ।
श्रेष्ठ नेतृत्वको समूहले शनिबार १२ बुँदे निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पर्यटन व्यवसायीको आवाज उठाउने मात्र नभई समस्या समाधानका लागि परिणाममुखी पहल गर्ने संस्थाका रूपमा नाट्टालाई विकास गर्ने जनाएको छ।
अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन, विश्वव्यापी बजार विस्तार, हवाई टिकटिङ प्रणालीमा सुधार, हवाई टिकट तथा भ्याटसम्बन्धी समस्या समाधान, पर्यटकीय बसपार्क तथा अन्तरसहरी यातायात सञ्जाल विस्तारलगायत विषयलाई यो समूहले प्राथमिकतामा राखेको छ।
नयाँ पुस्ताका पर्यटन उद्यमी तथा साना व्यवसायीलाई प्रोत्साहन, अनधिकृत पर्यटन गतिविधि नियन्त्रण, प्रादेशिक पर्यटन विकास र हवाई सञ्जाल सुदृढीकरणसमेत प्रतिबद्धतापत्रमा समेटिएका छन्।
स्वाँ टुर्स एन्ड ट्राभलकी प्रबन्ध निर्देशक श्रेष्ठसँग दुई दशकभन्दा बढीको पर्यटन क्षेत्रको अनुभव रहेको छ। उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा हिमालयन क्लब टुर्स एन्ड ट्राभल्सका विष्णु पाण्डे उम्मेदवार छन्।
उपाध्यक्षमा प्रज्ञा पाठक शर्मा, महासचिवमा सुशील पन्त, सचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल र सहकोषाध्यक्षमा डा. विमला दाहाल उम्मेदवार छन्। कार्यसमिति सदस्यमा प्रदीप आचार्य, सुदर्शन गजुरेल, दिनेश घिमिरे, अनु राउत (अधिकारी) र रोजिना रञ्जितकार छन्।
नाट्टाको वर्तमान कार्यसमितिमा महासचिव रहेकी युबिका भण्डारी पनि अध्यक्ष पदको प्रतिस्पर्धामा छिन्। ‘पर्यटन उठे, नेपाल उठ्छ’ नारासहित उनी नेतृत्वको दौडमा उत्रिएकी हुन्।
शशिज होलिडेज इन्टरनेसनल ट्राभल एन्ड टुर्स प्रालिकी प्रबन्ध निर्देशक भण्डारीसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ। नाट्टाको कार्यसमितिमा रहेर पटक–पटक जिम्मेवारी सम्हालेको अनुभवलाई उनले नेतृत्वको आधार बनाएकी छन्।
उनको प्यानलले काठमाडौं उपत्यकासँगै गन्तव्य क्षेत्र तथा उपत्यकाबाहिरका पर्यटन व्यवसायीलाई समान प्राथमिकता दिने बताएको छ। नाट्टालाई प्रविधिमैत्री बनाउने, सरकारसँग नीतिगत समन्वय बलियो बनाउने र पर्यटन व्यवसायीको क्षमता विकासमा जोड दिने उसको एजेन्डा छ।
नाट्टालाई पर्यटन क्षेत्रकै अग्रणी संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता पनि भण्डारी समूहले जनाएको छ।
उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्ल्डवाइड टुर्स एन्ड ट्राभल्सका सञ्चालक वरुण मेहता उम्मेदवार छन्। उपाध्यक्षमा ढकनाथ ढकाल, महासचिवमा कृष्णप्रसाद ढकाल, सचिवमा श्रद्धा जोशी, कोषाध्यक्षमा रमाकुमारी प्याकुरेल र सहकोषाध्यक्षमा विदुर खतिवडा उम्मेदवार छन्।
कार्यसमिति सदस्यमा प्रदीपप्रसाद उदय, विवश पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत ढकाल, डा. उमेश गुप्ता, होमबहादुर परियार र राजेन्द्रप्रसाद त्रिपाठी उम्मेदवार छन्।
श्रेष्ठ र भण्डारीसँग प्रतिस्पर्धा गर्न भरतजंग पाण्डेले पनि आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन्। एभरेस्ट मिराकल ट्राभल एन्ड टुर्सका प्रबन्ध निर्देशक पाण्डेले ‘सशक्त नाट्टा, समृद्ध पर्यटन–सदस्यसँगै, सदस्यका लागि’ भन्ने नारासहित चुनावी अभियान अघि बढाएका छन्।
उनको प्यानलले नाट्टामा सुशासन, पारदर्शिता र सदस्य सहभागितालाई मुख्य आधार बनाएको छ। अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन विस्तार, हवाई टिकट, एयरलाइन्स तथा यातायात क्षेत्रका समस्या समाधान र सरकारी निकाय तथा दूतावाससँगको समन्वयलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै पर्यटन व्यवसायीको क्षमता विकास, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, डिजिटल नाट्टा निर्माण तथा इनबाउन्ड र बहुराष्ट्रिय टुर व्यवस्थापनमा सहजीकरण गर्ने योजना पनि पाण्डे समूहले अघि सारेको छ।
स्वच्छ पूर्वाधार र दिगो पर्यटन विकास, सदस्य हित संरक्षण, व्यवसाय सुदृढीकरण तथा नाट्टालाई आर्थिक रूपमा सबल र प्रभावकारी संस्था बनाउने उद्देश्य यो समूहले राखेको छ।
पाण्डे प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सोसाइटी ट्राभलका सुनिल शर्मा, उपाध्यक्षमा सविता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा दिकी शेर्पा र सहकोषाध्यक्षमा जीवन कोइराला उम्मेदवार छन्।
कार्यसमिति सदस्यमा दिनानाथ पाण्डे, दिनेश मैनाली, दीपक मरासिनी, नवीन गुरुङ, प्रकाश लोहनी, सरला सापकोटा, सुमनलाल श्रेष्ठ र स्वस्तिका प्रधान उम्मेदवार छन्।
नाट्टाको निर्वाचनमा तीनै प्यानलले पर्यटन व्यवसायको विस्तार, व्यवसायीका समस्या समाधान, सरकारसँग नीतिगत समन्वय र अन्तर्राष्ट्रिय बजार विस्तारलाई प्राथमिकता दिएका छन्। हवाई टिकटिङ, भ्याट, यातायात पूर्वाधार, डिजिटल प्रणाली र व्यवसायीको क्षमता विकास पनि साझा एजेन्डा बनेका छन्।
फरक भनेको यी विषयलाई कार्यान्वयन गर्ने शैली र संस्थागत प्राथमिकतामा देखिन्छ। श्रेष्ठ समूहले सुरक्षित व्यवसाय र संस्थागत सुदृढीकरणलाई जोड दिएको छ भने भण्डारी समूहले संस्थाभित्रको अनुभवलाई नीतिगत समन्वय र समान प्रतिनिधित्वसँग जोडेको छ। पाण्डे समूहले भने सुशासन, सदस्य सहभागिता र नाट्टाको संरचनागत रूपान्तरणलाई मुख्य मुद्दा बनाएको छ।
हाल नाट्टाको अध्यक्षमा कुमारमणि थपलिया छन्। अबको निर्वाचनले आगामी दुई वर्षका लागि नाट्टाको नेतृत्व मात्र चयन गर्ने छैन, पर्यटन व्यवसायीका तत्कालीन समस्या र बदलिँदो पर्यटन बजारसँग संस्थाले कसरी आफूलाई अघि बढाउँछ भन्ने दिशासमेत तय गर्नेछ।

