एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्छन्। सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरूलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यो सापटी सेवा अन्तर्गत आफ्नो मेन ब्यालेन्स रु ५ भन्दा कम भएका प्रिपेड ग्राहकहरुले १ दिन अर्थात २४ घन्टा समयसीमा भएको अनलिमिटेड डेटा सापटी लिन सक्छन्। कम्पनीले यो सुविधा पुस १ गतेबाट दिन थालेको हो।
समयसीमा १ दिन रहेको अनलिमिटेड डेटाको शुल्क कर सहित रु ५० रहेको छ। ग्राहकले यो डेटा सापटी लिएपछि २४ घन्टासम्म एनसेलको मोबाइल इन्टरनेट सेवाको फाइदा उठाउन सक्छन्।
यो १ दिने अनलिमिटेड डेटा सापटी लिन ग्राहकले स्टार९९८८स्टार४ह्यास डायल गरी लिन सक्छन्। सापटीमार्फत लिएको डेटाको शुल्क ग्राहकले ब्यालेन्स रिचार्ज गरेपछि काटिन्छ।
कर सहितको सेवा शुल्क रु २.४८ र १ दिने अनलिमिटेड डेटाको रु ५० गरि ब्यालेन्स रिचार्ज गर्दा कुल रु ५२.४८ काटिन्छ। सिम लिएर सेवा लिन थालेको कम्तिमा ३० दिन भएका ग्राहकहरुले यो डेटा सापटी लिन सक्छन्।
अनलाइनबाटै हाल जारी नेपाल प्रिमियर लिगका खेलहरु हेर्न लगायत इन्टरनेट सेवाको फाइदा लिन यो सुविधा धेरै उपयोगी हुने विश्वास एनसेलले लिएको छ। एनसेलले यो अनलिमिटेड डेटा बाहेक रु ४० ब्यालेन्स सापटी, ३ दिने १ जीबी डेटा सापटी, ३ दिन समयसीमाको ९० मिनेट अल नेपाल टक टाइम सापटी सुविधामार्फत प्रदान गर्दै आएको छ।

