गृहमन्त्री रमेश लेखक असफल बन्दै गएका छन् । उनले ठूला काण्ड बाहिर ल्याउन सकेका छैनन् भने विपत्तिमा गार्होमा परेको नागरिकलाई समेत सहयोग गर्न पनि सकेका छैनन् ।
गत असोजमा गएको पाढीपहिरोले जनता घरबारविहीन हुँदा र अधिकांशले ज्यान गुमाउँदा ती पीडितको पक्षमा कुनै ठोस कार्ययोजना ल्याउन सकेनन् । त्योसँगै गृहमन्त्री लेखकले जनतामा सुशासन र अमनचयन गराउन कुनै पहल गरेको पाइँदैन । विभिन्न ठगी काण्डका मुद्दा पनि त्यत्तिकै थाती रहेका छन् ।
त्यसमा गिरिबन्धु टिस्टेटको जग्गा काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, टिकापुरको जग्गा हिनामिना काण्ड, बालमन्दिरको जग्गा काण्ड, सेञ्चुरी कमर्सीयल बैंक ठगी काण्ड, बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना काण्ड जस्ता विवादित मुद्दाहरुको छानविन गर्न सकेका छैनन् ।
उल्टै रवि लामिछानेको मुद्दामा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध चितवनमा सडक आन्दोलन चर्काएर नारा लगाएपछि भीड नियन्त्रण गर्न नसकेको आरोपमा त्यहाँका एसपी र सिडिओलाई सरुवा गरेर तमासा देखाएका छन् ।
गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडीले पनि गृहमन्त्रालय चलायमान बनाउन सकेका छैनन् । गृहसचिवकै कारण गृहमन्त्री निकम्मा हुँदै गएको अनुमान लगाउन थालिएको छ । कतिपय सिडिओहरु सरुवा गर्दा मोलमोलाई गर्ने, जेष्ठता र क्षमतावानलाई पाखा लगाएर कनिष्ठहरुलाई मालदार ठाउँमा सरुवा गर्ने गरेर रकम असुली गरेको समाचार स्रोतको भनाइ छ । त्योसँगै प्रहरी प्रशासनलाई पनि राम्रोसँग चलाउन नसकेको आरोप गृहमन्त्री लेखकमाथि छ । यतिबेला प्रहरी प्रशासन कांग्रेस सभापति शेरबहादुर देउवाका साला भुषण राणाको इसारमा चलेको छ भने गृहमन्त्री लेखक देउवापत्नी तथा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको खटनपटनमा चल्ने गरेका छन् ।
गृहमन्त्री लेखकले गृहमन्त्रालय राम्रोसँग चलाउन नसकेको भन्दै कांग्रेसभित्रै असन्तुष्टि बढ्दै गएको छ । गृहमन्त्रालय अन्तर्गत पर्ने अध्यागन, भन्सार र सुरक्षा निकायको मिलेमतोमा अवैध रुपमा चोरीतस्करीको सामानहरु भित्रिने गरेको छ ।
त्यसमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडको पालामा राखिएका कर्मचारीहरुको सेटिङ हुने गरेको बताइन्छ । यस्तो सम्वेदनशील क्षेत्रबाट अवैध तरिकाले भन्सार छली गरेर ल्याइएका सामानहरु कार्गोमार्फत् पार गरिँदै आइएको छ । एयरपोर्टमा तैनाथ सुरक्षा निकायले त्यस्ता विषयमा ध्यान दिएको छैन । दीपावली सुरु नहुँदै उपत्यकाभित्रका अधिकांश ठाउँहरुमा जुवा, तास खेल्ने र दिउँदै मादक पद्धार्थ सेवन गरेर होहल्ला गर्नेको भीड त्यत्तिकै छ । अधिकांश जुवा, तास खेलाउने ठाउँहरु सुरक्षा निकायकै संरक्षण रहने गरेका छन् ।
त्यतातिर न त गृहमन्त्रालयले ध्यान दिएको छ, न त सम्बन्धित क्षेत्रमा खटिएका सुरक्षा निकायले नै ध्यान दिएका छन् । उल्टै तिनै जुवा, तास खेल्ने र खुलाउनेहरुलाई संरक्षण दिएर फाइदा लिइरहेका छन् ।

