‘फुटबलका पेले’ भन्ने कृष्णगोपाल श्रेष्ठ केपी ओलीमाथि खनिए

समाचार सारांश
Auto Generated by AI
  • एमाले केन्द्रीय बैठकमा पार्टी सञ्चालन विधिको विषयलाई लिएर अध्यक्ष ओलीसँग कृष्णगोपाल श्रेष्ठको चर्काचर्की परेको छ।
  • बैठक महासचिवले सञ्चालन गर्नुपर्ने माग राख्दै ओलीको कार्यशैलीप्रति आक्रोशित बनेका श्रेष्ठले बैठक बहिष्कार गरेर बाहिरिएका छन्।
  • कुनै समय ओलीका कट्टर समर्थक रहेका श्रेष्ठले पटक-पटक अपमानित हुनुपरेको गुनासो गर्दै आफ्नो धैर्यको सीमा नाघेको बताएका छन्।

काठमाडौं । पाँच वर्षअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको बचाउमा ‘केपी ओली फुटबलका पेलेजस्तै’ भन्दै खुलेर उभिएका कृष्णगोपाल श्रेष्ठ उनै ओलीसँग बैठक सञ्चालनको विधिलाई लिएर आमनेसामने भएका छन् ।

ललितपुरको भनिमण्डलमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले आफैं बैठक सञ्चालन गर्न थालेपछि श्रेष्ठले आपत्ति जनाएका हुन् । केन्द्रीय कमिटी बैठक महासचिवले सञ्चालन गर्ने प्रचलन रहेको भन्दै उनले ओलीलाई विधि–प्रक्रियाअनुसार अघि बढ्न आग्रह गरेका थिए ।

‘यो काम महासचिवको हो । तपाईंले सञ्चालन गर्न मिल्दैन । विधि–प्रक्रिया अनुसार जानुपर्छ,’ श्रेष्ठले भनेका थिए ।

ओलीले उनलाई बस्न आग्रह गर्दै ‘तपाईं अहिले बोल्न मिल्दैन’ भनेपछि श्रेष्ठ थप आक्रोशित भएका थिए । उनले ‘तपाईं मलाई रोक्ने को हो? पार्टी तपाईंको मात्रै हो?’ भन्दै प्रतिवाद गरेपछि बैठकस्थलमा चर्काचर्की भएको थियो ।

स्वयंसेवकहरूले श्रेष्ठलाई रोक्न खोजेपछि उनले उनीहरूसँग समेत प्रतिवाद गरेका थिए । त्यसपछि पत्रकारहरूलाई बैठकस्थलबाट बाहिर पठाइएको थियो । केहीबेरपछि श्रेष्ठ पनि बैठकबाट बाहिरिए र आफूले बैठक बहिष्कार गरेको बताए ।

सोमबार राति घटनाबारे प्रतिक्रिया दिँदै श्रेष्ठले आफू लामो समयदेखि ओलीप्रति निष्ठावान् रहे पनि पछिल्लो व्यवहारले धैर्यको सीमा नाघेको बताएका छन् ।

‘उहाँले नै श्रद्धाञ्जलि दिनुभयो, उहाँले नै कार्यक्रम सञ्चालन गर्नुभयो, उहाँले नै एजेन्डा ल्याउनुभयो । मेरो धैर्यको बाँध टुट्यो अनि मैले प्रतिवाद गरेँ,’ उनले भने ।

श्रेष्ठले ओलीबाट आफू अपमानित हुँदै आएको गुनासोसमेत गरे । ‘मैले ओलीका नाममा जीवन नै समर्पण गरेँ भन्दा हुन्छ । तर म उहाँबाट कति अपमान हुनुपर्‍यो, त्यो सबैले देखेका छन्,’ उनले भने ।

ओलीसँगको उनको राजनीतिक निकटता भने नयाँ होइन । २०७८ सालमा शिक्षामन्त्री रहेका बेला उनले सार्वजनिक कार्यक्रममै ‘केपी ओलीलाई हटाउने कोही माइकालाल छ?’ भन्दै ओलीको बचाउ गरेका थिए ।

तर एमालेको ११औं महाधिवेशनमा श्रेष्ठले ओली समूहबाट अलग हुँदै वरिष्ठ नेता ईश्वर पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका थिए । त्यसबेला उनले आफ्नो उम्मेदवारी व्यक्तिविरुद्ध नभई पार्टीभित्रको कार्यशैली र संस्कार परिवर्तनका लागि भएको बताएका थिए ।

सोमबारको घटनाले श्रेष्ठको राजनीतिक यात्रामा आएको यो परिवर्तनलाई फेरि सतहमा ल्याएको छ । कुनै समय ओलीको राजनीतिक बचाउमा अग्रपंक्तिमा रहेका श्रेष्ठ अहिले उनै ओलीलाई पार्टी सञ्चालनको विधि र प्रक्रियाको प्रश्न उठाउँदै प्रतिवाद गर्ने अवस्थामा पुगेका छन् ।

‘अति भएपछि प्रतिवाद गरेको हुँ,’ श्रेष्ठले भने, ‘यसको जबाफ भोलिका दिनमा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

कमजोर कम्पनीलाई ओइपीओ ल्याउनै नदिइने, नयाँ मापदण्ड तय

यती एअरलाइन्सको २८ वर्षे यात्रा पूरा : पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा

दसैँको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्छ ?

सेयरमा हुने नाफामा पुँजीगत लाभकर ५०% छुट दिने निर्णय कार्यान्वयनमा

सरकारको आम्दानी भन्दा खर्च ९ अर्बले बढी

छुटाउनुभयो कि ?