चालु आर्थिक वर्ष २०८१/८२ तेस्रो त्रैमास (माघ-चैत) मा अर्थतन्त्र ४.८ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आव २०८०/८१ को सोही त्रैमासको तुलनामा अर्थतन्त्रमा यस्तो विस्तार हुने अनुमान गरिएको हो । यो त्रैमासमा अर्थतन्त्रका सबै क्षेत्र धनात्मक हुने अनुमान छ । यो अवधिमा निर्माण क्षेत्रले गति लिएको देखिएको छ ।
साथै, विद्युत् उत्पादन तथा वितरणमा वृद्धि, वित्तीय तथा बीमा क्षेत्रमा भएको वृद्धि, खानी तथा खनीज पदार्थको उत्खनन्मा भएको वृद्धिले अर्थतन्त्र विस्तारमा सकारात्मक भूमिका खेलेको कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिए ।

