काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये आन्तरिक ऋणको साँवा भुक्तानीका लागि २ खर्ब ५० अर्ब रुपैयाँ विनियोजना गरेको हो । त्यस्तै आन्तरिक ऋणको ब्याज भुक्तानीमा ९२ अर्ब ९६ करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आन्तरिक ऋणको सावाँ र ब्याज भुक्तानीको लागि मात्रै ३ खर्ब ४३ अर्ब ५७ करोड विनियोजन भएको छ ।
यस्तै बाह्य ऋणतर्फ बहुपक्षीय वैदेशिक ऋणको ब्याज तिर्न लागि ११ अर्ब ७१ करोड र द्विपक्षीय वैदेशिक ऋणका लागि ३ अर्ब ८६ करोड गरी कुल १५ अर्ब ५७ करोड रूपैयाँ विनियोजन भएको छ । यस्तै बहुपक्षीय वैदेशिक ऋणमा ३७ अर्ब ६९ करोड र द्विपक्षीय वैदेशिक ऋणमा १४ अर्ब १९ करोड रुपैयाँ सहित वैदेशिक ऋणको सावाँ भुक्तानी गर्न ५१ अर्ब ८८ करोड विनियोजन भएको छ ।
सरकारले सार्वजनिक ऋणको ब्याज भुक्तानीको लागि १ खर्ब ८ अर्ब ५४ करोड विनियोजन गर्दा सावाँ भुक्तानीका लागि ३ खर्ब २ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको हो ।
वैदेशिक ऋणतर्फ आगामी आर्थिक वर्षमा बहुपक्षीय ऋणमध्ये एशियाली विकास बैंकको साँवा १६ अर्ब र ब्याज ५ अर्ब सहित २१ अर्ब भुक्तानी गर्न बजेट विनियोजना भएको हो । यसैगरी अन्तर्राष्ट्रिय विकास संस्थाको सावाँ १६ अर्ब ५० करोड र आगामी आर्थिक वर्षको ब्याज ६ अर्ब समेत २० अर्ब ५० करोड भुक्तानी गर्न विनियोजन भएको हो । ओपेकको सावाँ १ अर्ब ६० करोड र ब्याज २० करोड तिरिने भएको छ ।
आगामी आर्थिक वर्षमा युरोपेली आर्थिक समुदायको ४ करोड, अन्तर्राष्ट्रिय कृषि विकास कोषको ८० करोड, नर्डिक विकास कोषको २० करोड, अन्तर्राष्ट्रिय मुद्रा कोषको १ अर्ब ६५ करोड, युरोपेली इन्भेष्टमेन्ट बैंकको ८० करोड, एनआईआईबीको १० करोड सावाँ भुक्तानी गर्न बजेट विनियोजन भएको छ । ब्याज भुक्तानीतर्फ युरोपेली आर्थिक समुदायको १ करोड, अन्तर्राष्ट्रिय कृषि विकास कोषको १२ करोड, नर्डिक विकास कोषको ३ करोड १५ लाख, युरोपियन इन्भेष्टमेन्ट बैंकको १३ करोड, एनआईआईबीको २२ करोड ब्याज भुक्तानी गर्न बजेट विनियोजन भएको छ ।
नेपालले लिएको बाह्य ऋणमध्ये द्विपक्षीय वैदेशिक ऋणमा आगामी आर्थिक वर्षमा जापानको २ अर्ब ७५ करोड, कुवेतको १६ करोड, साउदी अरेबियाको ६० करोड फ्रान्सको ७ करोड, बेल्जियमको १ करोड र अन्य १० अर्ब ६० करोड विनियोजन साँवा तिरिने भएको छ । द्विपक्षीय वैदेशीक ऋणको ब्याज भुक्तानीतर्फ जापानको १४ करोड ८० लाख, कुवेतको १३ करोड, साउदी अरेबियाको ६ करोड ५० लाख, फ्रान्सको २ करोड र थप व्यवस्था १४ करोड १० लाख विनियोजन भएको हो ।
सरकारले चालु आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब आन्तरीक ऋण उठाउने गर्ने लक्ष्य लिएको छ । आन्तरिक ऋणको सावाँ भुक्तानीका लागि २ खर्ब ५० अर्ब ५९ करोड विनियोजना भएको छ । यस आधारमा करिब १ खर्ब ११ अर्ब रुपैयाँ खुद आन्तरिक ऋण लिने लक्ष्य लिएको देखिन्छ ।

