एनसेलले नेपाली बजारमा २ दशक पूरा गरेको छ। २ दशक लामो विश्वसनीय सेवा, आक्रामक बजार विस्तार र सेवाको मूल्य गिरावटमा एनसेलको योगदानले यो अहिले प्रमुख लोकप्रिय टेलिकम बनेको छ।
सरकारी स्वामित्वको एक मात्र दूरसञ्चार कम्पनीसँग एनसेलको प्रतिस्पर्धाले नेपालका दुर्गम क्षेत्रमा जीएसएम नेटवर्क र फोरजी विस्तार भएको छ। एनसेल नेपालको पहिलो निजी क्षेत्रबाट सञ्चालित जीएसएम दूरसञ्चार सेवा प्रदायक हो।
यसले सन् २००४ मा स्थापना भई २००५ बाट आफ्नो सेवा सुरु गरेको थियो।
सन् २००५ मा एनसेलले नेपाली बजारमा सेवा सुरु गर्दा ६ प्रतिशतसँग मात्रै सिम थियो। अहिले एनसेलका ग्राहक नै १ करोड ६० लाख छन्। नेपालमा मोबाइल प्रयोगकर्ता ११५ प्रतिशत पुगेका छन्।
नेपालमा एनसेलले नै जीएसएम नेटवर्क र ईडीजीई, थ्रिजी प्रविधिको सुरुवात गरेको थियो। सन् २०१० मै थ्रिजी ल्याएको एनसेलले डेटालाई अझै द्रुत बनाउन २०१७ मा फोरजी स्थापना गर्यो। यसले नेपालमा इन्टरनेट गति बढ्न पुगी सहजै डिजिटल सिस्टम सुरु गर्न सहयोगी बन्यो।
‘नेपालको ईकमर्स, टेलिमेडिसिन, इन्टरनेट/मोबाइल बैंकिङ सेवासँगै सूचना प्रविधि क्षेत्रमा फड्को मार्न एनसेलको मुख्य भूमिका रह्यो’, एनसेलका एक अधिकारीले भने।
नेपालको ९० प्रतिशत क्षेत्रमा फोरजी कभरेज रहेको छ तर १० प्रयोगकर्तामध्ये २ जनाले मात्रै दैनिक रुपमा डेटा प्रयोग गर्छन्। यो भनेको दक्षिण एसियाभरकै सबैभन्दा कम डेटा प्रयोग हो। मोबाइल प्रयोगकर्तामध्ये १३ प्रतिशतले मात्रै नियमित डेटा प्रयोग गर्छन्। धेरै पैसा काट्ने डरले कतिपयले डेटा चलाउने गरेका छैनन्।
एनसेलका लगानीकर्ता फेरिए पनि सेवा निरन्तर छ। लगानीकर्ता फेरिँदा विभिन्न विवाद आए पनि बजारमा नयाँ प्रोडक्ट ल्याएर एनसेलले आफुलाई प्रमुख प्रतिस्पर्धीका रुपमा राखिरहेको छ।
सन् २०२३ डिसेम्बर १ बाट बेलायतमा दर्ता रहेको स्पेक्ट्रलाइट युके लिमिटेड नयाँ लगानीकर्ताको रुपमा भित्रिएको छ। उसले आजियटा ग्रुपअन्तर्गतको अराइनोल्ड होल्डिङ लिमिटेड युकेको शतप्रतिशत सेयर खरिद गरेको छ। जुन एनसेलको करिब ८० प्रतिशत सेयर हो।
नेपालमा कम्पनी स्थापना हुँदा मेरो मोबाइलबाट ब्रान्डिङ सुरु गरिएको थियो। मेरो मोबाइल सन् २००८ मा स्विडेनको कम्पनी टेलिया सोनेरा ग्रुपले खरिद गरी सन् २०१० मा रि–ब्रान्डिङ गरेपछि एनसेल जन्मियो।
फेरि सन् २०१६ मा स्विडेनको कम्पनीसँग मलेसियन आजियटा ग्रुप ब्रेहादले सेयर खरिद गर्यो। ७ वर्षपछि लगानीको वातावरण नभएको भन्दै आजियटा बाहिरियो र अहिले एनसेलमा नयाँ लगानीकर्ता भित्रिएको छ।
प्राइभेट कम्पनीका रुपमा रहेको यो सन् २०२० मा एनसेल आजियटा लिमिटेड नाम राखेर पब्लिक कम्पनीको रुपमा स्थापना भएको छ।
दुई दशकमा एनसेलले ३ खर्ब २० अर्बभन्दा बढी राजस्व तिरिसकेको छ। एनसेलले देशको एक सबैभन्दा ठूलो करदाताका रुपमा योगदान गरिरहेको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा मात्र कम्पनीले विभिन्न कर तथा शुल्कहरुअन्तर्गत २० अर्बभन्दा बढी सरकारलाई तिरेको छ। सन् २०१६ मा आजियटाले एनसेलको सेयर खरिद गर्दा ४७ अर्ब रुपैयाँ पुँजीगत लाभकर तिरेको छ। प्रत्यक्ष, अप्रत्यक्ष गरी करिब २५ हजार जनालाई रोजगारी दिएको छ।
उत्तरदायित्वअन्तर्गत २ अर्बभन्दा बढी योगदान गरी सामाजिक विकासमा काम गरेको छ। एनसेलले मुख्यगरी शिक्षा, वातावरण र स्वास्थ्य क्षेत्रमा बढी खर्च गरेको छ। कलंकी–कोटेश्वर विस्तार भएको चक्रपथमा ग्रिन बेल्ट निर्माण, टेलिमेडिसिन, व्यक्तिगत स्वास्थ्य कार्यक्रम सेवा सञ्चालन गरेको छ। देशभर ६० हाईटेक डिजिटल आईटी ल्याब स्थापना गरेको छ।
एनसेलले बिजनेस रिजिलेन्स अवार्ड २०२४, फास्टेस्ट मोबाइल नेटवर्क इन नेपाल २०२२, एसियन टेलिकम अवार्ड २०२२, एक्सिलेन्स इम्प्लोयर अवार्ड २०२२, टीएम फोरम २०२१ क्याटालिस्ट, वल्र्ड कम्युनिकेसन अवार्ड २०२१ लगायत एक दर्जन अवार्ड पाएको छ।

