उद्योगमन्त्री दामोदर भण्डारीले भने- साल्ट ट्रेडिङलाई कृत्रिम अभाव अन्त्य गरी सहज आपूर्ति गर्नसक्ने संस्था बनाउनुपर्छ

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोग्य वस्तुको अभाव हुन नदिएर साल्ट ट्रेडिङ जनता र सरकारको विश्वासिलो संस्थाका रुपमा उभिन सक्नुपर्ने बताएका छन् ।

‘साल्ट ट्रेडिङ जनताको विश्वासिलो संस्था बन्न सकोस्, ‘अब दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन साल्ट ट्रेडिङ मेरो साथमा छ’ भनेर आमजनतालाई विश्वास दिलाउनुपर्छ’, आज राजधानीमा आयाेजित नेपाल साल्ट ट्रेडिङ्ग कर्पोरेशनकाे ६२ औँ वार्षिकोत्सव समारोहलाई सम्बाेधन गर्दै मन्त्री भण्डारीले भने,‘उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वभाविक मूल्यवृद्धि हुन नदिन यस संस्थाले उपभोग्य बजारमा गतिलो हस्तक्षेप गर्नुपर्छ ।’

उनले सेवा प्रवाह, बजारीकरण, दायरा र व्यापार वृद्धि गर्न प्रविधिको प्रयोगलाई बढावा दिनुपर्नेतर्फ सचेत गराउँदै मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्न तथा रासायनिक मलको सहज आपूर्तिमा यसले नेतृत्वयादी भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘साल्ट ट्रेडिङ यस्तो ब्राण्ड बनोस्, कि नामै काफी होस्, यसको उत्पादन आफ्नै ब्राण्ड बनोस्’, उनले भने । मन्त्री भण्डारीले व्यवसाय विस्तारका योजना बनाउन व्यवस्थापन र कर्मचारीलाई निर्देशनसमेत दिए । ‘सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउँदै उच्च गुणस्तरको उपभोग्य वस्तुको आपूर्तिमा व्यवस्थापनले ध्यान दिनुपर्छ’, उनले भने, ‘कर्पोरेसनलाई नेपालको भरपर्दो र विश्वासिलो तथा कृत्रिम अभाव अन्त्य गरी सहज आपूर्ति गर्नसक्ने संस्था बनाउनुपर्छ ।’

मन्त्री भण्डारीले आपूर्ति बजारमा साल्ट ट्रेडिङको भूमिका अपरिहार्य रहेको र अप्ठ्यारो अवस्थामा अत्यावश्यक वस्तुको उपलब्धता सहज बनाउन संस्थाले उल्लेख्य काम गरेको स्मरण गरे । ‘अब बजार संकुचन होइन, विस्तार र व्यावसायिकीकरणमा लाग्नुपर्छ, साल्ट्र ट्रेडिङसँग प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने बनाउनुपर्छ’, उनले भने, ‘प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल र व्यावसायिकरुपमा उभ्याउनुपर्छ, व्यावसायिकता र सेवा प्रवाहलाई थप परिस्कृत गरेर लैजानुपर्छ ।’

कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले गुणस्तरीय दैनिक उपभोग्य वस्तु सर्वसुलभ रुपमा जनताको घरदैलोमा पुर्‍याउन क्रियाशील रहेको बताए । उनले आगामी दिनमा कर्पोरेसनको सेवा थप प्रभावकारी बनाइने बताए । उनका अनुसार सरकारले दिएको निर्देशनहरु मान्न कर्पोरेस तयार छ र , थप व्यवसायीक विस्तार गरेर जाने तयारीमा कर्पोरेशन लाग्नेछ ।

कर्पोरेसनका प्रमुख कार्यकारी अधिृकत उर्मिला श्रेष्ठले आमजनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिइन । ‘विगतमा आएको ठूलो भुकम्प र कोभिडको समयमा हामीले आम उपभोक्ताको घरदैलोसम्म सेवा पुर्‍याउन सकेकोमा हामी गौरवान्वित भएका छौं,’ उनले भनिन् । श्रेष्ठका अनुसार साल्ट टेडिङ कर्पोरेशन आफ्नो सेवाका साथै नेपाल सरकारले समयसमयमा दिएका जिम्मेबारी पुरा गर्नमा समेत प्रतिबद्ध हुँदै आएको छ ।

साल्टले वार्षिकोत्सवको अवसरमा एव विशेष समारोहका बिच यस वर्ष पनि विभिन्नि विधामा सम्मान गरेको छ । उद्योगमन्त्री दामोदर भण्डारी, साल्ट टेडिङ्ग कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सीईओ उर्मिला श्रेष्ठलगायतले विभिन्न विधामा पुरस्कृत हुनेलाई सम्मान गरे ।

ताम्रपत्रसहित रु एक लाख राशिको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ यसवर्षका लागि मानव कल्याण समाज काभ्रेपलाञ्चोक तथा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अंक ल्याउने कर्मचारीका सन्तति दुई जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

यसवर्ष ‘साल्ट टेडिङ्ग अनङ्गमान शेरचन छात्रबृति’ बाट प्रदेश कार्यलय भैरहवाका कर्मचारी सुनिता गौतमका छोरा जतिन गौतमलाई दिइएको छ । ‘साल्ट टेडिङ्ग लोकनाथ जोशी छात्रावृत्ति’ प्रदेश कार्यालय काठमाडौंका कर्मचारी राजन लामाकी छोरी निमासङ लामालाई प्रदान गरिएको छ । छात्रवृत्ति पाएकाहरुलाई प्रमाणपत्र सहित मासिक रुपमा ५ हजार दरले २ वर्षसम्म उपलव्ध गराइने साल्ट टेडिङ कर्पोरेसनकी सीइओ श्रेष्ठले बताइन ।

यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी प्रबन्धक टुलेश्वर प्रसाद साह, नन्अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने प्रदेश कार्यालय, बिराटनगरमा कार्यरत कर्मचारी प्रमुख सहायक बसन्त कुमार यादव तथा स्तरबिहिन तर्फ केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक तृतीय याम बहादुर मगरलाई हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारी सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराई, ननअधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने डिपो कार्यालय डोल्पामा कार्यरत कर्मचारी प्रमुख सहायक प्रकाश बहादुर धामी तथा स्तरबिहिन तर्फ प्रदेश कार्यालय, पोखरामा कार्यरत कर्मचारी कार्यालय सहयोगी द्धितिय धन बहादुर झाकी मगरलाई ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरेको छ । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्र सहित नगद रु.४० हजार र हेम बाहदुर मल्ल उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्र सहित रु.३५ हजार उपलब्ध गराईएको थियो ।
कर्पोरेशनले नून जस्तो अत्यावश्यक वस्तु दूरदराजका उपभोक्ताहरु माझ सर्वसुलभ रुपमा गराउन सघाएको भन्दै ठूली भेरी नगरपालिका डोल्पाका समाजसेवी डिल बहादुर मल्ललाई सम्मान पनि गरेको छ । मल्लले आफ्नो स्वामित्वको ३ कठ्ठा जग्गा कर्पोरेशनको भवन निर्माण गर्न निशुल्क उपलब्ध गराएका थिए ।

यस्तै कर्पोरेसनका विभिन्न कार्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृतका साथै २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई कदरपत्र प्रदान गरिएको थियो । नेपाल साल्ट ट्रेडिङ्ग कर्पोरेशनले आफ्नो ६२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम समेत गरेको थियो ।

कम्पनीले नेपाल रेडक्रस सोसाइटीको संलग्नातामा गत आइतबार आफ्नो केन्द्रीय कार्यालय कालिमाटीमा रक्तदान कार्यक्रम गरेको थियो । मिर्गौला रोग समाजलाई सहयोग गर्नको लागि कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ । कम्पनीका विभागीय प्रबन्धक ब्रजेश झाका अनुसार ५६ जना बढीले रक्तदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?