काठमाडौं । नेपालमा चिनियाँ विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेका बेला भारतीय अटो व्यवसायीहरुले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन् ।
नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छा नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री पौडेलसंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ ।
पछिल्लो समय नेपालमा चिनियाँ विद्युतीय सवारीको उपस्थिति बढेसँगै भारतीय अटो व्यवसायी सक्रिय बनेका हुन् ।
सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्सका सहसभापति यशपाल साँच्चरको नेतृत्वमा काठमाडौं आइपुगेको सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्सका २५ सदसीय प्रतिनिधि मण्डलले उपप्रधान तथा अर्थमन्त्री पौडेलसँग भेटगरी नेपालमा अटोमोवाइल उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्ने, लगायतका विभिन्न विषयहरुका सम्बन्धमा विशेष छलफल गरेको छ ।
नाडा र सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्सको संयुक्त प्रतिनिधिमण्डलले सोही दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र उद्योग, वाणिज्य तथा आपूतिमन्त्री दामोदर भण्डारीसँग पनि मन्त्रालयमा सोही विषयमा सार्थक छलफल गरेको जनाएको छ ।

