दशैँ नजिकिएसँगै अटो बजारमा आकर्षक अफर, कसले के गर्दैछन् ?

दशैँ नजिकिएसँगै अटोमोबाइल व्यवसायीहरूले विभिन्न आकर्षक अफर सार्वजनिक गर्न थालेका छन्।

बजारमा सवारीसाधनको माग बढाउने उद्देश्यले व्यवसायीहरूले नगद छुट, विशेष मूल्य, एक्सचेन्ज सुविधा, निःशुल्क बीमा तथा कर छुटलगायतका योजनालाई प्राथमिकता दिएका हुन्।

दशैँलाई नेपाली अटोमोबाइल बजारमा सवारीसाधन बिक्रीका लागि मुख्य सिजनका रूपमा लिइन्छ।

लामो समयदेखि बजारमा देखिएको सुस्तता हटाउँदै दशैँको बढ्दो उपभोग मागलाई बिक्रीमा रूपान्तरण गर्न व्यवसायीहरूले नयाँ–नयाँ योजना सार्वजनिक गर्ने गरेका छन्। यस वर्ष पनि विभिन्न ब्रान्डका आधिकारिक बिक्रेताले दशैँलक्षित योजना ल्याउन थालेकाले बजार क्रमशः चलायमान हुने अपेक्षा गरिएको व्यवसायीहरुले बताएका छन्।

अटोमोबाइल व्यवसायीहरूका अनुसार दशैँका बेला आम्दानी तथा खर्च गर्ने क्षमता बढ्नुका साथै नयाँ सवारीसाधन खरिद गर्ने उपभोक्ताको मनोविज्ञानसमेत बलियो हुन्छ। विशेषगरी परिवार तथा आफन्तसँग भेटघाट र लामो दूरीको यात्रा गर्ने समयमा नयाँ सवारीसाधन खरिद गर्ने चाहना बढ्ने भएकाले व्यवसायीहरूले यही अवसरलाई लक्षित गरेर बिक्री योजना सार्वजनिक गर्छन्। जसले उपभोक्तालाई अन्य सिजनभन्दा पनि चाडपर्वको अवसरमा नयाँ सवारी किन्न प्रेरित गर्छ।

दशैँमा सार्वजनिक गरिने अफरको उद्देश्य केवल छुट दिएर बिक्री बढाउनु मात्र नभई सम्भावित ग्राहकलाई खरिदको निर्णय लिन उत्प्रेरित गर्नु पनि हो। बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा एउटै मूल्य वा मोडलका सवारीसाधन उपलब्ध गराउने व्यवसायीबीच ग्राहक तान्ने प्रतिस्पर्धा हुने भएकाले चाडपर्वका अफर त्यसको महत्वपूर्ण माध्यम बन्ने गरेको व्यवसायीहरु बताउँछन्।

यस वर्ष चाडपर्व अफरअन्तर्गत अटोमोबाइल कम्पनीले १२ लाख रुपैयाँसम्म छुटमा कार उपलब्ध गराइरहेका छन्। सीजी मोटर्सले १२ लाख रुपैयाँ छुटसम्ममा एक्सपेङ ६ उपलब्ध गराइरहेको छ।

एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले ग्राहकका लागि विशेष चाडपर्व अफर ‘ड्राइभ मोर, सेलिब्रेट मोर’ सार्वजनिक गरेको छ।

असोज ६ गते देखि छठ पर्वसम्म लागू हुने यस योजनाअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्नेछन् भने निःशुल्क अटो प्लस इन्स्योरेन्स, निःशुल्क रोड ट्याक्स, इजी एक्सचेन्ज र इजी फाइनान्स जस्ता सुविधा पाउनेछन्।

यसअनुसार अफरमा एमजी एचएस पीएचईभी/ एचईभी, एमजी यू९ ईभी, एमजी आईएम६, एमजी एस६ ईभी, एमजीएस५ ईभी र एमजी ४ लगायतका मोडलहरू समावेश छन्।

हालै नेपाली बजारमा सार्वजनिक गरिएको एमजी एचएस पीएचईभी/एचईभीले आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ। त्यसैगरी एमजी यू९ ईभी क्षमता र बहुउपयोगिताका लागि तयार गरिएको फोरह्विल्ड इलेक्ट्रिक पिकअप हो।

त्यसैगरी, एमजीएस६ ईभीमा १८० किलोवाट मोटर, आरडब्लुडी, इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा ५३० किलोमिटरसम्मको रेन्ज रहेको छ।

त्यस्तै, ग्राहकमाझ लोकप्रिय एमजीएस५ ईभी ४३ लाख ९९ हजार रुपैयाँदेखि आकर्षक मूल्यमा उपलब्ध रहेको र आरडब्लुडी तथा इन्डिपेन्डेन्ट रियर सस्पेन्सनसहित आफ्नो सेग्मेन्टमा आकर्षक विकल्पका रूपमा प्रस्तुत गरिएको छ। यससँगै ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार विभिन्न प्रकारका हाइब्रिड तथा विद्युतीय गाडीमध्ये उपयुक्त मोडल छनोट गर्न सक्नेछन्।

जिली अटो ग्रुपको ईभी ब्रान्ड रिडाराले चाडपर्वलक्षित अभियान ल्याएको छ। कम्पनीले ‘फेस्टिभ एडभेन्चर्स अवेट’ अभियान ल्याएको हो।

अभियानअन्तर्गत रिडारा इकन ईभी पिकअप खरिद गर्ने ग्राहकले उपहार र बम्पर पुरस्कार जित्न सक्नेछन्।

रिडारा इकन खरिद गर्ने ग्राहकले नथिङ फोन ए४ प्रो पक्का उपहार पाउनेछन् भने एक भाग्यशाली ग्राहकले बम्पर पुरस्कारमा मोटरसाइकल जित्न सक्ने कम्पनीले जनाएको छ। रिडारा इकनमा २२५ एमएमको न्यूनतम ग्राउन्ड क्लियरेन्स, ४८५ एनएम पिक टर्क र १ हजार २ सय ३५ किलोसम्मको भारवहन क्षमता छ।

यसमा ब्याट्री सुरक्षाका ६ वटा प्रमुख प्रविधि तथा धूलो र पानीबाट सुरक्षा प्रदान गर्ने आईपी६८ रेटेड ब्याट्री प्याक उपलब्ध छ।

यो अभियान असोज ६ देखि सुरु भइसकेको छ भने कात्तिक २९ गतेसम्म चल्नेछ। यसमा नियम र शर्त लागू हुने कम्पनीले जनाएको छ।

जीडब्लूएम नेपालले दशैँ, तिहार लगायत चाडपर्वलाई लक्षित गर्दै ‘जीडब्लूएम फेस्टिभ अफर, गो विथ मोर’ योजना सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत जीडब्लूएमका विद्युतीय एसयूभी ओरा फाइभ र हाभल जोलियन म्याक्स ईभी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मका विभिन्न लाभ पाउनेछन्।

नेपालका लागि जीडब्लूएमको आधिकारिक बिक्रेता भीजी इम्पेक्सका अनुसार ग्राहकले ओरा फाइभ ईभी खरिदमा २ लाख रुपैयाँसम्म लाभ पाउनेछन्।

त्यस्तै, हाभल जोलियन म्याक्स ईभी खरिदमा ३ लाख रुपैयाँसम्मका लाभ उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अफरमा फ्री कम्प्रिहेन्सिभ इन्स्योरेन्स, सडक दस्तुर, स्पेयर टायर तथा ७ किलोवाटको चार्जर र एसेसरिज समावेश छन्।

हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेस्टिभ अफर अन्तर्गत हुन्डाईका गाडीमा सिधै ३ लाखसम्म रुपैयाँसम्मको आकर्षक नगद छुट दिएको छ। त्यस्तै, ग्राहकले हुन्डाईका गाडी खरिद गर्दा स्क्रयाच कार्ड मार्फत ५ लाख रुपैयाँसम्म नगद छुट जित्ने अवसर पाउनेछन्।

त्यस्तै, ग्राहकले नयाँ गाडी खरिदमा १ वर्षको अटो प्लस इन्स्योरेन्स र सडक कर निःशुल्क पाउने छन्। साथै, कम्पनीले हरेक हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध गराएको छ।

आइकारको आधिकारिक बिक्रेता एसपिजी अटोमोबाइल्सले आकर्षक र लोकप्रिय लाइफस्टाइल इलेक्ट्रिक एसयूभी आइकार भी २३ मा २ लाख रुपैयाँ नगद छुट उपलब्ध गराइरहेको छ।

फेस्टिभ अफर अन्तर्गत उपभोक्ताले ५१ लाख ९९ हजार रुपैयाँमै आइकार भी २३ किन्न पाउनेछन्। अफर अघि आइकार भी २३ को मूल्य ५३ लाख ९९ हजार रुपैयाँ छ।

कम्पनीले नगद छुटका साथै ११ वर्षसम्मको एक्सटेन्डेड वारेन्टी, १ वर्षको वार्षिक कर, १ वर्षको इन्स्योरेन्स र ७ किलोवाटको वाल माउन्ट एसी चार्जर पनि निःशुल्क दिनेछ ।

ओमोडा एण्ड जेको एसपिजी अटोमोबाइल्सले मेगा फेस्टिभ ड्राइभ अन्तर्गत नगद छुटमा ओमोडाका गाडी उपलब्ध गराइरहेको छ।

कम्पनीले ओमोडा ई फाइभको दुवै भेरियन्टमा १ लाख रुपैयाँ छुट दिएको छ। अफर अन्तर्गत ओमाडा ई५ प्रो ५० लाख ९९ हजार रुपैयाँ र ई५ ५५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध छ।

त्यस्तै, जेको जे फाइभ ३ लाख रुपैयाँ छुटमा उपलब्ध छ। अफर अन्तर्गत जेको जे५ प्रो ४८ हजार ९९ हजार रुपैयाँ र जेको जे५ ५५ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराइएको छ।

यस्तै जे६ टीमा २ लाख रुपैयाँ छुट दिएको छ। अफर अन्तर्गत जे६ टीको मूल्य ६९ लाख ९९ हजार रुपैयाँमा तोकिएको छ। कम्पनीले तीनै कारमा १ वर्षको वार्षिक कर, १ वर्षको बीमा र ७ किलोवाटको वाल चार्जर निशुल्क उपलब्ध गराउने छ।

चाडपर्व अफर अन्गर्तत सबैभन्दा धेरै छुटमा एक्सपेङ ६ किन्न पाइनेछ। सीजी मोटर्सले दशैँ अफर अन्तर्गत एक्सपेङ जी–६ किन्दा ग्राहकलाई १२ लाख रुपैयाँसम्मको विशेष छुट प्रदान गरिरहेको छ।

चाडपर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनामा नगद छुटसँगै ग्राहकका लागि विभिन्न अतिरिक्त सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। योजनाअन्तर्गत ६.६ किलोवाटको वालमाउन्ट चार्जर, एक वर्षको बीमा तथा एक आर्थिक वर्षको सडक दस्तुर कम्पनीले दिनेछ।

यसैगरी, ग्राहकले आफ्नै घरमा एक्सपेङ जी–६ को टेस्ट ड्राइभ गर्न पाउने छन्। घरमै बसेर टेस्ट ड्राइभपछि गाडीको प्रविधि, फिचर र टेक्नोलोजीको बारे जान्न र अनुभव गर्न पाउने छन्।

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले ल्याएको ‘फेस्टिभ अफर होन्डाको सफर’ अन्तर्गत होन्डाका कुनै पनि कारमा उक्त छुट पाइने भएको हो । होन्डाका कार किन्दा १० लाख रुपैयाँसम्म नगद छुट पाइने कम्पनीले जनाएको छ।

साथै, ग्राहकले नयाँ कार खरिदमा १ आर्थिक वर्षको सडक कर र फुल इन्स्योरेन्स निःशुल्क पाउने छन्। आगामी कात्तिक ३० गतेसम्म नयाँ कार किन्नले छुट अफर पाउने कम्पनीले जनाएको छ। यो अफर होन्डा सीआर, एलिभेट, सिटी, सिटी हाइब्रिड लगायत होन्डाका सबै मोडलमा उपलब्ध हुनेछ।

त्यसैगरी, पुरानो गाडी साटेर नयाँ होन्डा कार लिन चाहने ग्राहकले अन द स्पट एक्सचेन्ज सुविधा पाउने छन्। साथै आकर्षक एक्सचेन्ज बोनस समेत पाउने कम्पनीले जनाएको छ।

सीजी मोटर्सले आयन प्रिमियम विद्युतीय सवारी खरिद गर्ने उपभोक्ताले ९ लाख रुपैयाँसम्मको छुट उपलब्ध गराउने भएको छ।

सीजी मोटर्सले ‘दशैँको वहार, ९ लाखकोे उपहार’ अन्तर्गत उक्त छुट दिने भएको हो।

साथै, एक्सचेन्जमा आकर्षक बोनस, एक वर्षको सवारी कर, अटो प्लस इन्स्योरेन्स, ६.६ किलोवाटको घरायसी चार्जर तथा गाडीको लागि आवश्यक पर्ने विभिन्न सामग्री निःशुल्क दिने जनाएको छ। एक्सचेन्जमा पनि आकर्षक बोनस पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?