काठमाडौं । निर्माण आयोजना तथा पूर्वाधार विकाससँग सम्बन्धित बिमामा बिमकले दाबी भुक्तानी गर्दा बिमितबाट कट्टा गर्न पाउने अनिवार्य अधिक रकम (एक्सेस) मा सीमा तोकिने भएको छ ।
नेपाल बिमा प्राधिकरणले अब इन्जिनियरिङ बिमाअन्तर्गत दाबी भुक्तानी गर्न योग्य रकमको बढीमा १० प्रतिशतसम्म मात्र अधिक रकम कट्टा गर्न पाइने व्यवस्था गर्न लागेको हो ।
यस व्यवस्थाले बिमा दाबी फर्स्योटका क्रममा बिमकले मनोमानी ढंगले ठूलो रकम कट्टा गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी बिमितलाई राहत दिने अपेक्षा गरिएको छ । बिमक र बिमितबीचको आपसी समझदारीमै अधिक रकम निर्धारण गर्नुपर्ने भए पनि त्यसको अधिकतम सीमा दाबी भुक्तानीयोग्य रकमको १० प्रतिशतभन्दा बढी हुन पाउने छैन ।
त्यस्तै, एउटै घटनाका कारण मूल बिमालेख र अतिरिक्त जोखिम रक्षावरण दुवैअन्तर्गत क्षति पुगेको अवस्थामा मूल बिमालेखमा तोकिएको अधिक रकम मात्र कट्टा गर्न पाइनेछ । अतिरिक्त जोखिम रक्षावरणमा समेटिएको जोखिमका कारण मात्रै क्षति भएको अवस्थामा भने सोही रक्षावरणमा उल्लेखित अधिक रकम लागू हुने व्यवस्था गरिएको छ ।

