
- म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटीबीच काठमाडौंमा दुई नयाँ लक्जरी होटल सञ्चालन गर्ने सम्झौता भएको छ।
- रिट्ज–कार्लटन र द वेस्टिन नामका यी होटलहरू सन् २०३१ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
- ठमेल र विमानस्थल नजिक निर्माण हुने यी होटलहरूले पर्यटन प्रवर्द्धनका साथै रोजगारीका अवसर सिर्जना गर्नेछन्।
म्यारियट इन्टरनेशनल र चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई नयाँ लक्जरी होटल सञ्चालन गर्ने सम्झौता गरेका छन् ।
सम्झौताअनुसार काठमाडौंमा द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौं सञ्चालनमा ल्याइनेछ । दुवै होटल सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
यससँगै म्यारियटको विश्वव्यापी पोर्टफोलियोमा करीब ३०० नयाँ ‘की’ थपिने जनाइएको छ ।
होटलहरू चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन् । सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेशनल इन्कका बोर्ड अध्यक्ष डेभिड म्यारियट चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष डा. बिनोद चौधरी, सीजी कर्प ग्लोबल तथा सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी, आईईजी ग्रुप, आईजे ग्रुप तथा शर्मा एन्ड कम्पनीका अध्यक्ष एवं सञ्चालहरु, म्यारियट इन्टरनेशनल इन्कका एशिया प्रशान्त (चीन बाहेक) अध्यक्ष राजीव मेनन, म्यारियट इन्टरनेशनल इन्क दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट लगायतको उपस्थिति रहेको थियो ।
सम्झौतापछि म्यारियट इन्टरनेशनलका एसिया–प्रशान्त (चीनबाहेक) अध्यक्ष राजीव मेननले नेपालमा विश्वस्तरीय आतिथ्य सेवा विस्तार गर्ने साझा उद्देश्यका साथ चौधरी ग्रुपसँगको सहकार्य श्थप सुदृढ भएको बताए । नयाँ परियोजनाले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउने उनको भनाइ छ ।
सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले म्यारियटसँगको सहकार्यले नेपाल र दक्षिण एसियाको आतिथ्य उद्योगलाई नयाँ स्तरमा पुर्याउने विश्वास व्यक्त गरे । उनले परियोजनाले अन्तरराष्ट्रियस्तरको सेवा, स्थानीय संस्कृति र दिगो पर्यटन विकासलाई जोड्ने बताए ।
रिट्ज–कार्लटन काठमाडौं
नेपालमा पहिलोपटक प्रवेश गर्न लागेको रिट्ज–कार्लटन ब्रान्डको होटल काठमाडौंको ठमेल क्षेत्रमा निर्माण हुनेछ। होटलमा १५० कोठा रहनेछन्, जसमा ३० वटा सुइट समावेश हुनेछन्। पाँचवटा रेस्टुरेन्ट तथा बार, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा तथा १,९०० वर्गमिटरभन्दा बढी क्षेत्रफलको सम्मेलन तथा कार्यक्रम स्थल रहने जनाइएको छ ।
होटल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करीब पाँच किलोमिटर दूरीमा हुनेछ । ठमेलबाट नारायणहिटी दरबार सङ्ग्रहालय, काठमाडौं दरबार क्षेत्र, स्वयम्भूनाथ र पशुपतिनाथजस्ता प्रमुख पर्यटकीय तथा सांस्कृतिक स्थल नजिकै पर्नेछन् ।
द वेस्टिन काठमाडौं
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब सात किलोमिटर दूरीमा निर्माण हुने वेस्टिन काठमाडौंमा १५० प्रिमियम कोठा तथा सुइट रहनेछन् । होटलमा तीनवटा भोजन स्थल, फिटनेस स्टुडियो, स्पा, रुफटप स्विमिङ पुल तथा ७०० वर्गमिटरभन्दा बढी बैठक र बैंक्वेट सुविधा हुनेछ ।
वेस्टिन ब्रान्डको विशेष वेलनेस अवधारणाअनुसार स्वास्थ्य र सन्तुलित जीवनशैलीलाई केन्द्रमा राखेर होटल विकास गरिने बताइएको छ।
म्यारियट इन्टरनेशनलका अनुसार कम्पनीले हाल १४६ देश तथा क्षेत्रमा ९,९०० भन्दा बढी होटल सञ्चालन गरिरहेको छ । चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले १२ देशका १३० गन्तव्यमा फैलिएको छ, जहाँ २२० भन्दा बढी होटल तथा रिसोर्ट र १३ हजार ८३५ भन्दा बढी ‘की’ रहेका छन् ।

