नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको फागुन मसान्तसम्मको प्रतिवेदन अनुसार यो रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४७.१३ प्रतिशत हो ।

चालु आर्थिक वर्षको सुरुवात २०८२ साउन १ मा नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेको थियो । फागुन मसान्तसम्म आइपुग्दा यसमा २ खर्ब ४ अर्ब २४ करोड रुपैयाँ थप वृद्धि भएको कार्यालयले जनाएको हो ।

कुल सार्वजनिक ऋणमध्ये बाह्य ऋणको हिस्सा ५३.१६ प्रतिशत अर्थात् १५ खर्ब ३० अर्ब १८ करोड १० लाख र आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत अर्थात् १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा आन्तरिक ऋण २२.०७ प्रतिशत र बाह्य ऋण २५.०६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षमा कुल ५ खर्ब ९५ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकोमा फागुन मसान्तसम्ममा ३ खर्ब ४६ करोड ७२ लाख रुपैयाँ अर्थात् ५०.४४ प्रतिशत प्राप्त भएको छ ।

जसमध्ये समीक्षा अवधिमा सरकारले आन्तरिक ऋणतर्फ वार्षिक लक्ष्यको ६७.३१ प्रतिशत अर्थात् २ खर्ब ४३ अर्ब ६६ करोड ६९ लाख प्राप्त गरेको छ भने बाह्य ऋणतर्फ वार्षिक लक्ष्यको २४.३१ प्रतिशत ५६ अर्ब ८० करोड ३ लाख प्राप्त गरेको छ ।

सरकारले फागुन मसान्तसम्ममा ऋणको साँवा र ब्याज भुक्तानीमा कुल २ खर्ब ४२ अर्ब २६ करोड ८६ लाख रुपैयाँ खर्च गरेको छ । यो वार्षिक बजेट विनियोजनको ५८.९४ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?