अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम डिजाइन भइरहेकै अवस्थामा रोकिनपुगेका छन्।
अर्थ मन्त्रालयका अनुसार जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएका हुन्।
तीनवटै कार्यक्रम डिजाइनको क्रममा रहेको मन्त्रालयले उल्लेख गरेको छ।
यी कार्यक्रमको सम्झौता समेत नभइसकेकाले कुनै सहयोग प्राप्त नभएको मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।
‘डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनका क्रममा नेपालमा वित्तीय संघीयता कार्यान्वयनसम्बन्धी र जैविक विविधतासम्बन्धी सहयोगबारे टिप्पणी गर्नुभएको थियो तर उहाँले भनेको पैसा नेपालमा आएकै छैन’, अर्थका एक अधिकारीले भने।
अर्थले जारी गरेको यो विज्ञप्ति अमेरिकी राष्ट्रपति ट्रम्पलाई जवाफ भएको पनि उनले बताए।
अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा सन् १९५१ देखि निरन्तर अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
तर चुनावपछि राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले यूएसएडदेखि अन्य राष्ट्रलाई दिइने विभिन्न सहयोग अस्थायी रुपमा रोकिदिएका छन्। नेपालले पाएको एमसीसी अनुदान पनि रोकिनपुगेको छ।

