‘हिमालय शम्शेर राणा मेमोरियल लेक्चर’मा आरबीआईका गभर्नरले के भने ?

काठमाडौँ । भारतीय रिजर्भ बैंक (आरबीआई) का गभर्नर शक्तिकान्त दासले विश्वको बदलिँदो परिस्थितिसँगै केन्द्रीय बैंकको भूमिका समेत परिवर्तन हुँदै गएको बताएका छन् । नेपाल भ्रमणमा रहेका गभर्नर दासले नेपाल राष्ट्र बैंकद्वारा आयोजित ‘हिमालय शम्शेर राणा मेमोरियल लेक्चर’ कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै दासले ‘२१ औँ शताब्दीमा केन्द्रीय बैंकिङ : परिवर्तनशील प्रतिमान’ विषयमा बोलेका थिए । त्यस क्रममा उनले केन्द्रीय बैंकिङसम्बन्धी स्थापित मान्यतामा विगतदेखि २१औँ शताब्दीसम्म भएका परिवर्तन, पछिल्लो पाँच वर्षयता भारतीय अर्थतन्त्रमा भएको सुधारमा रिजर्भ बैंकको भूमिकासँगै केन्द्रीय बैंकहरूले भोग्नुपरेका चुनौतीबारे धारणा राखे ।

उनले सन् २००८ को विश्वव्यापी वित्तीय सङ्कट र कोभिडपछिको अर्थतन्त्रको पृष्ठभूमिमा केन्द्रीय बैंकद्वारा लिइएका नीतिगत व्यवस्थाबारे सङ्क्षिप्त चर्चा गर्दै समष्टिगत आर्थिक स्थायित्वका लागि मूल्य स्थायित्वसँगै वित्तीय स्थायित्व पनि प्राथमिकतामा पर्नुपर्ने आवश्यकता औँल्याए ।

मूल्य स्थायित्व हासिल गर्ने केन्द्रीय बैंकको प्रमुख उद्देश्यमा प्रतिकूल असर नपर्ने गरी मुलुकको आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्नेतर्फ समेत मौद्रिक नीति केन्द्रित हुनुपर्ने धारणा गभर्नर दासले राखे । साथै, मुलुकको समग्र अर्थतन्त्र सुधारका लागि मौद्रिक तथा वित्त नीतिबिच समन्वय हुनुपर्नेमा उनले जोड दिए ।

वित्तीय सङ्कट र अर्थतन्त्रमा देखिएका पछिल्ला चुनौतीको सामना गर्नका लागि केन्द्रीय बैंकहरूसँग परम्परागत मौद्रिक उपकरणसँगै गैर परम्परागत उपकरणहरू छनोटको विकल्प रहेको चर्चा उनले गरे । पछिल्लो समयमा वित्तीय स्थायित्व कायम गर्नका लागि समष्टिगत विवेकशील नियमनका उपायहरू अवलम्बन गर्नेतर्फm केन्द्रीय बैंकहरू अग्रसर देखिन थालेको धारणा गभर्नर दासले व्यक्त गरे । साथै,केन्द्रीय बैंक सञ्चारको महत्वबारे उल्लेख गर्दै गभर्नर दासले प्रभावकारी सञ्चार संयन्त्रले मौद्रिक नीतिप्रतिको अपेक्षालाई सम्बोधन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा गभर्नर दासले जलवायु परिवर्तन, भू–राजनीतिक तनाव, सूचना प्रविधिमा आधारित विकास, कृत्रिम बौद्धिकताको प्रयोगलगायतका विषयबाट सिर्जित चुनौतीबारे चर्चा गर्दै सोको सम्बोधनका लागि विभिन्न नीतिगत उपायसँगै नवप्रवर्तनमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वागत मन्तव्य राख्दै ‘हिमालय शम्शेर स्मृति लेक्चर प्रोग्राम’को अवधारणामाथि प्रकाश पारे । पछिल्लो समय सूचना प्रविधि र नवप्रवर्तनको विकाससँगै वित्तीय प्रणालीमा विश्वव्यापी रूपमै परिवर्तन देखिएको सन्दर्भ उल्लेख गर्दै उनले समष्टिगत आर्थिक स्थायित्वकायम गर्ने कार्यमा केन्द्रीय बैंकको भूमिका थप महत्त्वपूर्ण बन्दै गएको धारणा राखे ।

अन्तर्राष्ट्रिय परिवेशमा देखिएका परिवर्तन र आधुनिकीकरणलाई आत्मसात् गर्दै आगामी दिनमा नेपाल राष्ट्र बैंकको भूमिकालाई समेत थप सबल बनाइने प्रतिबद्धता उनले व्यक्त गरे ।

कार्यक्रममा बैंक सञ्चालक समितिका पदाधिकारी, नेपालका लागि भारतीय राजदूत, पूर्वगभर्नर, अर्थविद्, राष्ट्र बैंकका कार्यकारी निर्देशक, निर्देशक तथा अन्य कर्मचारी, बैंकर, पत्रकार, भारतीय रिजर्भ बैंकका पदाधिकारीलगायतको उपस्थिति थियो ।

गभर्नरद्वय अधिकारी र दासबिच मंगलबार नै औपचारिक भेटवार्ता समेत भएको छ । गभर्नरको कार्यालयमा आयोजित भेटवार्तामा नेपाल र भारतीबिच भुक्तानी प्रणालीसम्बन्धी अन्तरआबद्धता र हालसम्म भएका प्रगतिसँगै द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

समस्याग्रस्त सहकारीका ११ हजार बचतकर्ताले पाए ७१ करोड

एक वर्षमा १२ लाख ९ हजार विदेशी पर्यटक नेपालमा आए

छुटाउनुभयो कि ?