नेपाल राष्ट्र बैंकले पाँचवटा रेमिट्यान्स कम्पनीको इजाजत रद्द गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गरी राम्रो रेमिट प्रालि, ग्लोबल माउन्टेन रेमिट प्रालि, संसार रेमिट प्रालि, ललित मनी ट्रान्सफर प्रालि र माक्स मनी ट्रान्सफर प्रालिको इजाजत रद्द भएको जनाएको हो ।
नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग ले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कुनै लेनदेन भएर लिखित जानकारी गराउन पनि आग्रह गरेको छ ।
‘स्वत: खारेज भइजाने रेमिट्यान्स कम्पनीहरुसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकममात्र यस बैंकले हिसाबमिलान गरिदिने व्यहोरा जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ ।
सूचना जारी भएको ३५ दिनभित्र लिखित जानकारी प्राप्त हुन नआएमा खारेज भएका कम्पनीहरुको बैंक जमानतसमेत फुकुवा हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
विप्रेषण विनियमावली २०७९ (प्रथम संसोधनसहित) को विनियम १३ को उप-विनियम (१०) को खण्ड (ङ) र सोही विनियमको उप-विनियम (११) को खण्ड (क) र (ग) बमोजिम ती रेमिट्यान्स कम्पनी स्वत: खारेज हुने देखिएको राष्ट्र बैंकले जनाएको छ ।
खण्ड ङ मा इजाजतपत्रको म्याद गुज्रिएको मितिले १८० दिन भित्र नवीकरणका लागि निवेदन पेस नगर्ने विप्रेषण कम्पनीको इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था छ ।
त्यस्तै उप-विनियम (११) को खण्ड (क) मा इजाजतपत्र प्राप्त गरेको मितिले एक वर्षसम्म विप्रेषण कारोबार नगरेमा र (ग) मा कुनै आर्थिक वर्षमा विप्रेषण कारोबार नगरेमा इजाजत स्वत: खारेज हुने उल्लेख छ ।
विप्रेषण विनियमावलीको परिच्छेद ५ अनुसार इजाजत पत्रको म्याद सकिनुअगावै नवीकरण प्रक्रिया सुरु गर्नुपर्छ । इजाजतपत्रको म्याद समाप्त भएपछि म्याद समाप्त भएको मितिले ३० दिनभित्र नवीकरणका लागि निवेदन दिएमा नवीकरण शुल्क र नवीकरण शुल्कको शतप्रतिशत रकमले हुन आउने रकमबराबरको विलम्ब शुल्क लिई इजाजतपत्र नवीकरण गर्न सक्ने व्यवस्था विनियम १३ को उपविनियम २ मा छ ।

