शासकीय अस्थिरताको स्थायित्वले पिरोलिएको नेपालले बंगलादेशको घटनालाई गम्भीरतासाथ लिनुपर्छ

पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे

बंगलादेश घटनाको सन्देश के हो ?
राजनीतिक संक्रमणको निरन्तरता र शासकीय अस्थिरताको स्थायित्वले पिरोलिएको नेपालले बंगलादेशको घटनालाई गम्भीरतासाथ लिनुपर्छ । चौबीस वर्षपहिले जर्जियाको ‘रोज रिभोलुसन’ र सन् २०११ को ट्युनिसियाको ‘जसमिन रिभोलुसन’ले २१ देशमा उथलपुथल ल्याएको थियो । बंगलादेशमा निर्वाचित विधायिका र सरकारलाई इतिहासको डस्टबिनमा फ्याँकिएपछि प्रधानन्यायाधीश र सुरक्षा अंगका पदाधिकारीलाई समेत बडारेको तथ्यले सबै देश र राजनीतिक व्यवस्थालाई चेतावनी दिएको छ । शासकीय व्यवस्थाको स्थायित्व तथा नेतृत्वको वैधता कायम राख्न अध्यावधिक चुनावको निरन्तरता नै पर्याप्त हुँदैन, जनतालाई सुखी र युवा समुदायलाई भविष्यप्रति विश्वस्त पनि राख्न सक्नुपर्छ भन्ने पाठ पढाएको छ ।

किन त्यस्तो भयो ?

सत्तासीन पुस्ताले आफ्नो एकाधिकारको निरन्तरता चाहन्छ र भविष्यको पुस्ता नेतृत्व लिन तयार भइसकेको तथ्यलाई स्विकार्दैन । दिएको खाने, अराएको गर्ने प्रशिक्षणमा युवापुस्तालाई अलमलाउन चाहन्छ । तर, नयाँ पुस्ता नेतृत्व लिन हतारिएको छ । यो ‘जेन जी’ अर्थात् विगत तीन दशकमा जन्मिएको प्रविधि जानकार, ज्ञान आर्जन र संवाद गर्न तत्पर तथा सुन्दर भविष्यको स्वप्नदर्शी पुस्ता ‘जेनरेसन जुमर’सँगको द्वन्द्वमा आत्मकेन्द्रित नेतृत्व अब टिक्न सक्दैन । सोह्र वर्षदेखि शासन गरिरहेकी, न्यायपालिका, कार्यपालिका र सुरक्षा अंगमा नातेदार र प्रियपात्र राखेकी शेख हसिनाले देश छोडेर भाग्न ४५ मिनेट मात्रै पाइन् । कहिल्यै चुनाव नलडेका ८४ वर्षका अर्थविद्, २६ वर्षका विद्यार्थी नेता र सैनिक जनरलको अन्तरिम सरकार गठनले प्रचलित परिभाषाको राजनीतिक नेतृत्वको म्याद गुज्रिसकेको जनाएको छ । बंगलादेशमा छिटै प्रजातन्त्र पुनस्र्थापित हुन्छ वा पाकिस्तानमा जस्तै सत्ताको साँचो सेनाले लिएको निर्वाचित शासन व्यवस्था स्थापित हुन्छ, हेर्न बाँकी छ ।

नेपाललाई कस्तो असर पर्ला ?
भारतका लागि दक्षिण एसिया प्रतिकूल हुन थाल्नुमा नजिक र टाढाका प्रतिस्पर्धी शक्ति मात्र होइन, एकथरीलाई काखी च्यापेर ठूलो संख्यालाई विरोधी बनाउने नयाँदिल्लीको एकांगी कूटनीति स्वयं जिम्मेवार छ । भारत–बंगलादेश सम्बन्धमा आएको दूरीले नेपाल–बंगलादेश विद्युत् व्यापारमा असर नपरोस् भनेर नेपाली कूटनीति सजग हुनुपर्छ । नेतृत्व लिन सक्षम भइसकेको युवापुस्तालाई देशको बागडोर सुम्पिएर नेपाललाई शान्त राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?