
- भोटेकोसीको बाढीले रसुवा र नुवाकोटका १३ जलविद्युत आयोजनामा क्षति पुर्याएको छ।
- यी आयोजनामा कार्यरत ९३४ जना कामदार हाल सम्पर्कविहीन अवस्थामा छन्।
- माथिल्लो त्रिशूली-१ का २५४ जनाको उद्धार गरिएको र अन्यको खोजी भइरहेको छ।
भोटेकोसीमा आएको बाढीले क्षति पुर्याउँदा रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजनाका ९३४ जना सम्पर्कविहीन भएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) सम्पर्कविहीन भएका व्यक्ति र क्षतिग्रस्त जलविद्युत आयोजनाबारे जानकारी दिएको हो। इप्पानका अनुसार, बाढीबाट रसुवा र नुवाकोटका १३ जनलविद्युत आयोजनामा क्षति पुगेको छ।
त्यसमध्ये ११ जलविद्युत् आयोजनाका कार्यरत ९३४ जना सम्पर्कविहीन बनेका हुन्। सबैभन्दा बढी रसुवाको माथिल्लो त्रिशूली-१ मा कार्यरत ५७६ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
त्यस्तै, रसुवाको रसुवागढी जलविद्युत् आयोजनाका ९३, रसवा-भोटेकोसी आयोजनाका चार, लाङटाङ खोला जलविद्युत आयोजनाका ४२, चिलिमे जलविद्युत् आयोजनाका आठ र मेलुङ खोला जलविद्युत् आयोजनाका सात जना सम्पर्कविहीन भएका छन्।
नुवाकोटमा सञ्चालन र निर्माणाधीन ६ जलविद्युत् आयोजनामध्ये पाँच आयोजनामा कार्यरत २०४ जना सम्पर्कविहीन बनेका छन्। इप्पानका अनुसार, नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाका एक, देवीघाट जलविद्युत् आयोजनाका एक, माथिल्लो त्रिशूली-३ ‘ए’का ४२, माथिल्लो त्रिशूली-३ ‘बी’का १५८ र मिडल त्रिशूली गंगा आयोजनाका दुई जना सम्पर्कविहीन छन्।
हालसम्म माथिल्लो त्रिशूली-१ का २५४ जनाको उद्धार भएको छ। अन्य आयोजनामा पनि उद्धारको पहल भइरहेको इप्पानले जनाएके छ।

