बजारमा ग्यास अभाव कायमै

खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति नहुँदा सर्वसाधारणले फेरि सास्ती भोग्नुपरेको छ। ग्यास डिपो र उद्योगहरूबाहिर एक सिलिण्डर ग्यास पाउनका लागि उपभोक्ताहरू बिहानैदेखि लाइनमा बस्न बाध्य भएका छन्।

ग्यास उद्योग (डिपो) बाहिर सडकको किनारै–किनार खाली सिलिण्डरको लामो लाइन देख्न सकिन्छ। विशेषगरी ‘नेपाल ग्यास’का राता सिलिण्डरहरू सडकपेटीमा लामबद्ध राखिएका छन्।

आफ्नो पालो कुरेर घन्टौँ उभिनुपर्दा उपभोक्ताको अनुहारमा थकान र निराशा प्रस्टै झल्किन्छ। लाइनमा युवा, वृद्धदेखि महिलाहरूसम्मको उल्लेख्य उपस्थिति छ। कोही मोटरसाइकलको पछाडि सिलिण्डर बाँधेर आइरहेका छन् भने कोही काँधमै गह्रौं सिलिण्डर बोकेर डिपो धाउन बाध्य छन्।

एउटा ग्यास सिलिण्डर भर्नका लागि आफ्नो दैनिक कामधन्दा, कार्यालय र व्यापार व्यवसाय नै माया मारेर दिनभर सडकमा बस्नुपर्ने बाध्यताले नागरिकको दैनिकी अत्यन्त कष्टकर बनेको छ।

बजारमा ग्यास अभावको हल्ला चल्नेबित्तिकै वा आपूर्तिमा सामान्य ढिलाइ हुँदा पनि उपभोक्तामा मनोवैज्ञानिक त्रास सिर्जना हुने गरेको छ। जसका कारण ग्यास पाइने आशमा मानिसहरू यसरी उद्योग र डिपोहरूमा पुग्ने गर्छन्।

नेपाल आयल निगमले भने खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पारे ।

“नेपालको मासिक खपत ४५/४६ हजार मेट्रिक टन हो । हरेक महिना सोही परिणाममा आयात भइरहेको छ । फागुन २६ गतेसम्म ४५ हजार ५०० मेट्रिक टन आयात भएको छ”, प्रवक्ता ठाकुरले भने, “घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न आग्रह गर्दछु ।”

ग्यासको बिक्री वितरण सहज बनाउन निगमले निर्देशन दिइरहेको स्पष्ट पार्दै उनले कहीँकतै अनियमितता भएको देखिए सूचना दिन आग्रह गरे। पछिल्लो समय मध्यपूर्वी मुलुकमा विकसित घटनालाई लिएर उपभोक्ताबाट ग्यासको माग उच्च देखिएपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री गर्न उद्योगलाई निर्देशन दिएको छ । ग्यास उद्योगले आजदेखि ७ दशमवल १ किलो ग्यास भरेर सिलिण्डर बजारमा पठाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?