राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण शुरू गरेको छ ।
प्राधिकरणले सहकारी दर्ताका लागि छुट्टै दर्ता अभिलेखीकरण सफ्टवेयर निर्माण गरी दर्ता प्रक्रियाको थालनी गरिएको जानकारी दिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक डा. शेषनारायण पौडेलले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायतका विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने, गराउने कार्य शुभारम्भ गरिएको जानकारी दिए।
उनका अनुसार बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरू प्राधिकरणले तोकेबमोजिम प्राधिकरण वा प्राधिकरणले तोकेको निकायमा दर्ता हुनुपर्नेछ ।
उनले सहकारीको वर्गीकरण, नियमन, अनुगमन र सुपरीवेक्षणलाई व्यवस्थित बनाउनको लागि दर्ता अभिलेखीकरण शुरू गरिएको बताए ।
सहकारीहरू यसअघि नै सरकारको कुनै न कुनै निकायमा दर्ता रहेको भए पनि प्राधिकरणले डकुमेन्टेसनका लागि प्राधिकरणले दर्ता अभिलेखीकरण गर्न लागेको बताए ।
उनले भने, ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको प्राधिकरणले तोकेबमोजिम प्राधिकरण वा प्राधिकरणले तोकेको निकायमा दर्ता अभिलेखीकरण हुनुपर्दछ भन्ने प्रावधान राखिएको छ । सहकारीको वर्गीकरण, नियमन, अनुगमन र सुपरीवेक्षणको लागि सहकारीको डेटा प्राधिकरणमा हुनुपर्छ भन्ने अभिप्रायले हामीले अभिलेखीकरण शुरू गरेका हौँ । यसअघि नै सहकारी कुनै न कुनै निकायमा दर्ता छन् । यसअघि दर्ता गर्ने बित्तिकै सहकारीलाई कारोबारको अनुमति दिइएको छ । ती सहकारी संस्थाहरूलाई प्राधिकरणले आफ्नो मापदण्डको आधारमा अभिलेखीकरण गर्छ ।’
प्राधिकरणले कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्वका आधारमा संस्थाको वर्गीकरण गरी सञ्चालन इजाजतपत्र दस्तुर तोकेको छ । सहकारीले एक हजारदेखि १५ हजार रुपैयाँसम्म इजाजतपत्र दस्तुर तिर्नुपर्ने हुन्छ ।
उक्त इजाजतपत्र प्रत्येक वर्षको श्रावण मसान्तभित्र नवीकरण समेत गर्नुपर्ने व्यवस्था दर्ता अभिलेखीकरण मापदण्डले गरेको छ ।
कसरी गरिदैछ लाइसेन्स जारी ?
प्राधिकरणका अनुसार नियमनकै लागि सहकारी प्राधिकरणमा बचत सहकारीहरूलाई दर्ताका लागि आह्वान गरिएकाे हाे ।
पाैडेलले भने – हाम्रो मुख्य कार्य नै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरुको नियमन अनुगमन र सुपरीवेक्षण गर्ने हो । त्यसको लागि हामीलाई तथ्याङ्कको आवश्यकता पर्दछ । अहिले देशभर रहेका बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरूको एउटा एकीकृत तथ्याङ्क छैन, त्यो तथ्याङ्क तयार गर्नको लागि हामीले यो दर्ता सुरू गर्दैछौँ ।’
उनका अनुसार जब प्राधिकरणसँग डाटा हुन्छ, त्यो डाटा भइसकेपछि सहकारीहरुलाई अनुगमन गर्न सकिनेछ । पाैडेलका अनुसार महत्वपूर्ण कुरा अहिले सहकारीहरूको दर्ता अभिलेखीकरण गरिदैछ, दर्ता गर्ने होइन । यो भनेको दर्ता भएका सहकारीहरुलाई हामीले फेरी एउटा फ्रेमवर्कमा डकुमेन्टेसन हाे र त्यो डकुमेन्टेसन गरिसकेपछि अहिले प्राधिकरणले सहकारीलाई ‘अपरेटङ लाइसेन्स’ सञ्चालन इजाजत पत्र जारी गर्नेछ।
पाैडेलले भने – अहिलेसम्म बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरु एउटा निकायमा दर्ता हुन्थे र सञ्चालन हुन्थे । उनीहरूलाई इजाजत पत्र उपलब्ध गराउने व्यवस्था थिएन । अहिले यो मापदण्डले इजाजत पत्रको प्रावधान राखेको छ । त्यो भनेको जसरी बैंकहरु कम्पनी रजिस्टार कार्यालयमा दर्ता हुन्छन् र राष्ट्र बैंकबाट इजाजत प्राप्त गर्छन् । त्यसै गरेर बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरू स्थानीय तहमा दर्ता हुन्छन् र यो राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट एउटा प्रक्रियाको कुरा गरेर उनीहरुले लाइसेन्स प्राप्त गर्छन् ।’
उनका अनुसार लाइसेन्स प्रदान गरिसकेपछि बल्ल प्राधिकरणले उनीहरुलाई एउटा व्यवस्थित रुपले अनुगमन नियमन सुपरीवेक्षण तथा कारबाही गर्नसक्नेछ ।

