नेपाल विद्युत् प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटेपछि करिब २०० मेगावाट विद्युत् बचत भएको छ । बचत भएको विद्युत् कहाँ खपत भइरहेको छ भन्नेबारे चासो बढ्न थालेको छ ।
विद्युत् उत्पादनमा कमी नभएको र भारतमा समेत निर्यात गरिरहेको अवस्थामा ठुला उद्योगमा खपत हुने विद्युत् कटौती गर्दा बचेको विद्युतलाई प्राधिकरणले व्यवस्थापन गरिरहेको प्रवक्ता राजन ढकालले बताए ।
उनले उद्योगबाट कटौती विद्युतलाई प्राधिकरणले खेर जान नदिएको दाबी गरे । उनका अनुसार उद्योगमा कटौती भएको विद्युत् अहिले भारतमा निर्यात भइरहेको छ ।
प्राधिकरणलाई घाटा नहुने गरी उद्योगका विद्युत् काटिएको र बचत भएको बिजुली भारत निर्यात गरी आम्दानी गरिरहेको प्रवक्ता ढकालले जानकारी दिए ।
प्रवक्ता ढकालका अनुसार हाल उद्योगहरूमा लाइन काट्दा बचत भएको करिब २०० मेगावाट बिजुली भारत निर्यात भइरहेको छ । नदीमा पानीको बहाव घट्दै गएको, केही विद्युतगृह मर्मतसम्भारको क्रममा रहेको र केही निजी क्षेत्रका आयोजना बाढीले प्रभावित भएका कारण विद्युत् उत्पादनमा सामान्य कमी आएको उनले बताए ।
‘उद्योगमा लाइन काटिँदा बिजुली खेर गएको हो कि भन्ने चासो छ, तर त्यसो होइन,’ प्रवक्ता ढकालले भने, ‘अहिले पनि हामी लगभग ११०० मेगावाट बिजुली भारत निर्यात गरिरहेका छौँ ।’
उनले उद्योगहरूलाई दिइने बिजुलीको महसुलभन्दा भारत निर्यात गर्दा पाउने रकम राम्रो भएकाले प्राधिकरणलाई वित्तीय रूपमा घाटा नभएको स्पष्ट पारे । हाल प्राधिकरणले उद्योगहरूलाई समयअनुसार फरक–फरक महसुल दरमा बिजुली उपलब्ध गराउँदै आएको छ । जसमा ‘पिक आवर’ र ‘अफ–पिक आवर’ को दर फरक छ ।
उद्योगहरूले प्राधिकरणलाई ९ रुपैयाँदेखि १२ रुपैयाँ प्रतियुनिटसम्म विद्युत् महसुल बुझाउने गरेका छन् । भारतमा ११ रुपैयाँ प्रतियुनिटभन्दा बढीमा निर्यात हुने गरेको छ ।
विगतमा पनि प्राधिकरणले प्राविधिक कारणले विभिन्न औद्योगिक कोरिडोरमा विद्युत् कटौती गर्दै आएको थियो । अहिलेको कटौतीलाई भने माग र आपूर्तिको व्यवस्थापनसँग जोडिएको छ । छठ पर्वपछि औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको अवस्थाबारे थप स्पष्ट हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता ढकालले बक्यौता रकम बुझाएको खण्डमा उद्योगहरूमा तत्काल लाइन जडान गर्ने जानकारी दिए । उद्योगीहरू प्रक्रियामा आएर समस्या समाधान गर्न आवश्यक रहेको उनको भनाइ छ ।
प्राधिकरणले २८ किस्तामा बक्यौता भुक्तानीका लागि २१ कार्य दिनको समय दिएर कात्तिक १७ गतेभित्र बक्यौता तिर्न सूचना निकालेको थियो । पछि सूचना सच्याएर सूचना निकालेको २१ दिनभित्रै बक्यौता तिर्न भनेको थियो ।
तर उद्योगहरूले प्राधिकरणले दिएको समय अवधिमा सम्पर्कमा नआएका र बक्यौता नतिरेका उद्योगको लाइन काटेको छ । प्राधिकरणले गत मंगलबार जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको बिजुली काटेको थियो ।

