काठमाडौं । इन्टरनेट ब्याण्डविथबापत २ वर्षको करिब ६ अर्ब बढी रुपैयाँ भारतीय कम्पनी एयरटेललाई भुक्तानी गर्न सरकारले अवरोध गरेका कारण आज इन्टरनेट सेवा प्रदायकहरुले प्रदान गर्ने इन्टरनेट सेवामा देशभर नै समस्या आएको छ ।
यसको मार देशभरका इन्टरनेट प्रयोगकर्ताले भोग्नु पर्यो।
आइतबार साँझ ८ बजेदेखि देशभरका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको इन्टरनेट सेवा प्रदायक संघ (आइएसपान)का अध्यक्ष सुधीर पराजुलीले जानकारी दिए ।
उनले भने, ‘आइतबार साँझ ८ बजेदेखि देशभरका इन्टरनेटमा समस्या आएको हो। किनकी भारतीय इन्टरनेट कम्पनी एयरटेल २ घण्टादेखि डाउन भयो।’
उनका अनुसार इन्टरनेट प्रयोगकर्ताहरुले वर्ल्डलिंक,सीजी, डिसहोम, सुबिसु, भायनेटलगायतका सेवामा समस्या देखिएको गुनासो गरिरहे ।
उनले गुनासो गर्दै भने, ‘ हामीले सरकारले पटक-पटक भनेका थियौ, आग्रह गरेका थियौं। तर दुई वर्ष भइसक्यो। भारतीय कम्पनी एयरटेलको इन्टरनेट ब्याण्डविथ बापतको करिब ६ अर्ब बढी रुपैयाँ तिरेका छैन। त्यसकारण रिसले उसले( एयरटेल) नेपालको इन्टरनेट जतिबेला मन लाग्यो, त्यतिबेला काटिदियो। यसमा हामीले केही भन्नै सकेका छैनौ।’

