काठमाडाैँ । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालका धान उत्पादन ४ प्रतिशतले वृद्धि भएको छ । कृषि मन्त्रालयका अनुसार गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा क्षेत्रफल घटेपनि उत्पादन ४ प्रतिशतले बढेको हो ।
आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको तर चालु आर्थिक वर्षमा सो उत्पादन बढेर ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन पुगेको कृषि मन्त्रालयकी प्रवक्ता डा मतिना जोशी वैद्यले जानकारी दिइन् । ‘चालु आ.व.मा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४ सय ७६ मेट्रिक टन हुने प्रारम्भिक अनुमान रहेको छ जुन उत्पादन गत आ.ब.को तुलनामा ४.०४ प्रतिशतले बढी हो ।’, प्रवक्ता वैधले जानकारी दिइन् ।
त्यस्तै यस वर्ष धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमि आउँदा पनि उत्पादकत्वमा वृद्धि भएको छ । यस वर्ष बर्षे र चैते दुबै गरी चालु आ.व.मा कूल १४ लाख २० हजार ६ सय ३६ हेक्टर क्षेत्रफलमा धान लगाइने मन्त्रालयको अनुमान छ जुन गत आ.व.को तुलनामा १.२८ प्रतिशतले कमि हो । यस आर्थिक वर्षमा धानको उत्पादकत्व पनि हालसम्मकै उच्च भएको मन्त्रालयले जनाएको छ । ‘औषत उत्पादकत्व ४.१९ मेट्रिक टन प्रति हेक्टरमा पुगि हालसम्मको उच्च बिन्दु कायम हुन पुगेको छ । यसै गरी सोहि अबधिमा चैते धान र बर्षे धानको उत्पादन तथा उत्पादकत्व गत आ.व.को तुलनामा बृद्वि हुन गएको छ ।’, प्रवक्ता डा.मतिना जोशीले वैद्यले जानकारी दिइन् ।
यस वर्ष कोशी, मधेश, लुम्विनी र सुदूरपश्चिम प्रदेशमा धान उत्पादनमा बृद्वि भएको छ भने बाँकी तीन प्रदेशहरुका उत्पादन घटेको मन्त्रालयले जनाएको छ ।

