चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ बैंकको निष्क्रिय कर्जा बढेको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यो अवधिमा सञ्चालमा रहेका २० वाणिज्य बैंकमध्ये १७ बैंकहरुको निष्क्रिय कर्जा बढेको हो ।
यस्तै तीन बैंकको कर्जाको अवस्था भने यो सुधारिएको छ । विवरणअनुसार तीन बैंकको निष्क्रिय कर्जा ५ प्रतिशतमाथि पुगेको छ । सबैभन्दा धेरै हिमालयन बैंकका ५.८४ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.४४ प्रतिशत र सिटिजन्स बैंकको ५.४१ प्रतिशत निष्क्रिय कर्जा पुगेको छ ।
त्यस्तै, ४ प्रतिशतको रेञ्जमा निष्क्रिय कर्जा हुने बैंकको संख्या ९ रहेको छ । यसमध्ये हिमालयन बैंकको ४.९८ प्रतिशत, कुमारी बैंकको ४.९६ प्रतिशत, प्रभु बैंकको ४.९४ प्रतिशत, प्राइम कमर्शियल बैंकको ४.८६ प्रतिशत, कृषि विकास बैंकको ४.७८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.६७ प्रतिशत, नबिल बैंकको ४.२४ प्रतिशत, एनआईशी एसिया बैंकको ४.२४ प्रतिशत तथा राष्ट्रिय वाणिज्य बैंकको ४.२३ प्रतिशत निष्क्रिय कर्जा कायम भएको छ ।
त्यस्तै, ३ प्रतिशतको रेञ्जमा निष्क्रिय कर्जा हुने बैंकहरुमा नेपाल बैंक ३.९५ प्रतिशत, सिद्धार्थ बैंक ३.९१ प्रतिशत, एनएमबि बैंक ३.६३ प्रतिशत तथा माछापुच्छ्रे बैंक ३.१५ प्रतिशत रहेको छ । सानिमा बैंकको २.१५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.८४ प्रतिशत निष्क्रिय कर्जा हुँदा एभरेष्ट बैंकले ०.७७ प्रतिशत निष्क्रिय कर्जा रहेको छ ।
गत आर्थिक वर्षसँग तुलना गर्दा यो अवधिमा सबैभन्दा धेरै निष्क्रिय कर्जा वृद्धि हुने बैंकमा एनआईशी एसिया रहेको छ । उक्त बैंकको निष्क्रिय कर्जा एक वर्षको अवधिमा २.८७ प्रतिशत विन्दुले बढेको छ । त्यस्तै, सिटिजन्स बैंकको १.४४ प्रतिशत, प्राइम कमर्शियल बैंकको १.१९ प्रतिशत, सानिमा बैंकको १.१५ प्रतिशत तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.०१ प्रतिशत विन्दुले निष्क्रिय कर्जा बढेको छ ।

