चालू आर्थिक वर्षमा सरकारले साढे ५ खर्ब ऋण परिचालन गर्दैछ।
बजेटमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । यस आवमा वाह्य ऋण २ खर्ब १७ अर्ब र आन्तरिक ऋण ३ खर्ब ३० अर्ब बराबर उठाउने लक्ष्य छ । साउनसम्म उठेको सार्वजनिक ऋण लक्ष्यको ७.९७ प्रतिशत हो ।
यस महिनामा आन्तरिक ऋण लक्ष्यको १२.१२ र वाह्य ऋण १.६६ प्रतिशत उठेको छ । साउनमा ४३ अर्ब ५९ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठेको हो ।
यस वर्ष सरकारले सार्वजनिक ऋण भुक्तानीमा मात्र ४ खर्बभन्दा माथि खर्च गर्ने योजना छ । यस वर्ष ४ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । साउन मसान्तसम्म २३ अर्ब १८ करोड ९९ लाख भुक्तानी गरिएको छ । यो वार्षिक विनियोजनको तुलनामा ५.७६ प्रतिशतमात्र हो ।
जीडीपीका आधारमा कुल ऋण सेवा खर्च ०.४१ प्रतिशत हो । साउनमा आन्तरिक ऋणको सावाँ भुक्तानीमा १७ अर्ब र ब्याज भुक्तानीमा ३ अर्ब ६० करोड खर्च भएको छ । वाह्य ऋण साँवा भुक्तानीमा २ अर्ब २७ करोड र ब्याज भुक्तानीमा ३१ करोड खर्च भएको छ ।

