निजी क्षेत्रमा प्रवाहित कर्जा करिब ३ खर्बले बढ्यो

गत आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा प्रवाह करिब ३ खर्ब अर्थात्  ६ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ७६ अर्ब ९४ करोड (५.८ प्रतिशत) ले बढेको हो ।

अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब ७५ अर्ब ९४ करोड (३.८ प्रतिशत) रुपैयाँले बढेको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा कर्जा बढे पनि मौद्रिक नीतिले लिएको लक्ष्यको तुलनामा आधा पनि होइन । गत आवमा मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले निजी क्षेत्रमा साढे ११ प्रतिशत कर्जा प्रवाह बढाउने लक्ष्य लिएको थियो ।

गत वर्ष बैंक तथा वित्तीय संस्थाको निक्षेप ७ खर्ब ४२ अर्ब ३७ करोड (१३ प्रतिशत) रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ६ खर्ब २७ अर्ब २५ करोड (१२.३ प्रतिशत) रुपैयाँले बढेको थियो । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप ६४ खर्ब ५२ अर्ब रुपैयाँ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ ।

असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दति निक्षेपको अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.७ प्रतिशत, २६.६ प्रतिशत र ५८.९ प्रतिशत थियो । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.२ प्रतिशत छ भने २०८० असार मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत थियो ।

समग्रमा निक्षेप १३ प्रतिशतले बढ्दा निजी क्षेत्रमा जाने कर्जा भने ५.८ प्रतिशतमात्रै बढेको छ । गत आवमा निजी क्षेत्रमा कर्जा बढाउनका लागि केन्द्रीय बैंकले ब्याजदर घटाउँदै लगेको थियो । बैंकहरूले पनि हरेक महिनाजसो ब्याजदर घटाउँदै जाँदा कर्जा बढ्नलाई केही सहज भएको थियो । सोही कारण अघिल्लो आवको तुलनामा गत वर्ष कर्जा बढेको हो ।

गत वर्षमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.८ प्रतिशतले, विकास बैंकहरुको ५ प्रतिशतले र वित्त कम्पनीहरुको ७.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले सबैभन्दा बढी कर्जा लगानी घरजग्गामा गरेका छन् । त्यसपछि चालु सम्पत्तिको धितोमा कर्जा प्रवाह रहेको छ ।

राष्ट्र बैंकका अनुसार गत आवमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये ६६.५ प्रतिशत घरजग्गाको धितोमा र १३.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०८० असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६८.० प्रतिशत र ११.६ प्रतिशत रहेको थियो ।

गत आवमा सबैभन्दा बढी सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले बढेको छ । औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले बढ्दा सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले बढेको छ । थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले कर्जा बढ्दा कृषि क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

गत आवमा ओभरड्राफ्ट कर्जा ४६.३ प्रतिशतले बढेको छ । यसैगरी आवधिक कर्जा २२.२ प्रतिशतले, मार्जिन प्रकृति कर्जा १८.१ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १२.६ प्रतिशतले र रियलस्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ९.६ प्रतिशतले, बढेको छ । यस्तै, हायर पर्चेज कर्जा २२ प्रतिशतले घट्दा डिमान्ड तथा चालु पुँजी कर्जा १७.६ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?