वाणिज्य बैंकहरुले खराब कर्जा दर घटाए

वाणिज्य बैंकहरुले गएको तीन महिनामै खराब कर्जा दर ३.०१ प्रतिशतले घटाएका छन्।

चैत मसान्तसम्म ३.८९ प्रतिशतमा रहेको खराब कर्जा असार मसान्तसम्म ३.७६ प्रतिशतमा ओर्लिएको हो।

पछिल्लो समय बैंकहरुले एक दशककै धेरै खराब कर्जाको भार बोकिरहेका थिए। तर अन्तिम तीन महिना कर्जा असुलीमा जोड दिएपछि यस्तो दर घटेको देखिएको हो।

निर्माण क्षेत्रमा भुक्तानी नहुँदा कर्जा उठ्न सकेको थिएन भने सुस्त आर्थिक गतिविधिले ऋण तिर्न आउने सेवाग्राही नै घटेका थिए। यसले बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जा अधिकतम विन्दुनजिक पुगिसकेको थियो।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको खराब कर्जाको सीमा ५ प्रतिशत छ। ५ प्रतिशतमाथि पुगेमा बैंकहरुले कर्जा उठाउन नसक्ने जोखिम रहने भन्दै नियामक राष्ट्र बैंकले ५ प्रतिशतको सीमाभन्दा तल नै खराब कर्जा कायम गर्न बैंकहरुलाई निर्देशन दिने गर्छ।

यसअनुसार बैंकहरुले खराब कर्जा कायम गर्दै आए पनि गत वर्ष भने यस्तो दरमा उच्च वृद्धि देखियो। आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिकमा ३.६१ प्रतिशतमा रहेको खराब कर्जा दोस्रो त्रैमासिकमा ३.६३ प्रतिशत र तेस्रो त्रैमासिकमा ३.८९ प्रतिशतमा पुगेको थियो। चौथो त्रैमासिकमा आइपुग्दा भने बैंकहरुले कर्जा असुलीलाई थप जोड दिएर ३.७६ प्रतिशतमा सीमित राख्न सफल देखिए।

त्यसो त नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा असुलीमा समस्या भएको भन्दै चालू आर्थिक वर्षको मौद्रिक नीतिबाट सहजीकरण पनि गरिसकेको छ।

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले कर्जा वर्गीकरणमा खराब कर्जामा रहेका ऋणीहरुले भाखा नाघेको बक्यौता तिरेर किस्ता र ब्याज भुक्तानीलाई निरन्तरता दिएको खण्डमा खराब कर्जाबाट हटाउन मिल्ने तथा निष्क्रिय वर्गमा रहेका ऋणीले आंशिक रुपमा कर्जा भुक्तानी गरेमा खराब कर्जाबाट सूक्ष्म निगरानी कर्जामा तान्न मिल्ने व्यवस्था गरिदिएको छ।

यसले बैंक तथा वित्तीय संस्थाहरुमा उच्च देखिएको खराब कर्जा दरलाई घटाउनेछ। तर यो व्यवस्था चालू आर्थिक वर्षबाट मात्रै कार्यान्वयनमा आउने भएकोले बैंक तथा वित्तीय संस्थाहरुले असारसम्मको खराब कर्जा दरमा घटबढ गर्न पाएनन्।

असार मसान्तसम्म कर्जा विस्तारलाई थाती राखेर कर्जा असुलीमा केन्द्रित हुँदा खराब कर्जादर अघिल्लो त्रैमासको तुलनामा कम देखिएको हो। यद्यपि अघिल्लो वर्षको तुलनामा भने बैंकहरुको खराब कर्जा वृद्धि उच्च रहँदै आएको छ। अघिल्लो वर्ष वाणिज्य बैंकहरुको खराब कर्जा औसतमा २.९८ प्रतिशत थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ट्रेन्डिङ ↗

सामाजिक संजाल

ताजा समाचार

छुटाउनुभयो कि ?