बजारमा अस्वभाविक मुल्य बढ्दा पुर्ण रूपमा हस्तक्षेपकारी भुमिका खेल्न सफल साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले गत आर्थिक वर्ष २०८०/८१ मा ६ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो वर्ष साल्ट ट्रेडिङ्गले ७ करोड ८८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष १९.७७ प्रतिशत कम नाफा गरेको हो ।
गत असारसम्म कम्पनीले १३ अर्ब ३५ करोड ३ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ७८ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले ५२ प्रतिशत बढी आम्दानी गरेको हो ।
समीक्षा अवधिमा कम्पनीले ३ करोड ४९ लाख रुपैयाँ अन्य आम्दानी र १ अर्ब ८ करोड ७५ लाख रुपैयाँ कुल नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ३९ लाख रुपैयाँ अन्य आम्दानी र ९५ करोड ५८ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।
गत वर्ष कम्पनीको प्रशासनिक खर्च १३ करोड ८३ लाख रुपैयाँ र कर्मचारी खर्च २९ करोड ७० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष प्रशासनिक खर्च १६ करोड ३१ लाख रुपैयाँ र कर्मचारी खर्च ३१ करोड १५ लाख रुपैयाँ गरेको थियो ।
अघिल्लो वर्ष ४४ करोड ५० लाख रुपैयाँ ब्याज खर्च गरेको कम्पनीले गत वर्ष ५८ करोड रुपैयाँ गरेको छ ।
कम्पनीको चुक्ता पुँजी ३२ करोड ७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ४१ करोड ४३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको चुक्ता पुँजी २७ करोड ८८ लाख रुपैयाँ र जगेडा कोष १ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ थियो ।
नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दाी पनि घटेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २८.२६ रुपैयाँबाट घटेर १९.७१ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३९७.६२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २४८.८४ गुणा रहेको छ ।

