काठमाडौँको उत्तरढोकामा ग्लोबल आईएमई बैंकको अत्याधुनिक कर्पोरेट भवन निर्माण हुने भएको छ।
बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले भवन निर्माणका लागि आज विधिवत् रूपमा भूमिपूजा गरेका हुन्।
ढकालका अनुसार करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिने यो १२ तले आधुनिक संरचना केवल एउटा प्रशासनिक भवन मात्र हुनेछैन। यसले बैंकको संस्थागत स्थायित्व, ग्राहकप्रतिको उत्तरदायित्व र भविष्यको समृद्ध दृष्टिलाई पनि प्रतिविम्बित गर्नेछ।
‘भवन निर्माण गर्दा हामीले नवीनतम इन्जिनियरिङ प्रविधिसँगै वातावरणीय दिगोपनलाई उच्च प्राथमिकता दिएका छौँ। जमिनको स्थिरता र आसपासको सुरक्षालाई ध्यानमा राखी ‘सेक्यान्ट पाइलिङ’ प्रविधिको प्रयोग गरिनुका साथै वर्षाको पानी पुनःप्रयोग (रेन वाटर हार्भेस्टिङ) र सौर्य ऊर्जा प्रणालीमार्फत यसलाई पूर्ण रूपमा ऊर्जा-दक्ष र पर्यावरणमैत्री भवनका रूपमा विकास गर्दैछौँ। सेवाग्राही र कर्मचारी साथीहरूको सुविधाका लागि दुई तहको फराकिलो भूमिगत पार्किङको व्यवस्थासमेत गरिएको छ’, उनले भनेका छन्।
यो नयाँ पूर्वाधारले बैंकका वित्तीय सेवाहरूलाई अझ सहज, प्रविधिमैत्री र प्रभावकारी बनाउँदै देशको समग्र आर्थिक विकासमा थप टेवा पुर्याउने विश्वास लिएको उनले बताएका छन्।

