काठमाडौँ । लगातार तीन आर्थिक वर्ष घाटामा रहेको नेपाल लिकर्स प्रालि आर्थिक वर्ष २०८२/८३ मा खुद नाफामा फर्किएको छ। कम्पनीको सञ्चालन आम्दानी पनि बढेर १४३ करोड ७० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १२७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
एक वर्षमा कम्पनीको सञ्चालन आम्दानी करिब १३ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७९/८० मा ७६ करोड ४० लाख रुपैयाँ रहेको आम्दानी तीन वर्षमा करिब ८८ प्रतिशतले बढेको छ। कम्पनीको वित्तीय विवरणको विश्लेषणअनुसार उपभोक्ता मागमा सुधार, बिक्री परिमाणमा वृद्धि र नयाँ ब्रान्ड थपिनुले कारोबार विस्तारमा योगदान गरेका छन्।
कम्पनीको आम्दानीमा सबैभन्दा ठूलो हिस्सा ‘म्याकडवेल्स नम्बर वान लक्जरी’ ह्विस्कीको छ। आर्थिक वर्ष २०८२/८३ मा यस ब्रान्डले कम्पनीको कुल आम्दानीको करिब ५२ प्रतिशत हिस्सा ओगटेको छ। यसले कम्पनीको कारोबारमा उक्त ब्रान्डको प्रमुख भूमिका रहेको देखाएकाे छ।
नेपाल लिकर्सले म्याकडवेल्स नम्बर वान लक्जरीका अतिरिक्त सिग्नेचर प्रिमियर ग्रेन, सिग्नेचर रेयर एज्ड, स्मिरनफ भोड्का, एन्टिक्विटी ब्लु अल्ट्रा प्रिमियम, रोयल च्यालेन्ज र ब्ल्याक हर्सलगायत ब्रान्डको बिक्री गर्दै आएको छ। विभिन्न ब्रान्डको बिक्री तथा नयाँ ब्रान्ड थपिनुले कम्पनीको उत्पादन पोर्टफोलियो विस्तारमा सहयोग पुर्याएको छ।
तीन आर्थिक वर्षसम्म घाटामा रहेपछि नाफामा फर्किनु कम्पनीका लागि महत्त्वपूर्ण वित्तीय परिवर्तनका रूपमा देखिएकाे छ ।

