भाटभटेनी अब राति पनि खुल्ने

समाचार सारांश
Auto Generated by AI
  • भाटभटेनीले भदौ १ गतेदेखि पाटन र भक्तपुरका स्टोरबाट रात्रिकालीन सेवा सुरु गर्दैछ।
  • रात्रिकालीन सेवाले सामान ढुवानीलाई सहज बनाउनुका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्नेछ।
  • रातमा खटिने कर्मचारीका लागि २५ प्रतिशत थप भत्ता र खाजाको सुविधा उपलब्ध गराइनेछ।

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले आफ्ना स्टोरहरू रातिसमेत सञ्चालन गर्ने तयारी थालेको छ। पहिलो चरणमा काठमाडौं उपत्यकाका पाटन र भक्तपुरको राधेराधेस्थित भाटभटेनी स्टोरबाट रात्रिकालीन सेवा सुरु गर्ने तयारी गरिएको हो।

भाटभटेनी सुपरस्टोरका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार अहिले रातिको समयमा स्टोर खोलेर सामान मिलाउने, स्टक व्यवस्थापन गर्ने, मूल्य ट्याग राख्ने तथा सरसफाइलगायतका काम भइरहेको छ। भदौ १ गतेदेखि भने ग्राहकले रातिको समयमा समेत सामान खरिद गर्न सक्ने गरी स्टोर सञ्चालन गर्ने तयारी छ।

‘अहिले सामान मिलाउन रातिको समयमा भाटभटेनी खुलेको छ। भदौ १ गतेबाट भने रातिकै समयमा किनमेल गर्न सकिने गरी खुला गर्दैछौँ,’ पौडेलले भने।

ग्राहकको आवागमन भइरहेका बेला स्टोरभित्र सामान व्यवस्थापन, स्टक मिलाउने तथा सरसफाइजस्ता काम गर्दा असहज हुने भएकाले रातिको समयमा यस्ता काम गर्न सहज हुने भाटभटेनीको भनाइ छ।

रात्रिकालीन सञ्चालनले सामान ढुवानीसँगै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। पौडेलका अनुसार अहिले भाटभटेनीका लागि सामान ओसारपसार गर्दा दैनिक करिब ४०० पटक सवारीसाधनको ओहोरदोहोर हुने गरेको छ। रातिको समयमा ढुवानी गर्न सके करिब २० वटा गाडीबाटै सामान व्यवस्थापन गर्न सकिने उनको भनाइ छ।

‘अहिले भाटभटेनीका सामान ओसारपसार गर्न काठमाडौंमा ४०० पटक गाडीको ओहोरदोहोर हुन्छ। तर, राति २० वटा गाडीबाट सामान ढुवानी गर्न सकिन्छ। त्यसले सहरको ट्राफिक व्यवस्थापनमा पनि सहजीकरण गर्छ भन्ने अपेक्षा गरेका छौँ,’ पौडेलले भने।

पहिलो चरणमा पाटन र भक्तपुरको राधेराधेस्थित स्टोरबाट ग्राहकका लागि रात्रिकालीन सेवा सुरु गरिनेछ। त्यसपछि कलंकी, बौद्ध, टंगाल, कोटेश्वरलगायत काठमाडौं उपत्यकाका अन्य स्टोरमा समेत सेवा विस्तार गर्ने योजना भाटभटेनीको छ।

रातिको सिफ्टमा काम गर्ने कर्मचारीका लागि पनि अतिरिक्त सुविधा व्यवस्था गरिएको छ। भाटभटेनीले रात्रिकालीन सिफ्टमा काम गर्ने कर्मचारीलाई नियमित तलबको २५ प्रतिशत अतिरिक्त भत्ता दिने जनाएको छ। त्यस्तै, रातिको समयमा काम गर्ने कर्मचारीलाई चिया, खाजालगायत थप सुविधा उपलब्ध गराइनेछ।

हाल भाटभटेनीका स्टोरहरू बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएका छन्। देशभर भाटभटेनीका २७ वटा आउटलेट सञ्चालनमा छन्।

गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका एक दर्जनभन्दा बढी स्टोरमा आगजनी भएको थियो। तीमध्ये अधिकांश स्टोर पुनः सञ्चालनमा आइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

सामाजिक संजाल

ताजा समाचार

एक महिनामा एक खर्ब ८७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

ऋणपत्र निष्कासनका लागि अब न्यूनतम एक अर्ब पुँजी अनिवार्य

नेपाल राष्ट्र बैंक ऐन संशोधन : गभर्नर र सञ्चालकको योग्यता, अनुभव र ‘कुलिङ पिरियड’ कडाइ गरिने

नेपालमा इन्टरनेका ग्राहक संख्या १० प्रतिशतले बढ्याे

छुटाउनुभयो कि ?